क्षय रोगको परीक्षण केन्द्र सञ्चालनमा झापाका स्थानीय तह जिम्मेवार बन्नुपर्ने
भद्रपुर । नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य गोपाल श्रेष्ठले झापामा रहेको एकमात्र क्षय रोगको परीक्षण केन्द्रको सञ्चालनलाई निरन्तरता दिन स्थानीय तहहरु जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ ।
नेपाल क्षयरोग निवारण संस्था झापाले शुक्रवार सञ्चालन गरेको क्याटेलेटिक परियोजनाको समीक्षा बैठकमा केन्द्रीय सदस्य श्रेष्ठले संस्थाले सञ्चालन गरेको क्षयरोग परीक्षण केन्द्रलाई सहयोग गर्न स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । झापाको महत्वपूर्ण स्वास्थ्य केन्द्र टीबी रोगको परीक्षण तथा उपचार गर्ने केन्द्रलाई आर्थिक रुपले सहयोग गर्न अपिल गर्नुह्ुँदै उहाँले स्थानीय सबै तहहरुमा पहुँच नपुगेर उपचार गराउन नपाएका बिमारीहरुको परीक्षण र उपचार गर्न यसको पहँच विस्तार गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम संयोजक केदारमहतले कुनै पनि रोग लागेका विमारीहरुलाई स्वास्थ्य उपचार उनीहरुको अधिकार भएकोले सामाजिक तथा मानसिक हिंसाको विरुद्धमा यो परियोजनाले काम गर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेल, भद्रपुर वडा नम्बर ८ का वडा अध्यक्ष मनोज सुब्बा, नेपाल रेडक्रस सोसाइटी एक नम्बर प्रदेशका सचिव कृष्ण मैनाली, स्वास्थ्यकर्मी टीकाकुमारी साहा, अधिकारकर्मी रेखा अधिकारी, रञ्जु शर्मा, शर्मिला अधिकारी लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।