बैशाख ३०, २०८१ आईतबार

पत्रकारको अभाव भोग्नु पर्ने छैन : गाउँले

झापा । शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि झिलझिलेमा सूचना सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ ।


सझामञ्च मिडिया प्रालि बिर्तामोडको आयोजनामा भएको सूचना सम्वादको सहजीकरण खोज पत्रकारिता केन्द्रका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले गरेका थिए ।


प्रविधिको विकासको कारण आजको सूचना प्रवाहले विविधता पाइरहेको सन्दर्भ कोट्याउँदै गाउँलेले अब जनप्रतिनिधिले गरेका रचनात्मक कामहरु आफ्ना जनतालाई सुनाउन पत्रपत्रिका नै नचाहिने सुझाव दिए ।


‘तपाईंले अब सामाजिक सञ्जालमार्फत् आफ्ना सबै कामहरु सार्वजनिक गर्ने बानीको विकास गर्नुभयो भने पत्रकारको अभाव भोग्नु पर्नेछैन, राम्रो र रचनात्मक काम बारे बुझ्न पत्रकार स्वयम् तपाईंसम्म आउने छन्’ गाउँलेको सुझाव छ ।


करिब २ घण्टा लामो प्रस्तुतिमा पत्रकार गाउँलेले जनप्रतिनिधि र कर्मचारीहरुले बील, भौचर, भरपाई, सिफारिस आदि प्रमाणित गर्नुभन्दा पहिले चित्तबुझ्दो गरी रुजु गरेरमात्र कार्यान्वयनमा लैजाने हो भने आरोप लान्छवना आदिबाट मुक्त हुन सकिने सुझाव दिए ।


जनप्रतिनिधि र कर्मचारीहरु सार्वजनिक पद धारण गरेका व्यक्तिहरु भएकाले तिनका हरेक क्रियाकलापमा पत्रकारको मात्र नभई सर्वसाधारण नागरिकको समेत नजर परिरहेको हुनेहुँदा बोल्नु र व्यवहार गर्नुअघि ध्यान दिनुपर्नेमा उनको जोड थियो ।


अब पत्रकारले मात्र होइन, समाजका हरेक मानिसले ‘डिजिटल अभिलेख’ राख्न थालेका छन् । तपाईंले जानी नजानी गरेका गल्ती कमजोरीहरु हुन् वा त बद्मासीहरु तिनले ऐन मौकामा सार्वजनिक गरिदिन सक्छन् । त्यसैले सार्वजनिक पद धारण गरेका मानिसले सचेततापूर्वक काम गर्नुको विकल्प नरहेको सम्पादक गाउँलेको सुझाव छ ।


सूचना सम्वाद कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख चन्द्रकुमार शेर्माले जनप्रतिनिधिहरुलाई समाचारको महत्व दर्शाउन तथा सूचनाको हकबारे अवगत गराउन आवश्यक देखेर नै आफूले यो कार्यक्रम सिफारिस गरेको बताए ।


नगरमा राम्रा राम्रा कामहरु गरिरहँदा पनि सञ्चार माध्यममा स्थान पाएका छैनन् बरु भए नभएका नकारात्मक कुराको बाढी नै आउने गरेको उनको भनाई छ । केही सञ्चार माध्यमले आफूसँग सम्बन्धित विषयलाई यथार्थ नबुझी समाचार प्रकाशन गरेकोमा रोश प्रकट गर्दै नगरप्रमुख शेर्माले कम्तीमा पत्रकारिताको सिद्धान्तको ख्याल गरेर कलम चलाउन पत्रकारको ध्यानाकर्षण पनि गराए ।


सूचना सम्वाद कार्यक्रम पछि तालिम अनुभव सुनाउँदै नगर उपप्रमुख भोजकुमारी नेपालले यस्तो तालिम एक वर्ष पहिले नै लिन पाएको भए नगरपालिकामा उत्पन्न भएका विवाद समाधान गर्न सहज हुने रहेछ भन्ने भनाई राखिन् ।


यस्तै, ४ नं. वडाध्यक्ष अधिकचन ताजपुरिया र शाखा अधिकृत तथा सहायक सूचना अधिकारी डिल्ली नेपालले सूचना सम्वाद कार्यक्रमबाट आफूहरुले धेरै कुरा सिक्न पाएको बताए ।
साझामञ्च मिडिया प्रालिका अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एकराज कार्कीको अध्यक्षतामा सूचना सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा तालिमको औचित्यबारे साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले प्रकाश पारेका थिए भने राजनीतिक व्यक्तित्व सन्तोष मेयाङ्बोले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]