बैशाख १४, २०८१ शुक्रबार

बीपी प्रतिष्ठानमा कोरोना उपचार शुल्क- ६० हजार धरौटी, दैनिक १५ हजार

सुनसरी – कोरोनाका जटिल अवस्थाका बिरामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । यससँगै उनीहरूले उपचारकै लागि दैनिक १५ हजार रुपैयाँ खर्चनुपर्नेछ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले कात्तिक ५ गते साँझ सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा शुल्क तोकिएको जनाएका छन् । संघीय स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको निर्देशनअनुसार कोरोना परीक्षण र उपचार शुल्क तोकिएको प्रतिष्ठानले जनाएको छ ।

महामारी, सरुवा रोगको निःशुल्क उपचारलाई संविधानमै मौलिक हकका रूपमा व्याख्या गरिएकोमा प्रतिष्ठानले कात्तिक ८ देखि लागू हुने गरी उक्त शुल्क निर्धारण गरेको हो । यसअनुसार प्रतिष्ठानमा पीसीआर जाँच शुल्क २२ सय, लक्षण नदेखिएका संक्रमितको उपचार गर्न ७ हजार रुपैयाँ, हल्का लक्षण भएकाले १२ हजार रुपैयाँ, मध्यम लक्षण भएकाले ३५ हजार रुपैयाँ र गम्भीर लक्षण भएकाले ६० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ ।

यसै गरी लक्षण नभएकाको उपचार शुल्क दैनिक २ हजार, हल्का लक्षण भएकाको ३५ सय, मध्यम लक्षण भएकाको ७ हजार ५ सय र गम्भीर संक्रमितको दैनिक १५ हजार तोकिएको छ । आर्थिक रूपले विपन्न, अशक्त, असहाय, अपांगता भएका र ज्येष्ठ नागरिकको कोरोना संक्रमणको उपचार गर्नुपरे सिफारिस र परिचयपत्रको आधारमा निःशुल्क पीसीआर जाँच गर्ने उल्लेख छ । तर उपचार शुल्कबारे सूचनामा खुलाइएको छैन ।

‘सरकारले दिएको निर्देशन मानेको हो । मैले आफैं शुल्क तोकेको होइन,’ अस्पताल निर्देशक साहले भने, ‘सरकारले नै कोरोना संक्रमितको उपचार आफैं बेहोर्नुपर्ने भनेको छ ।’

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]