बैशाख २०, २०८१ बिहीबार

प्रदेश १ मा ६० हजारको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलवार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ । प्रदेश १ का जिल्लाको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उहाँले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको बताउनुभयो । परीक्षण गरिएका मध्ये १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ । ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ८ जनाको मृत्यु भईसकेको छ । प्रदेश १ मा मोरंगमा सवैभन्दा बढी संक्रमण देखिएको छ । मोरंगमा ६ सय ५७ जना संक्रमित भएका छन् ।

मोरंगमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताउनुभयो । महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्यावले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगर विभिन्न संघ संस्थाबाट लिईएको नमूना १ हजार ४ सय ८० रहेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको बताउनुभयो ।

झापाको मेची अञ्चल अस्पतालको ल्याव सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो । मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताउनुभयो । प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव होल्डमा रहेको बताउनुभयो । उहाँले दैनिक ७ सय स्वाव होल्डमा हुने गरेको बताउनुभयो ।

प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]