बैशाख १३, २०८१ बिहीबार

स्वागत झर्नामा आन्तरिक पर्यटकको घुइचो

तीर्थ तिम्सिना

बुद्धशान्ति । इलामको रोङ गाउँपालिका – ४ किटेनीमा रहेको ‘स्वागत झर्ना’ घुम्न जानेहरूको संख्या बढ्दै गएको छ । पर्यटकले यहाँ पुगेर वरिपरीबाट घेरिएको वनजंगल र चराचुरुङ्गीको चुँचुँ आवाजसँगै चिसो ठाँउमा कलकल झरिरहेको झरनाको मनोरम दृश्य अवलोकन गर्दै आनन्द लिने गरेका छन् ।

इलामका पर्यटकीय क्षेत्र त्यसै त अवलोकन भ्रमणका लागि धेरै जसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । त्यसमा पनि गर्मी मौसम बढेसंगै झर्नामा रमाउन, पौडी खेल्न र डुबुल्की मार्नेहरुको संख्यामा अत्यधिक वृद्धि भएको स्थानीय होटल संचालक सावित्री लिम्बुले बताएकी छिन् । उनले लक डाउन खुलेपछि केही दिनयता झर्ना हेर्न र यहांँ पौडी खेल्न रमाउन आउनेको लर्को नै लाग्ने गरेको सुनाइन् ।

रोङ गाउँपालिका –४ का वडाध्यक्ष सुर्य राईका अनुसार अघिल्लो बर्ष सामान्य संरचना बनाएर सुरुवात गरिएता पनि पर्यटकको उल्लेखनीय भीड भएसंगै आउँदो आर्थिक वर्षदेखि व्यवस्थित गर्दै लैजाने बताएका छन् । ‘अहिले स्वागत झर्नामा पौडी खेल्न आउनेको भीड लागेको छ, बिदाका दिन त झन स्कुले विद्यार्थी र शिक्षकहरू समेत रमाउन आउँछन्,’ वडाध्यक्ष राईले भने, ‘स्वागत झर्ना गर्मी छल्ने माध्यमसँगै पर्यटनका लागि पनि प्रमुख गन्तब्य बनेको छ ।’ सामाजिक सञ्जाल देखि लिएर विभिन्न सञ्चार माध्यममा यसबारे जानकारी बाहिर आएपछि झरना जानेको भीड बढेको छ ।

पर्यटकहरु आउने क्रम शुरु भएसँगै झरनाको संरक्षण र विकासका लागि गाउँपालिकाले योजना अघि सारेको वडाध्यक्ष राईको भनाई छ । उनले प्रदेश सरकारसंग सहकार्य गर्दै पर्यटकिय क्षेत्रको रूपमा बिकास गर्न आफू लागिपर्ने बताएका छन् । शनिबार र बिदाको दिन स्वागत झर्नामा स्थानीय मात्रै होईन युवायुवती, उमेर ढल्कँदै गरेका प्रौढ, जनप्रतिनिधि, नेता, मोडल देखि लिएर सञ्चारकर्मी समेत पुग्न थालेका छन् । झर्नामै रमाउदै रमाइलो गर्दै गर्दा भेटिएका नेता सिपि कडरिया आफ्नु परिवारलाई केही भएपनि रिफ्रेसका लागि र गर्मी छल्न झर्नामा रमाउन आएको सुनाए । उनले झर्नालाई व्यवस्थित गर्दे पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सके यहाँका स्थानीय बासिन्दाको जिवनस्तर समेत उक्सिन सहयोग पुग्ने बताए ।

त्यस्तै, यता झापा नाट्य घरकी कलाकार मुना प्रसाईं समेत झर्नामा रमाईरहेकी थिइन् । उनले लामो समय कोरोना भाइरसका कारण बाहिर निस्किन नपाईरहेको अवस्थामा एकदिन केहि मात्रामा भएपनि साथीहरूसँग रमाइलो हुने सोचेर यहाँ आएका हौं । उनले – सोचेभन्दा रमाइलो भएको सुनाईन ।

पछिल्लो समय झर्नामा आउने अधिकांश पर्यटकले समेत आकर्षक स्थान भएपनि यसलाई अझ व्यवस्थित गर्न बाँकी रहेको बताउने गरेका छन् । अर्जुनधारा देखि स्वागत झर्नाको चर्चा सुनेरै घुम्न आएका सञ्चारकर्मी बिष्णु श्रेष्ठले झर्नाको सुन्दरतासंगै बाटोलाई व्यवस्थित गर्न सके पर्यटनकै माध्यमबाट मनग्यै आम्दानी लिन सकिने बताए । उनले यस क्षेत्रको बिकासका लागि स्थानीय उपभोक्ता समिति र स्थानीय निकाय अग्रसर भएर लाग्नुपर्ने बताए ।

यस क्षेत्रमा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थान रहेकाले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सके स्थानीयको समेत जीवनस्तर माथी उकास्न सहयोग पुग्ने स्थानीय अनन्त अर्याल बताउँछन् । उनले झर्नामा बाह्रै महिना पानी आउने व्यवस्था मिलाउनुका साथै दुई पाङ्ग्रे सवारीसाधन गन्तव्य स्थलसम्म पुर्याउँदै थारै रकमको भए पनि टिकट काट्ने व्यवस्था गर्नसके पर्यटनको थप बिकास गर्न सकिने बताए ।

इलाममा नयाँ पर्यटकीय गन्तव्यको रूपमा थपिएको ‘स्वागत झरना’ मेची राजमार्गको झापाको बुद्धशान्ति गाउँपालिका र इलामको रोङ गाउपालिकाको सङ्गम स्थल रहेको जोरकलशबाट करिव ४ मिनेटको यात्रापछि किटेनी पुगिन्छ । किटेनीदेखि ५ सय मिटर भित्र तल रहेको छ । जसको उचाई २४५ फिट रहेको छ । उक्त उचाईबाट झरेको पानीको झर्ना हेर्न पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]