बैशाख १५, २०८१ शनिबार

चुलियो मोबाइल आयात

काठमाडौँ । यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामै नेपालमा ११ अर्ब रुपियाँभन्दा बढीको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

बढ्दो अनलाइन पढाइ तथा चाडपर्वको माहोलसँगै असोजसम्म १५ लाख दुई हजार थान मोबाइल फोन आयात भएको तथ्याङ्कले देखाएको छ । सीमित अन्तर्राष्ट्रिय व्यापारका कारण कम भएको मोबाइल फोनको आयात चालू आवको तीन महिनामा भने ह्वात्तै बढेको हो । सामुदायिक तथा निजी विद्यालयले अनलाइन शिक्षा प्रणाली कार्यान्वयनमा ल्याएपछि मोबाइल फोनको बजार पनि फस्टाएको देखिन्छ । आयातको सूचीमा मोबाइल फोनपछि अर्धप्रशोधित फलाम तथा स्टिल छ । साउनदेखि असोजसम्म यी वस्तुको आयात नौ अर्ब ८५ करोड रुपियाँ नाघेको छ ।

त्यसपछि आठ अर्ब ९६ करोड रुपियाँको डिजेल आयात भएको छ भने कच्चा सोयाबिनको आयात सात अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यसपछि शीर्ष पाँचमा चामल रहेको छ, जुन छ अर्ब ९९ करोड रुपियाँको आयात भएको देखिन्छ ।

निर्यात बढ्यो, आयात घट्यो
अन्तर्राष्ट्रिय व्यापारमा फेरिएको पछिल्लो प्रवृत्ति चालू आवका तीन महिनामा पनि कायम छ । निर्यात गत आवको सोही अवधिको तुलनामा १४.२८ प्रतिशतले बढेर ३१ अर्ब नाघेको छ । यसबीचमा मुख्य रूपमा तयारी सोयाबिन तेल, कालो चिया, अलैँची, गलैँचा र धागोको निर्यात भएको देखिन्छ । कुल निर्यातमध्ये यी वस्तुको निर्यात मात्र करिब १३ अर्ब रुपियाँको छ ।
आयात १२.७४ प्रतिशतले घटेर दुई खर्ब ९२ करोड रुपियाँ पुगेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापारको आकार तीन अर्ब २३ करोड रुपियाँ नाघेको छ । यो अघिल्लो आवको असोजसम्मको तुलनामा १०.७१ प्रतिशतले कम हो ।

आयातमा भएको गिरावट र निर्यातमा देखिएको सुधारले व्यापार घाटा खुम्चाएको छ । तीन महिनासम्म व्यापार घाटा दुई खर्ब ६१ अर्ब रुपियाँ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशतले कम हो ।  

प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]