अपरेशनपछि कनकाई अस्पतालमा ११ वर्षीया बालिकाको मृत्यू, कोरोना परीक्षणका लागि स्वाब पठाइयो
बिर्तामोड । एपेण्डिसाइडको अपरेशनपछि कनकाई –३ कि ११ वर्षीया पूर्णिमा घतानीको मृत्यू भएको छ । उनको कनकाई अस्पताल बिर्तामोडमा अपरेशन गरिएको थियो । अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै परिवार र आफन्तजन अस्पताल परिसरमा भेला भएका छन् । अहिले अस्पतालमा तनाव भइरहेको छ । मृत्यू पश्चात बालिकाको स्वाब संकलन गरी कोरोना परीक्षणका पठाइएको छ ।

पीडित परिवारका छिमेकी गंगा श्रेष्ठका अनुसार अपरेशनका लागि बालिकालाई गत साउन २३ गते कनकाई अस्पताल बिर्तामोड ल्याइएको थियो । अपरेशनपछि २७ गते अस्पतालले डिस्चार्ज गरेको श्रेष्ठको भनाई छ । डिस्चार्जपछि परिवारले पूर्णिमालाई घर लगेको थियो । घरमा बालिकालाई निरन्तर ज्वरो आएपछि परिवारले फेरि कनकाई अस्पताल ल्याएको थियो । अस्पतालले स्वास्थ्य परीक्षण गरेर ज्वरोको दवाई दिएर पठाएको परिवारले इजलाससित बताएको छ ।
औषधि प्रयोग गर्दा पनि ज्वरो नघटेपछि बालिकाको स्वास्थ्य अवस्था झनै जटिल भएको श्रेष्ठले जानकारी दिए । अस्पतालसँगको सम्पर्कमा आएको परिवारलाई कनकाई अस्पतालले विराटनगर रेफर गरिदियो । विराटनगरको नोवेलले पनि विरामीलाई भर्ना लिन नमानेपछि उनीहरुले धरान घोपा पुर्याए । नोवेलले समेत घोपा रेफर गरेपछि घोपाले पनि भर्ना लिएन । त्यसपछि परिवारले बालिकालाई फर्काएर कनकाईमा लिएर आएको श्रेष्ठले जानकारी दिए । पाँच दिनअघि अस्पताल आएका परिवारले आज मात्रै बालिकाको मृत्यू भएको खवर पाएका छन् ।
बालिकालाई अन्तिम पटक अस्पताल भर्ना गर्नासाथ आइसियु, भेण्डिलेटरमा राखिएको परिवारले जानकारी दिएको छ । परिवारले भेण्डिलेटरमा राखेदेखि बालिकाको स्वास्थ्य बारे जानकारी पाएका थिएनन् । आज परिवारले आफै विरामीको अवस्था जानकारी गराउन भनेकोपछि अस्पतालले बच्चाको मृत्यू भएको जानकारी दियो । परिवारले अस्पतालको चरम लापरवाहीका कारण मृत्यू भएको दावी गरेको छ । घटनाबारे सत्यतथ्य छानविन गरेर मात्रै बालिकाको शव लैजाने परिवारले जनाएको छ ।