मेची अस्पतालमा दैनिक एक हजारको कोरोना परीक्षण गर्ने, कोटीहोमको ल्याब सन्चालन अझै अन्यौलमा
बिर्तामोड । मेची अस्पतालको पिसिआर ल्याबमा दुई दिनको नमूना परीक्षण सकेर बुधबारबाट कोरोना परीक्षण गर्ने तयारी भएको छ ।
अस्पतालमा अहिले नमूना परीक्षणको काम चलिरहेको छ । बुधबारबाट नतिजा दिने गरि परीक्षण गरिने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।
मेची अस्पतालको ल्याबमा खटिने कर्मचारीलाई अहिले नमुना परीक्षणमा लगाईएको छ । उनिहरुले गरेको नमूना परीक्षण प्रदेशको प्रयोगशालामा भेरिफाइ गर्ने र परीक्षणको काम अघि बढाइने बताइएको छ ।
झापामा पहिलो पटक सरकारले पिसिआर ल्याब स्थापना गरेर परीक्षण शुरु गर्न लागेपछी झापासहित पूर्वी जिल्लाका नागरिक उत्साहित बनेका छन् ।
यता, साउन १ गतेबाट कोरोना परीक्षण गर्ने कोटीहोमको ल्याब संचालनका लागि सरकारले अझै स्वीकृति दिएको छैन । अनुमती बिना रकम संकलन गरेर पिसिआर ल्याब खरिद गर्ने एकका लागि एक अभियानमा चौतर्फी समस्या देखा परेको छ । जसका कारण १ गतेदेखि गर्ने भनिएको परीक्षण अहिलेसम्म सुरु हुन सकेको छैन ।
सरकार सो ल्याब कोटीहोममा संचालन गर्नका लागि अनुमती दिने मनसायमा देखिएको छैन । त्यहाँ संचालन गर्नका लागि उपयुक्त रहे, नरहेको अध्ययन टोलीको रिपोर्ट गुपचुप बनाइएको छ ।
एकका लागि एक अभियानले आफै संचालन गर्न नसक्ने भएपछि मेची अस्पताललाई ल्याब हस्तान्तरण गर्ने प्रस्ताव अघि सारेको छ । कोटीहोममा ल्याब राख्न उपयुक्त नभएपनि अनुमति दिन राजनीतिक दबाब बढेको छ । राजनीतिक दबाबका बिच अनुमति पाए पनि ल्याब कोटीहोममै राखिदिनु पर्ने अभियानको माग छ ।
सरकार पक्षले भने अभियान संचालकहरुलाई हस्तान्तरण गर्ने भए सरकारले मेची अस्पताल मै राखेर ल्याब चलाउने बताईसकेको छ । तर, अभियान्ताहरुले कोटीहोम मै चलाउनु पर्ने बताउदै आएका छन् । उनिहरुले कोटीहोम मै चलाउनु पर्ने औचित्य पुष्टि पनि गर्न सकेका छैनन् ।