बैशाख १३, २०८१ बिहीबार

राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउन प्रचण्ड र नेपालले कानून ब्यवसायीसँग परामर्श गरेको खुलासा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नै हटाउने योजनाका साथ दुई बरिष्ठ कानून ब्यवसायीसँग छलफल गरेको तथ्य बाहिर आएको छ । अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले नेकपामा बुधवार डा.युवराज संग्रौला र गोबिन्द बन्दीसँग राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाउने बिषयमा छलफल गरी राय माग्नुभएको हो ।

स्रोतका अनुसार प्रचण्ड र माधवले बुधवार गोप्य रुपमा संग्रौला र बन्दीसँग छलफल गरी राष्ट्रपति भण्डारीलाई हटाउनै पर्ने बाध्यता आइलागेकोले महाअभियोग लगाउनेबारे कानूनी आधार माग्नुभएको थियो । उहाँहरुको प्रश्नपछि संग्रौलाले महाअभियोग लगाउन सकिने र प्रतिनिधिसभाका सभामुखले साथ दिए यो काम पूरा हुने बताउनु भएको थियो । राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउन सकिने संगौलाको सुझावपछि निकै उत्साहित हुनुभएका दुवै नेतालाई अर्का कानून ब्यवसायी गोबिन्द बन्दीले संबिधानको ब्यवस्था पढाएपछि भने सन्नाटा छाएको स्रोतले जनताटाइम्सलाई बतायो ।

‘राष्ट्रपतिले सरकारको सिफारिश कार्यान्वयन गर्नैपर्ने बाध्यता छ भन्नुहुन्छ, यसो गर्दा हामीलाई असहज भयो, त्यसैले महाअभियोग लगाएपछि उहाँ निलम्बन हुनुहुन्छ, पारित हुने अवस्था नभए सभामुख हाम्रै आदेशमा चल्छन, लामो समयसम्म रोकिन्छ, गर्नुपर्ने सवै काम उपराष्ट्रपतिबाट हुन्छ,’ बैठकमा प्रचण्ड र नेपालको भनाई थियो । यस बिषयमा संग्रौलाले अन्तराष्ट्यि अभ्यास सुनाए पनि बन्दीले भने संभव नभएको सुझाव दिनुभएको स्रोतले बतायो । स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बन्दीले संबिधानअनुसार राष्ट्रपतिलाई महाअभियोग लगाए पनि राष्ट्रपति निलम्बन नहुने ब्यवस्था पढाउनु भएको थियो ।

‘महाअभियोग पास गर्ने अवस्था छैन भने यस्तो मुर्ख काम गर्नुहुन्न, महाअभियोग लागे पनि राष्ट्रपति निलम्बन हुन्न, निर्णय नहुँदासम्म यथावत रहन्छ, सवैले साथ दिएछन भने पनि राष्ट्यिसभामा जसै गर्दा पनि दुई तिहाई पुग्दैन, पारित हुन त संभव नै छैन, यसो गर्दा तपाईहरु नेपालीसामू मुख देखाउनै नसक्ने बिन्दुमा पुग्नुहुन्छ,’ बन्दीको भनाई थियो । अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपाल र कानून ब्यवसायीको यो छलफलबारे प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सूचना पुगेपछि बिहीवार नै मन्त्रिपरिषद बैठकबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिएको स्रोतले बतायो ।

स्रोतका अनुसार संसदमा सरकारको तर्फबाट दिएको बिजनेशमा नागरिकता बिद्येयक रहेको छ । तर सभामुख अग्नि सापकोटाले सो बिद्येयक अघि नबढाएर बैठक बसे जस्तो गर्दै सात दिन, ५ दिन बैठक धकेलेपछि बजेट अधिवेशन अन्त्य गर्ने निर्णयमा सरकार पगेको हो । यदी सापकोटाले नागरिकता बिद्येयक अघि बढाएको भए संसद अधिवेशन अन्त्य हुने अवस्था थिएन । नागरिकता बिद्येयक पनि प्रचण्ड माधवकै योजनामा सभामुखले रोकेको सूचना प्रधानमन्त्रीलाई पुगेको स्रोतले बतायो ।

नेकपाभित्र अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध गुटबन्दी गरिरहेको समुहले राष्ट्रपतिबाट भण्डारीलाई हटाएर बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने सहमति गरिसकेको छ । सहमतिअनुसार ओली हटाएर प्रचण्ड अध्यक्षसहित प्रधानमन्त्री बन्ने, ओलीसँग चुनाव हारेका बरिष्ठ नेता नेपाल अध्यक्ष बन्ने र खनाललाई राष्ट्रपति बनाउने रहेको तथ्य बाहिर आइसकेको छ । सोही योजना पूरा गर्न अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाउने निश्कर्षसहित परामर्श गर्नुभएको स्रोतको भनाई छ ।

प्रकाशित मिति : असार २०, २०७७ शनिबार  ११ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]