गौरादह र अर्जुनधाराको आफ्नै आइसोलेशन सेन्टर
बिर्तामोड । झापामा स्थानीय तहले आफै आइसोलेशन सेन्टर तयार गर्न थालेका छन् । जिल्लामै पहिलो पटक गौरादहले ५० बेड क्षमताको आइसोलशन तयार गरेको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर धरानमा बेड खाली नहुँदा पालिकाले आफै विरामीलाई होल्ड गरेर उपचार गर्ने गरी आइसोलेशन तयार गरेको गौरादहका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए । उनका अनुसार गौरादहले ५० बेडको आइसोलेशन तयार गरेर प्रयोगमा ल्याइ सकेको छ । सोमबार संक्रमण पुष्टि भएका ५ जनालाई नगरले आफ्नै आइसोलेशनमा राखेको थियो । गौरादह–७ मा रहेको जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनलाई आइसोलशेन बनाइएको ओझाले बताए । उनले कोरोना जोखिम अहिले नै मापन गर्न नसकिने भएकाले बेलैमा पालिका आफैले आइसोलेशन तयार गरेको बताएका छन् । ५० बेडको आइसोलेशन सेन्टरमा २० बेड प्रयोगमा ल्याएसकेको उनको भनाई छ ।
यस्तै, अर्जुनधारा नगरपालिकाले पनि आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमित व्यक्तिका उपचार गरिरहेका प्रदेशका कोभिड अस्पतालमा बिरामीको भरिभराउ भएपछि अर्जुनधाराले सरकारको अवधारणा अनुरुप नै आइसोलेशन वार्ड सञ्चालन गर्न लागेको हो ।
अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २ जना संक्रमित व्यक्ति आइसोलेशन वार्डमा बेड अभाव भएपछि तीन दिनसम्म क्वारेन्टाइनमै राख्नु परेको थियो ।
नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको मंगलबार बसेको बैठकले नगरमै आइसोलेशन वार्ड सञ्चालन गर्ने निर्णय गरेको कमिटीका संयोजक तथा नगर प्रमुख हरिकुमार रानाले जानकारी बताए ।
उनका अनुसार अर्जुनधारा वडा नम्बर ४ मा रहेको अर्जुनधारा स्वास्थ्य चौकीको भवनमा सञ्चालन गर्ने नगरले तयारी थालेको छ । सरकारको आइसोलेशनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ बमोजिम सञ्चालन हुने भएको छ ।
सुरक्षा निकायका प्रमुख, स्वास्थ्य निकायका प्रमुखसहितको बैठकले नगरमा आइसोलेशन वार्ड सञ्चालनसँगै स्वास्थ्य मापदण्ड २०७७ को परिच्छेद २ अनुरुप होम आइसोलेशन पनि सञ्चालन गर्ने निर्णय भएको छ ।