बैशाख १४, २०८१ शुक्रबार

सङ्क्रमण घट्दो, ९२ प्रतिशत मुक्त, २६ हजार स्वदेश फर्किए

काठमाडौँ । विदेशबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ ।

त्यस्तैगरी, विदेशमा कोरोना भाइरसको सङ्क्रमणमा परेका नेपाली नागरिकहरूमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त भएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको सङ्घले जनाएको छ । गैरआवासीय नेपाली सङ्घअन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको सङ्ख्या र सङ्क्रमणको दर उल्लेख्य रुपमा कमी हुँदैगएको छ । सङ्घका अनुसार जम्मा कोराना सङ्क्रमितमध्ये ९२ प्रतिशत नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।शनिबार साँझसम्म विश्वभर २९ हजार ६२४ जनामध्ये २७ हजार ३६२ जना नेपाली सङ्क्रमणमुक्त भएका स्वास्थ्य समितिले जनाएको छ ।समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीमा भने त्यस साता कोरोना सङ्क्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

समितिका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या १८१ पुगेको छ । त्यस्तै ४६ हजार ३४६ जनामा सङ्क्रमित भएका छन् । तीमध्ये ३५ हजार ८०४ जना कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । यसअघि गत सातासम्म १४ देशमा सङ्ख्या १४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ । नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमण जारी रहेकाले स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी सूचनाहरूलाई कडाइका साथ पालना गर्न समितिले आग्रह गरेको छ । नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

विभिन्न एयरलाइन्सका १४९ उडान फ्लाइटमार्फत उनीहरूको उद्धार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट पाँच हजार ५२७ सय जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र परेका सहित पाँच हजार २४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट चार हजार ३० जना, कतारबाट दुइ हजार ८८४ जनाको उद्धार गरिएको हो ।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलङ्काबाट पाँच, सिङ्गापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो । शनिबार मात्रै विभिन्न मुलुकबाट एक हजार ३८१ जना स्वदेश फर्किएका छन् ।

१५७ शव ल्याइयो
यसै अवधिमा १५७ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४०६ जनामध्ये १४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १०९ वटा शव नेपाल ल्याउन बाँकी छ ।

मलेसियाबाट तीन हजार ३२२ फिर्ता
कोभिड–१९ को कारणले मलेसियामा अलपत्र नेपाली नागरिकमध्ये तीन हजार ३२२ जना स्वदेश फिर्ता भएका छन् । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरण गर्न सञ्चालन भएका पहिलो चरणका उडानमा तीन हजार ३२२ जना स्वदेश फर्किनुभएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार पहिलो चरणको उद्धार अन्तर्गत १८ जुन २०२० मा पहिलो उडान भएको थियो । यस चरणमा क्वालालम्पुरबाट नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरका फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत नेपाली नागरिकहरू स्वदेश फर्कनुभएको हो । जस अनुसार मलेसिया बाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिङ्गापुर, ताइवान र स्पेनमा रहेका नेपालीसमेत नेपाल फर्कनुभएको छ । फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली नागरिकको उद्धार गर्दै हिमालय एयरलाइन्स १२ जुलाई २०२० मा नेपाल आएको जनाइएको छ । क्वालालम्पुरबाट भएका उडानहरूबाट मलेसियाको विभिन्न जेलरडिटेन्सन केन्द्रहरूमा रहेका ६९ जना नेपाली नागरिकसमेत नेपाल फर्कनुभएको जनाइएको छ । यसैगरी यी उडानहरूमार्फत ३९ जना नेपालीको शवसमेत नेपाल ल्याइएको छ ।

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  ४ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]