टल्काइदिने भन्दै सुन चोरी गर्ने गिरोह सक्रिय

बिर्तामोड । गाउँगाउँमा सुनको गरगहना सफा गर्ने भारतीय गिरोह सक्रिय भएका छन् । सफा गर्दागर्दै सुनचाँदीका गहना चोरी गरेको फेला परिसकेको छ ।
सर्वसाधारणको सुन सफा गर्ने, टल्काइदिने भन्दै नक्कली सुन छोडर सक्कली चोरी गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरी कारवाही समेत गरेको छ ।
झोले व्यापारीको फन्दामा परेर भद्रपुरकी एक महिला ठगिइन् । भद्रपुर नगरपालिका– ५ बसपार्ककी जूनु मेचेले भारतीय व्यक्तिबाट केही महिनाअघि सुनको गरगहना घरमै सफा गराएकी थिइन् ।
मेचेले एक तोला १३ आना भएको सुनको सिक्री भारतीय व्यक्तिसँग सफा गराउँदा ७ आना कम्ति भएको पाइन् । सुनको सिक्री राखेर कर्जा लिन भद्रपुरकै एक सुनचाँदी पसलमा पुगेकी ति महिलाको सुन ओजन गर्दा एक तोला ६ आना मात्रै भयो । उनले स्थानीयवासीको सहयोगमा चार जना झोले व्यापारीलाई पक्राउ गरी पीडित महिलाले नै वडा प्रहरी कार्यालय भद्रपुरमा लगेर बुझाईन् ।
सुन सफा गर्ने सामग्रीसहित पक्राउ परेका बिहार, भागलपुर नौगछिया बस्ने ४५ वर्षीय हरिस् साह, कटिहारका ३९ वर्षीय धर्मेन्द्र साह, भागलपुर बरारीका ३८ वर्षीय रोकश साह र कटिहार अयोहमागञ्ज बजार बस्ने ३७ वर्षीय हिरालाल साह रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय युवालाई अर्जुनधारामा गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाए । अर्जुनधारा–२ स्थित झेलेनीकी ७० वर्षीय वृद्धा धनमाया भुजेल र उनका नातिनी विनिशा भुजेलको आठानी र दुआनीको फुली र ढुंग्री सफा गरिदिने बहानामा सुन हडप्दै गर्दा गाउँलेहरुले पत्ता लगाई २१ वर्षीय दिपक साहु, २२ वर्षीय मनिषकुमार साहलाई पक्राउ गरेका थिए ।
उनीहरु सुन सफा गर्दा सुन जति एक ठाउँमा राखेर सफा गर्दै नक्कली गहना थमाउने क्रममा पक्राउ परेका थिए । पित्तल, तामा, चाँदी र सुन सफा गर्ने बहानामा यस्ता ठग केही गत हप्ताअघि अर्जुनधारा क्षेत्रमा प्रवेश गरेका थिए ।
प्रहरीले धरान उपमहानगरपालिका १७ नम्बर वडा स्थित रेल्वेमा सुन चम्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ ग¥यो ।
स्थानीय सविना राईले टल्काउन भनेर दिएको दुई तोला चार आनाको सुनको सिक्रीलाई रसायन झोलमा डुबाई निकाली ब्रस गरेर दिदाँ सुनको सिक्री सानो भएको र चुट्टिएकोले तत्काल सिक्री तौल गर्दा १ तोला ७ आना मात्र भएको पाइएको थियो । ९ आना सुन घटी भएपछि ठगीएको भन्दै प्रहरी कार्यलयमा सूचना दिइन् । भारत, बिहार राज्य जिल्ला कटिहार, नयाँ टोला बस्ने बर्ष १९ को पवन कुमार मंडल र कटिहार जिल्लाकै तिनगछिया घर भएका बर्ष १९ को दिपक कुमार शाह पक्राउ परे । प्रहरीले पीडित सबिना राईबाट ठगि मुद्दामा उजुरी लिई अनुसन्धान गरिएको थियो ।