असार ८, २०८२ आईतबार

विराटनगर महानगरपालिकाद्वारा अत्यावश्यक बाहेकको सेवा रोक्ने निर्णय

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यन्वयनमा कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलन सक्ने संभावना देखिएको भन्दै महानगरले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सचेतनामा कडाई गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण समुदायस्तरको रोकथामका लागि अपनाउनु पर्ने सबै विधी कडाईपूर्वक कार्यन्वयनमा ल्याउने निर्णय गरिएको महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । बैठकले भिन्नै कार्यदल समेत गठन गरि समुदायस्तरमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाउनु पर्ने विधीको अनुगमन गर्ने निर्णय गरेको हो ।

यसैगरी महानगरपालिका कार्यालयसहित वडा कार्यालयहरुमा हुने भीडलाई रोक्न अत्यावश्यक बाहेकका सबै सेवा प्रवाहका कामहरु बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले घरनक्सा पास, सामााजिक सुरक्षा भक्ता वितरण तथा कार्ड नविकरण जस्ता कामहरु तत्काललाई नगर्ने निर्णय गरेको हो ।

महानगर क्षेत्र भित्रका पसलका सञ्चालक तथा कामदारले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्णय गरिएको छ । महानगरले गठन गरेको कार्यदलले नियमित अनुगमन गर्दा पहिलो पटक मास्क नलगाएको अवस्थामा भेटिएका व्यवसायी तथा कामदारलाई १० रुपिँया लिएर मास्क उपलब्ध गराइने छ । यदि दोस्रो पटक समेत मास्क नलगाएको र स्वास्थ्य सुरक्षा प्रोटोकल नपनाएको पाइएमा १५ दिनका लागि पसल बन्द गरिने निर्णय गरिएको छ ।

यसैगरी महानगर क्षेत्रमा परीक्षणको दायरा बढाउँदै समुदायस्तरको अवस्था यकिन गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । मेयर पराजुलीले भन्नुभयो–हाटबजार लगायतका अनावश्यक भीडभाडमा कडाई गरिने छ, अनावश्यक रुपमा घर बाहिर निस्कने कार्यलाई रोक्नका लागि आग्रह ।

संक्रमणको अवस्था हेरेर कुनैपनि बेला लकडाउनमा जान सकिने संभावना रहेको मेयर पराजुलीको भनाई छ । उहाँले महानगरवासीलाई सचेत रहेर दैनिक कामहरु गर्नका लागि आग्रह गर्दै भन्नुभयो–प्रत्येक समय आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने र कोरोना संक्रमणबाट जोगिने कुरालाई प्राथमिकतामा राख्न आग्रह गर्दछु ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार  १ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]