बैशाख २७, २०८२ शनिबार

बैङ्कका कर्मचारीलाई शुक्रबारबाट सहजीकरण गरिने

काठमाडौ । प्रहरीले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा उलङ्घन गर्नेलाई स्थलगत कारबाही गरेको छ । तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उलङ्घन गर्ने करिब तीनहजार सवारी साधनलाई कारबाही गरिएको छ । त्यस्तै, एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेण्टरमा एकघण्टा राखेर कारबाही गरिएको छ ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा ‘होल्डिङ सेण्टर’ बनाई कारबाही गरिएको बताउनुभयो । निषेधाज्ञा उलङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू पनि कारबाहीमा परेका छन् । आफूखुशी सञ्चालनमा आएका सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेला पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखर–लखर सडकमा हिँड्दा सुरक्षाकर्मीसमेत जोखिममा रहेको उहाँले बताउनुभयो ।

बैङ्क कर्मचारीका लागि शुक्रबारबाट सहजीकरण
बैङ्क तथा वित्तीय संस्थासंग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ । निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाएपनि शुक्रबारबाट भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३.३० देखि ५.३० बजेसम्म सहजीकरण गर्न लागिएको हो ।
विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालयबाट जारी फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।

औषधि तथा उपभोग्य सामाग्री किन्न टाढा नजानु
‘यो निषेधाज्ञा’ तपाईंको सुरक्षाका लागि हो, महानगरीय प्रहरी प्रमुख पोखरेलले भन्नुभयो, आफू बाँचे पो आफन्त भेट्न सकिन्छ, जबरजस्ती सडकमा नआइदिनुहोस् । कतिपय स्थानमा खाद्यन्न किन्न भन्दै मोटरसाइकल र कार चढेर बाहिर निस्किएको पाइएको छ ।
खाद्यन्न सामाग्री, दूध र औषधि खरिद गर्दा आफ्नाे बस्तीनजिकैको औषधि पसल, किराना पसल र डेरीमा जान आग्रह गरेको छ । अत्यावश्यक खरिद गर्ने नाममा सडकमा ननिस्कन आग्रह गरेको छ ।
कुनै अफ्ठयारो परेमा वा स्वास्थ्य तथा सुरक्षासम्बन्धी समस्या परेमा सडकमा तैनाथ सुरक्षाकर्मी तथा प्रहरी कन्ट्रोल १०० मा फोन गरी सहयोग लिन आग्रह गरेको छ । सो कार्यमा प्रहरीले सहजीकरण गरिदिने जनाइएको छ ।

किराना, तरकारी, डेरी र पानी पसल नियमित
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा दैनिक उपभोग्य सामान खरिदबिक्रीका लागि किराना, तरकारी, दूग्धजन्य डेरी र पानी पसल नियमित सञ्चालनमा रोक लगाइएको छैन ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाअन्तर्गत औषधि, खाद्य पसल, तरकारी, दूधडेरी र पानी पसल सञ्चालनमा रोक नलाइएको स्पष्ट पारेको छ । तर, पसल सञ्चालक र ग्राहकले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेको हुनुपर्ने छ ।

पसल सञ्चालक तथा ग्राहकले मास्कको प्रयोग अनिवार्य र एक मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने हुन्छ । त्यस्तै, सामग्री खरिद गर्न घरबाहिर निस्कँदा वा पसल बाहिर दुई जनाभन्दा बढीको भीड गर्न निषेध गरिएको छ ।

अत्यावश्यक ढुवानीका सवारीबाहेक अन्यलाई रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक विज्ञप्ति नै जारी गरी अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारीबाहेक अन्य सवारी साधनलाई काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको जनाएको छ ।

अत्यावश्यक सामग्री खाद्यन्न, तरकारी, फलफूल, पानी, दूधजन्य पदार्थ, इन्धन, औषधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको स्पष्ट पारेको छ ।
निषेधाज्ञा कार्यान्वयनका क्रममा गर्न र गराउन आदेशको बुँदा नम्बर ३ लाई थप स्पष्ट पार्दै ढुवानीका सवारी साधनहरूमा अत्यावश्यकबाहेक अन्य सवारी नभएको बताएको छ । राति १२ बजेदेखि नागढुङ्गामा रोकिएका सवारीलाई मध्यरातमा काठमाडौँ भित्र्याउने तयारी गरिएको छ ।
त्यससँगै अन्य ढुवानीका सवारी साधनहरू निषेधाज्ञा नहटेसम्म उपत्यकाबाट बाहिरिन र भित्रिन पाउने छैन । नागढुङ्गामा रोकिएका अधिकांश सवारी साधन निर्माण जन्य सामाग्री र औद्योगिक कच्चा पदार्थ बोकेको सवारी साधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]