जेष्ठ ७, २०८१ सोमबार

९ः४० मा प्रधानमन्त्री स्वदेश ल्याण्ड हुने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लागेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


उनका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्नेछन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।


यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरे । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका छन् ।


राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।

प्रकाशित मिति : असार १, २०७६ आईतबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]