बैशाख ८, २०८१ शनिबार

प्रदेश सांसद बिर्ख प्रधानकै संलग्नतामा सिसौका रूख काटिए

चिरञ्जीवी घिमिरे

झापा – प्रदेश १ का सांसद बिर्ख प्रधानको संलग्नतामा झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको सहिद वन बाटिकाबाट सिसौका रूख काटिएका छन् । प्रतिष्ठान र जिल्ला वन कार्यालयको अनुमतिविना नै सोमबार तीनवटा रूख काटिएका हुन् । 

स्थानीय बासिन्दाका अनुसार सांसद प्रधानले तीनजना मजदुरलाई रूख काट्न लगाएका हुन् । रूख काटिरहेको देखेपछि स्थानीय बासिन्दाले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । ‘धेरैपटक रूख काटेको देखेँ । अब काट्दैन होला भनेर माफ दिएँ । ठूलो मान्छेले मनपरी गर्दा रहेछन् । काटेको–काट्यै गरेपछि मलाई त रिस उठ्यो, मैले नै डिएफओलाई जानकारी गराएँ,’ स्थानीय जग्गु राजवंशीले भने, ‘मैले भनेको थाहा पाएछ, बिर्खे दाइ (सांसद बिर्ख प्रधान)ले अझै केही भन्न बाँकी छ कि भन्दै थिए । डराएर त जंगल सक्छन् । त्यसैले डिएफओलाई भनिदिएँ ।’ सांसदकै उपस्थितिमा रूख काटिरहेको खबर पाएपछि पुगेको वनको टोलीले काठ लान दिएको छैन । 

सांसद प्रधान र उनका छोरा भुवनले सहिद वन बाटिकाबाट सिसौका रूख काटेको प्रतिष्ठानले पनि जनाएको छ । ‘वन पैदावरको अधिकार डिभिजन वन कार्यालयको हो । माननीयज्यूको छोराले दाउरा मागिरहनुभएको थियो,’ प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीले भने, ‘प्रतिष्ठान व्यवस्थापन समितिमा पनि कुरा लगिएको थिएन । स्वीकृतिविना रूख काटिएका हुन् ।’ भुवन प्रतिष्ठानकै कर्मचारी हुन् । 

रूख काटे पनि वनको टोलीले काठ लैजान रोक लगाएको डिभिजन वन कार्यालय, झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । ‘तीनवटा रूख काटिएको रहेछ । एउटालाई टुक्र्याइएको रहेछ । त्यो प्रतिष्ठानको कार्यालयछेउमा राखिएको छ । अरू दुईवटा काटेका ठाउँमा छन्,’ घिमिरेले भने, ‘सुकेकै रूख वनबाट निकाल्दा पनि वनलाई जानकारी दिनुपर्ने हो । जानकारी भएन । यसबारेमा छानबिन गर्छौँ ।’

प्रदेश सांसद प्रधानले भने रूख काट्नमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरे । छोरा भुवनले प्रतिष्ठानबाट स्वीकृति लिएर काटेको ठाउँमा आफू गएको उनको भनाइ छ । ‘वन मेरो घरछेउमै पर्छ । छोराले मागेर काटेको रहेछ । रूख भएको ठाउँमा वाल पनि थियो । वाललाई असर नपारी काट है भन्न म गएको थिएँ । म भैँसी चराउन गएको थिएँ,’ सांसद प्रधानले भने । आफ्ना विरोधीले अनाहकमा झोसेको उनको भनाइ छ । 

रूख काट्ने तीनजना मजदुरमध्येका एक सिद्धिकुमार डाँगीले भने सांसद प्रधानले नै काट्न लगाएको बताएका छन् । ‘बिर्ख दाइले नै पार्कसँग मिलेर रूख काट्न लागेका छौँ । सुकेको रूख काट भन्नुभएको हो,’ उनले भने, ‘रूख काटेको ठाउँमा दाइ (प्रधान) आफैँ आउनुभएको थियो । उहाँहरूबीचमा सल्लाह भयो कि भएन हामीलाई थाहा भएन ।’ तीनजना मिलेर दुई हजार पाँच सयमा रूख काट्ने ठेक्का लिएको उनले बताए । उनले भने, ‘हामीले रोजीरोटीका लागि काट्यौँ । २५ सयमा तीनजनाले ठेक्का लिएका हौँ । यसमा हाम्रो के गल्ती ?’

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]