चैत्र १५, २०८० बिहीबार

पूर्वमा कोरोना संक्रमितलाई आईसीयू बेडको अभाव

विराटनगर । आइतबार विराटनगर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको गेटमा जाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला कारागार, मोरङका बन्दी २० वर्षीय युवकलाई कोशी अस्पताल ल्याइयो । अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखियो । अवस्था गम्भिर भएका उनलाई जुनसुकै बेला आईसीयू र भेन्टिलेटरको आवश्यकता थियो ।

तर, कोभिड–१९ उपचार केन्द्रमा आईसीयू बेड खाली थिएन । बेड खाली भएलगत्तै भर्ना गर्ने भन्दै राखिएको भोलिपल्ट बिहानै उनको कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भयो ।

शुक्रबार दिउँसो विराटनगर महानगरपालिका–१२ बखरीकी ५५ वर्षीय महिलाको समयमा नै उपचार नपाउँदा मृत्यु भयो । कोरोना पोजेटिभ भएपछि अस्पतालमा बेड नहुँदा घरमै बसेकी उनको स्वास्थ्य अवस्था गम्भिर बनेको थियो । लगत्तै, सिटी रिक्सामा नोबेल मेडिकल कलेज लगिएको केही समय पछि उनको मृत्यु भयो ।

प्रस्तुत घटनाक्रमले अहिले अस्पतालहरुमा आईसीयू बेड अभाव हुँदा विराटनगरमा कोरोना संक्रमितको व्यवस्थापन र उपचारमा कति समस्या भइरहेको छ भन्ने देखाउँछ ।

दैनिक चार सय बढी संक्रमित देखिन थालेको प्रदेश १ मा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुका भेड भरिएका छन् । बेड अभावका कारण लक्षणसहितका विरामी घरमै बस्न बाध्य भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि बताउँछन् ।

हालसम्म १० हजार तीन सय कोरोना संक्रमित रहेको प्रदेश १ मा कोरोना संक्रमणका कारण १०३ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

एक महिनाअघिको निर्णयबाट पछि हट्यो सरकार

समुदायस्तरमा संक्रमण व्यापक भएपछि प्रदेश १ सरकारले एक हजार बेडको आइसोलेसन बनाउन निर्णय ग¥यो । तर, एक महिना अघि गरेको निर्णयबाट प्रदेश सरकार आफैँ पछि हटेको छ ।

एक हजार बेडको आइसोलेसन सञ्चलनको तयारी गरेको प्रदेश सरकार संक्रमित घरमै बस्न थालेको र स्थानीय तहहरुले पनि आइसोलेसन बनाएको भन्दै निर्णय परिवर्तन गरेको छ ।

प्रदेश स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को १८ भदौमा बसेको भर्चुअल बैठकले विराटनगरमा एक हजार बेडसहितको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको थियो । निर्णय भएको एक महिनापछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक हजार बेड आवश्यक नभएको बताए ।

‘हिजो केन्द्रीकृत भएका आइसोलेसन बिकेन्द्रीत भएका छन्, पालिकाले आफैँ आइसोलेसन सञ्चालन गरिरहेका छन्’, उनले भने, ‘एकै ठाउँ हुँदा हजार बेड बनाउने निर्णय भएको थियो । अब विराटनगर र आसपासका क्षेत्रका लागि एक हजार बेड आवश्यक पर्दैन ।’

यो बीचमा ३० बेडको आइसोलेसन थपिएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ एवानले ३० बेडको आइसोलेसन निर्माण गरी प्रदेश सरकारलाई हस्तान्त्रण गरेको हो । मन्त्री घिमिरेले जोखिम बढेकाले सरकारको कार्ययोजनाका लागि विज्ञसँग छलफल गरिरहेको बताए ।

अक्सिजनको व्यवस्था गरिदेउ : मेयर पराजुली

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा प्रदेश र संघीय सरकारले संक्रमितका लागि आवश्यता अनुसार अक्सिजन पाउने व्यवस्थापन गर्नुपर्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । लक्षणसहित संक्रमितलाई राख्नका लागि आइसोलेसन खाली नरहेको बताउँदै उनले भने, ‘धेरै संक्रमितलाई अक्सिजन सपोर्ट चाहिन्छ, प्रदेश र संघले लक्षणसहितका विरामीका लागि बेड थप गरिदियोस् ।’

पछिल्लो समय कोरोना संक्रमितलाई घरमै बस्न सहज भएपनि अक्सिजन नहुँदा जोखिम धेरै भएको उनले बताए । ‘गाह्रो भयो भन्दै राति १२ बजे पनि संक्रमितको फोन आउँछ’, उनले भने, ‘अवस्था जटिल बन्यो, कसरी हुन्छ अक्सिजन पाउने व्यवस्था संघ र प्रदेशले गरिदिनुपर्छ ।

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]