बैशाख ६, २०८१ बिहीबार

झापा प्रहरीको सफलता : हत्या अभियोगमा १७ वर्षदेखि फरार अभियुक्त पक्राउ

बिर्तामोड । झापा प्रहरीले १७ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले साविक जलथल –४ का दुर्गा बहादुर थापा मगरलाई सार्वजनिक गरेको हो ।

मगरको समूहले ०६० साल कार्तिक ३० गते झापा गाउँपालिका – ४ का विरीकलाल माझीलाई कुटपिट गरी हत्या गरेका थिए । सो समयदेखि फरार रहेका मगरलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले साउन २२ गते मेचीनगर १२ को शहरेडाँगीबाट पक्राउ गर्न सफल भएको छ । उनको कुटपिटका कारण ०६० मंसिरमा मृत्यू भएको थियो ।

घटना विवरणका अनुसार मृतक विरीकलाल माझी छोरी भेट्न ससुरा विष्णुलाल माझीको घर गएका थिए । सोहि दिन स्थानीय होटलमा चुरोट खान गएका विरीकलाल माझीले होटल सञ्चालकको छोरीको हात समाएको भन्ने निहुँमा मगरसहितको समूहले कुटपिट गर्दा घाइते भएका माझीको उपचारको क्रममा मृत्यू भएको थियो । मृत्यू भएपछि कुटपिटकै कारण मृत्यू भएको भन्दै ससुराले प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए ।

सोहि घटनापछि फरार रहेका व्यक्ति काठमाण्डौ, भारतको कोलकत्ता दार्जिलिङ लगायतका विभिन्न स्थान , वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबई देशमा समेत गई बसेको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । नेपालमा हुँदा समेत उनी आफन्तहरुकै घरमा लुकि छिपि बस्दै आएका थिए ।

पक्राउ परेका मगरलाई झापा जिल्ला अदालतबाट पहिलो पटक दिन पाँच दिन म्याद थप गरी अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । निजहरुले गरेको कसुर मुलुकी ऐन २०२० को ज्यान सम्बन्धि महलको दफा १३ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही महलको १३(३) बमोजिम जन्मकैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको उपरीक्षक कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार  ५ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]