चैत्र ६, २०८० मंगलबार

नेपालमा काेराेनाका कारण १ खर्ब ६८ अर्बकाे क्षति

काठमाडाैं । नेपाल राष्ट्र बैंकले कोभिड-१९ का कारण नेपालको कुल गार्हस्थ उत्पादननमा करिब १ खर्ब ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको सोमबारको बैठकमा आगामी मौद्रिक नीतिको तयारीको सम्बन्धमा जानकारी दिन उपस्थित हुनुभएका गभर्नर महाप्रसाद अधिकारीले देशको कुल गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको बताउनुभयो ।

कोभिड-१९ का कारण होटल, रेस्टुरेन्ट, यातयात, निर्माण र व्यपाार क्षेत्रमा सबैभन्दा बढी असर परेको गभर्नर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिड-१९ का कारण अर्थतन्त्र प्रभावित भएको छ । तर यो आर्थिक वर्षमा प्रचलित मूल्यको कूल गार्हस्थ उत्पादन करिब १ सय ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान छ । लकडाउन अझै लम्बिदा यो अनुमान अझै बेसी हुन सक्छ । कोभिड-१९ बाट सिर्जित समस्याले खासगरी होटल, रेस्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रको कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी क्षति भएको देखिन्छ ।

कोभिड-१९ को कारण बैंकिङ क्षेत्रको निक्षेप संकलन तथा कर्जा प्रवाहमा परिवर्तन भएको समेत गभर्नर अधिकारीले बताउनुभयो । उहाँले २०७६ चैतदेखि २०७७ जेठसम्म बैंकको निक्षेप बढेको तर कर्जा बढ्न नसकेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थामा निक्षेप १ खर्ब ७२ अर्बले र कर्जा १६ अर्बले मात्र बढेको गभर्नर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिड -१९ कारण बैंकिङ क्षेत्रको निक्षेप संकलन तथा कर्जा प्रवाह तिव्र प्रभावित भएको छ । निक्षेप तिर संकलन बढेर गएको छ सामान्य भन्दा बेसी नै । २०७६ चैत देखि २०७७ जेठसम्म तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप १ सय ७२ अर्बले र कर्जा प्रवाह १६ अर्बले वृद्धि भएको देखिन्छ । कर्जा असार १ गतेपछि अलिकति बढिराखेको छ । बीचमा कर्जा लगभग बन्दै भयो कर्जा गएन।’

उहाँले नेपाल राष्ट्र बैंकले अनलाइन सर्वेक्षणमार्फत कोभिड-१९ बाट सिर्जित समस्याको विश्लेषण गरिएको बताउनुभयो । गभर्नर अधिकारीले सर्वेक्षणबाट प्राप्त भएका नतिजाको विश्लेषण गर्दा कतिपय व्यवसाय सामान्य अवस्थामा फर्कन करिब १ वर्ष लाग्ने देखिएको बताउनुभयो । आगामी वर्षको मौद्रिक नीति तर्जुमा गर्दा सर्वेक्षणको निष्कर्षलाई समेत प्राथमिकता दिइएको अधिकारीले बताउनुभयो । उहाँले विद्युतीय भुक्तानीको बढ्दो प्रयोगले बन्दाबन्दीको अवस्थामा पनि वित्तीय कारोबार सहज बनेको बताउनुभयो ।

गभर्नर अधिकारीले कोभिड-१९ संकटले सिर्जना गरेको अनिश्चितताका बीच यस वर्ष मौद्रिक नीति तर्जुमा भइरहेकाले संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाई राख्ने र शीघ्र आर्थिक पुनरुत्थानको लागि वित्तीय साधनको उपलब्धता बढाउने दिशामा मौद्रिक नीति केन्द्रित रहेको बताउनुभयो ।

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]