बैशाख ४, २०८१ मंगलबार

हल्दिवारीको समस्या समाधान गर्न अध्यक्ष–उपाध्यक्षबिच छलफल

बिर्तामोड । हल्दिवारी गाउँपालिकामा गत असार १० गते भएको घटनाले उब्जाएको समस्या समाधान गर्न अध्यक्ष–उपाध्यक्ष बिच छलफल शुरु भएको छ ।

अध्यक्ष रविन्द्र लिङ्देन र उपाध्यक्ष डम्बर गिरी बिच छलफल शुरु भएको प्रवक्ता सागर पोर्तेलले जानकारी दिए । उनले सामाजिक सञ्जालमा छलफल शुरु भएको भन्दै दुवै जनाको तस्वीर समेत सार्वजनिक गरेका छन् ।

गाउँसभाको क्रममा नेपाली कांग्रेस, राप्रपा समर्थक र कार्यकर्ताले गाउँपालिकाको कार्यालय तोडफोड गरेका थिए । सीसी क्यामेरामा देखिएको आधारमा तोडफोडमा संलग्न ६ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा सार्वजनिक मुद्धा दर्ता गरिएको छ । गाउँसभाले नै निर्णय गरेर मुद्धा दर्ता गरिएको थियो ।

गाउँपालिकाको घटनालाई जनप्रतिनिधिकै तहबाट मिलाउने गरी अध्यक्ष र उपाध्यक्ष बिच छलफल शुरु भएको हो । उनीहरुले घटनालाई मिलाउनुको विकल्प नरहेपछि छलफल प्रारम्भ गरेका छन् । लिङ्देनकै अध्यक्षमा बसेको कार्यपालिकाले पास गरेको बजेट, नीति तथा कार्यक्रम गाउँसभाले पारित भन्दै त्यसलाई कार्यान्वयन गरेर लैजाने उपाध्यक्ष गिरीको अडान छ । उनीहरु बिच समाधानका लागि सहमति नजिक पुगेको बुझिएको छ ।

छलफल प्रारम्भ भएको छ, प्रवक्ता पोर्तेलले भने, – ‘मिल्ने गरी नै छलफलको चरण अघि बढेको छ । दुवै जना घटनालाई मिलाउने गरी लाग्नु भएको छ ।’ उनका अनुसार अध्यक्ष लिङ्देनले सभाले पारित गरेको विधेयक प्रमाणिकरण गर्ने सहमति भएको छ । अध्यक्षको भनाई उद्धृत गर्दै प्रवक्ताले भने, बजेट, नीति तथा कार्यक्रम हेर्छु भन्नुभएको छ ।

अध्यक्ष–उपाध्यक्ष दुवैले अहिलेसम्म सहकार्य र समन्वय गरेर अघि बढेकोले अबका दिनमा पनि मिलेरै अघि बढ्ने सहमति भएको छ । सहमतिका लागि भोली थप छलफल गर्ने बुझिएको छ ।
स्रोतका अनुसार उपाध्यक्षको सभाध्यक्षमा पारित भएको बजेट, नीति तथा कार्यक्रम अध्यक्षले स्वीकार गर्ने , त्यसका लागि मुद्धा फिर्ता लिएर सहयोग गर्नुपर्ने बुझिएको छ ।

हल्दिवारीको घटनाले उग्र रुप लिएपछि जिल्ला तहमा दलहरुबिच छलफल गरेर समस्या समाधान गर्ने तयारी भएको थियो । एक, दुई चरणमा जिल्ला तहमा नेताहरु छलफलमा समेत बसेका थिए ।

प्रकाशित मिति : असार २२, २०७७ सोमबार  ५ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]