तपाईं ठगिनुभयो ? सूचना दिनु्स् होइन भने वर्षैभरी ठगिनुपर्ला !
चाडवाड नजिकिएसँगै कालोबजारी गर्नेहरु मौलाउँछन् । तपाईं हाम्रै लापरबाहीले वर्षैभरी ठगिनुपर्ने अवस्था आउन सक्छ । यदि कुनै सामान किन्दै हुनुहुन्छ र त्यसमा केही त्रुटि भेटिए सरोकारवालालाई खबर गर्नु्स् ।
आम उपभोक्तालाई विभिन्न नामका व्यवसाय र व्यापारीले कसरी अखाद्य वस्तु प्रयोग गराइरहेका छन् र कसरी मूल्यमा ठगिरहेका छन् भन्ने पछिल्लो बजार अनुगमनले देखाउँछ । केही दिनअघि (असोज १५ मा) विशाल ग्रुपको अमेजन र आयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ओरियो बिस्कुट, स्निकर्स र मार्स चक्लेट, ट्याङ जुस, बर्नभिटा लगायतका म्याद सकिएका सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै गरेको फेला परेको थियो ।

त्यस्तै सोमबार अनुगमन टोली आउने थाहा पाएपछि कालिमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागे । अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको भनिएको छ ।
यी त पछिल्ला प्रतिनीधि घटना मात्र हुन् । चाडवाडका समयमा उपभोक्ता हतारमा हुने भएकाले उनीहरुले यस्ता विषयमा ध्यान नदिएको देखेपछि कालाबजारीहरु सलबलाउँने गरेको उपभोक्ताकर्मीहरु बताउँछन् ।
सरकारी अधिकारीहरूले बजार अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर परीक्षण ठाउँको ठाउँमै गर्ने व्यवस्था गरिएको दाबी गरिरहेका बेला त्यस्तो कुरा प्रचारमा मात्र सीमित भएको आरोप छ।