बैशाख २५, २०८१ मंगलबार

प्रम ओली र शेख हसिनाबीच टेलिफोन संवाद, मल उपलब्ध गराउन सकारात्मक

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच मङ्गलबार दिउँसो टेलीफोन संवाद भएको छ । दुई प्रधानमन्त्रीबीच केहीबेर अघि संवाद भएको उहाँको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेपाली कृषकका लागि रासायनिक मल अभाव भएपछि छिमेकी मुलुक बङ्गलादेशसँग सहयोग माग्ने पहल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेपछि दुई प्रधानमन्त्रीबीच आज टेलिफोन संवाद भएको कृषी मन्त्री घनश्याम भुषालले जानकारी दिनुभयो ।

“एक महिनाअघि नै मैले मन्त्रीको हैसियतले बङ्गलादेशको कृषि मन्त्रीसँग कुरा गरेको थिएँ, सो विषयमा दुवै देशका प्रधानमन्त्रीबीच कुरा भएमा दिन सकिने जवाफ आयो, सोहीअनुसार मैले हाम्रो प्रधानमन्त्रीसँग कुरा गरेको थिएँ” मन्त्री भुसालले भन्नुभयो । तत्कालका लागि सहयोग गर्ने हिसाबले मात्र नेपाललाई ५० हजार टन युरिया सहयोग गर्न सकिने जवाफ बङ्गलादेशको कृषि मन्त्रालयले दिएको सोहीअनुसार पहल भएको हो मन्त्री भुसालले गोरखापत्र अनलाइनलाई भन्नुभयो ।

बङ्गलादेशसँग कुरा गर्नुअघि छिमेकी मुलुक चीन र भारतसँग पनि सोहीअनुसार पहल भएको मन्त्री भुसालले बताउनुभयो । तर भारतसँग ‘स्टक मल’ नरहेको र चीनबाट ल्याउन तुलनात्मक रुपमा बढी खर्च लाग्ने भएपछि विकल्पमा बङ्गलादेशसँग कुरा भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीकाअनुसार बङ्गलादेशका प्रतिनिधिहरुसँग छलफल भएपछि सोबारेमा परराष्ट्र मन्त्रालयलाई लेखी पठाइएको थियो । आज दुई देशका प्रधानमन्त्रीबीच भएको टेलिफोन संवाद मलको विषयमा नै भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र समकक्षी हसिनाबीच दुई देशको आपसी हितका विषयमा समेत कुराकानी भयो । शक्ति सुदृढीकरण, विद्युत ग्रिड जडान तथा सप्लाई, सीमारहित सन्तुलित व्यापार प्रवर्द्धनमा समेत प्रधानमन्त्रीद्वयबीच छलफल भयो । मन्त्रालयले साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले बङ्गलादेशकाे राेहनपुर हुँदै भारतकाे सिङ्गवादसम्मकाे  नयाँ रेल रूट उपलब्ध गराएकाेमा  बङ्गलादेशका प्रधानमन्त्री हसिनालाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै, कोभिड १९ का विषयमा समेत दुई प्रधानमन्त्रीबीचमा छलफल भएको छ । कोभिड १९ विरुद्ध मिलेर सङ्घर्ष गर्ने विषयमा दुवै देश सहमत भएका छन् । कोरोना विरुद्ध लड्न बङ्गलादेशले उपलब्ध गराएको पाँच हजार इन्जेक्सन र अन्य स्वास्थ्य सामग्रीका लागि पनि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले बङ्गलादेशले उपलब्ध गराउन लागेको ५० हजार टन युरिया सहयोगका लागि पनि धन्यवाद दिनुभयो । नेपालले बङ्गलादेशसँग सहयोग स्वरुप सो मल माग गरेको हो । पछि नेपालले बङ्गलादेशलाई सो मल फिर्ता दिनुपर्ने छ । दुई देशबीच कृषिमा एकापसमा सहयोग गर्ने विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी हित र सम्बन्धका विषयमा उच्चस्तरीय भ्रमण कायम राख्ने कुरा गर्नुभएको थियो । प्रधानमन्त्री हसिनाले त्यसलाई सकारात्मकरुपमा लिनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले बाङ्गबन्धु शेख मुजीबर रहमानको जन्मअवसरमा बङ्गलादेश तथा त्यहाँको जनतालाई नेपालको तर्फबाट बधाई ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]