चैत्र १५, २०८० बिहीबार

करका अधिकांश प्रक्रिया अनलाइनमै

झापा । करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत झन्झटसहितको कष्ट बेहोर्नुपर्ने विगत अहिले फेरिएको छ ।

कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ । कोभिडका कारण कार्यालयमा उपस्थित भएर हुनसक्ने जोखिमलाई कम गर्दै करदातालाई घरमै बसेर अनलाइनबाटै अधिकांश सुविधा उपलब्ध गराइरहेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बर (पी पान) दर्ताको यसअघिको अनलाइन प्रणालीमा सुधार गरेर अनलाइनबाटै लिनसक्ने व्यवस्था गरिएको छ । त्यस्तै विवरण बुझाउने अनि अद्यावधिक गर्ने कामलाई पनि सम्पूर्ण रूपमा अनलाइनमा ल्याइएको तथा पहिलेको प्रक्रियामा सुधार गरिएको उनले जानकारी दिए ।

जतिसुकै कर पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने पनि व्यवस्था पनि गरिएको छ, उनले भने । नेपाल राष्ट्र बैङ्कसहित अन्य आठवटा बैङ्कको समेत लगानी रहेको कनेक्ट आईपीएसमार्फत करदाताले कर भुक्तानी गर्न सक्छन् । यसबाहेक ‘डे वान’ प्रकृतिका करदाताले अनलाइनबाटै कर चुक्ता गर्नसक्ने व्यवस्था पनि विभागले गरेको छ । आय विवरण बुझाउने म्याद थपको विवरण र त्यसको जानकारी पनि करदाताले अनलाइनबाटै प्राप्त गर्नसक्ने छन् ।

करदाता स्वयंले युजर आईडी र पासवर्ड सिर्जना गर्नसक्ने र बिर्सिएमा आफैँ अर्को बनाउन सक्नेगरी अनलाइन प्रणाली सहज बनाएको पनि विभागले जनाएको छ । आफ्नो विवरण आफैँ अद्यावधिक गर्न पनि अनलाइनको प्रयोग गर्नसक्ने व्यवस्था विभागले गरेको छ । विभागले आफ्नो वेबसाइट डब्लूडब्लूडब्लू डट आईआरडी डट जीओभी डट एनपीमा करदातालाई अनलाइन प्रयोगसँग सम्बन्धित सम्पूर्ण जानकारी पनि उपलब्ध गराएको छ ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]