प्रदेश १ सरकारद्वारा मेची अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण
बिर्तामोड । प्रदेश १ सरकारले मेची अस्पताललाई कोभिड–१९ परीक्षण प्रयोगशाला (आरटी पीसीआर मेसिन) हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बिच प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले झापाका प्रदेश सांसद बसन्त बाँनिया, पूर्णसिंह राजवंशी, श्रीप्रसाद मैनाली, एकराज कार्की, गोपाल बुढाथोकी, हिरा थापा , विर्ख प्रधान र झलकसिंह दर्लामीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । स्वीजरल्याण्ड सरकारले आजै प्रदेश सरकारलाई उपलब्ध गराएको मेसिन साँझसम्म अस्पताल ल्याइ पुर्याउने सांसद बसन्त बाँनियाले जानकारी दिए ।
उनका अनुसार यसअघिको सम्झौतामा ल्याइने मेसिनले एक पटकमा २५÷३० स्वाब मात्र परीक्षण गर्ने थियो । बाँनियाले भने , यो मेसिनले अब एक पटकमा ९० जनाको स्वाव परीक्षण गर्छ । आधुनिक मेसिन पाएकोमा हामी हर्षित भएका छौं । प्रदेश सांसदले बुझेको सो मेसिन अस्पताल ल्याएर साउनको १२ गतेदेखि जडान गर्ने सांसद बाँनियाले जानकारी दिए ।