जेष्ठ २, २०८१ बुधबार

प्याब्सन र एनप्याब्सनले बुझायो ध्यानाकर्षण पत्र

सिएम शर्मा

सुरुङ्गा । निजी विद्यालयको छाता संगठनहरु प्याब्सन र एन प्याब्सन कनकाई नगर समितिले शुक्रबार विभिन्न सात सुत्रीय माग राख्दै कनकाई नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
१.कोभिड–१९ का कारणले तहस नहस भएको विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथासिघ्र निर्माण गरियोस् ।

२. अनलाइन कक्षा र भर्चुअल कक्षाहरु बैकल्पिक शिक्षण पद्धति मात्र भएको र नेपाली समाजमा अहिले नै यो पद्धतीको पहुँचमा सबै विद्यार्थीहरु हुन नसक्ने यथार्थलाई मनन् गर्दै यस पालिकाभित्र कोभिड १९ को प्रभावको समेत अध्ययन गरी यथासम्भव विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर( विजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गरियोस् ।

३. क्वारेटिनका लागि विद्यालयहरुको प्रयोग भएको भए अर्को स्थानमा स्थानान्तरण गरी निर्मलीकरणको व्यवस्था गरियोस् ।

४. वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०÷१९२ दिन पठन–पाठन गर्नुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु, जाडो विदा लगायत अन्य विदा कटौती गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरियोस् ।

५. शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धका आधारमा वर्तमान शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम शुल्क लिने वातावरण बनाइयोस् ।

६. निजी विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बाँकी वक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा हाम्रा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव भत्ता लगायत अन्य खर्चको व्यवस्थापन गर्न नसकिएको हुँदा हाम्रा शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गरियोस् ।

७. घर–जग्गा वहाल कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गरियोस् ।
कोभिड १९ बाट सिर्जित समस्याहरुको समाधानार्थ संगठनहरुको तर्फबाट नेपाल सरकारका विभिन्न निकायहरु समक्ष पटक–पटक गरिएका आग्रहका वावजुद कुनै ठोस निष्कर्ष प्राप्त नभए पछि विद्यालयहरुका दायित्वहरु पूरा गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्न आर्थिक तथा नैतिक दृष्टिकोणले दिनानु दिन अफ्ठ्यारो पर्दै गएकोले हाल कनकाई नगरपालिका भित्र सञ्चालित निजी विद्यालयहरुका सबै वैकल्पिक गतिविधिहरु बन्द रहने पनि उक्त पत्रमा जानकारी गराइएको छ ।
प्याब्सन नगर अध्यक्ष विनोद सुब्बा र एनप्याब्सन नगर अध्यक्ष अशोक न्यौपानेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र समितिका अन्य पदाधिकारी समेतको उपस्थितिमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई बुझाइएको हो ।

कनकाई नगरपालिका शिक्षा शाखा प्रमुखलाई समेत बोधार्थ उल्लेख गरि बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले कनकाई नगर शिक्षा समितिमा छलफल गर्नुका साथै संस्थागत तथा सामुदायिक विद्यालयहरुको संयुक्त छलफलबाट नगरभित्रका विद्यालयहरु खोल्न विकल्प तयार गर्न आफुले पहल गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]