जेष्ठ ३, २०८२ शुक्रबार

अन्ततः ट्रम्पले पनि लगाए मास्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् ।

जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । उनले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक नेता जो विडेनले मुखौटो लगाएर हिँडेको भनेर मजाकसमेत उडाएका थिए ।

तर शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उनले मास्क लगाउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘म कहिले पनि मास्कको विपक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।’

यसअघि ट्रम्पले सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क लगाउँदै नलगाउने बताएका थिए । तर शनिबार उनी कालो मास्कमा देखिएका थिए । अस्पतालमा उनले सैनिकहरुसँग भेटघाट गरेका थिए ।

अहिले अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ । यसो हुनुमा महामारी नियन्त्रणमा ट्रम्पको बेवास्तालाई पनि कारण मानिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १ करोड २६ लाख ७९ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाटै ५ लाख ६४ हजार ३ सय ९४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]