बैशाख ८, २०८१ शनिबार

सिम्रिकद्वारा प्रहरीलाई स्वाथ्य सामग्री, सदस्यलाई आर्थिक सहयोग

भद्रपुर । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापालाई ५० लिटर सेनिटाइजर र ५०० थान सर्जिकल मास्क प्रदान गरेको छ ।
जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन गर्न एवम् नेपाल–भारत खुल्ला सिमानामा २४ सै घण्टा पहरा दिनुपर्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण हुन नपाओस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले बताएका छन् ।

संस्थाका अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र विभागीय प्रमुख विजय बस्नेतसहित सहकारीकर्मीहरुले जिल्ला प्रहरी कार्यालयमा गएर बुधबार बिहान उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले सहयोग स्वास्थ्य सामग्री ग्रहण गर्दै अग्रभागमा रहेर काम गर्ने प्रहरीको सुरक्षाका लागि संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले महत्वपूर्ण काम गर्ने बताए ।

सदस्यलाई तीन लाख उपचार राहत
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना विभिन्न सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई मोटो रकम उपचार सहयोग प्रदान गरेको छ । सहकारी तथा लघुवित्त कार्यक्रममा समावेश भएका सदस्यहरुले शेयरमा योगदान एवम् बचत कारोबारमा निरन्तरताका आधारमा स्वास्थ्य उपचार सुविधा पाउने संस्थाको नीति रहेको जनाइएको छ ।
संस्थाका तालिम विभाग प्रमुख प्रेम बस्नेत विभिन्न सेवा केन्द्र प्रमुख एवम् कर्मचारीहरु सदस्यहरुको घरघरमा नै गएर एक हजारदेखि २८ हजार रुपैयाँसम्म उपचार राहत सहयोग हस्तान्तरण गरेका हुन् ।

जसअनुसार सुरुङ्गाका धान्यप्रसाद गुरागाईंको मिर्गौलाको उपचार गर्दा लागेको खर्चवापत २५ हजार रुपैयाँ र ६ दिनको अस्पताल बसाईको बेड चार्ज वापत ३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको सेवा केन्द्र प्रमुख इन्दिरा भट्टराइले बताएकी छन् । यसरी नै अर्का शेयर सदस्य भुवनेश्वरी कडरियाको सासूआमाको उपचारमा लागेको खर्चवापत सदस्य परिवारलाई १० हजार ५०० रुपैयाँ प्रदान गरिएको छ ।

सिम्रिक साकोसले शेयर तथा बचतको योगदानको आधारमा सदस्य र तिनका परिवारको उपचार खर्च प्रदान गर्ने नीति बनाएको छ । सो नीति बमोजिम गोलधाप सेवा केन्द्रका सदस्य राधिका भट्टराईको पाठेघरको शल्यक्रिया गर्दा लागेको खर्चको आधा १८ हजार ८५० रुपैयाँ प्रदान गरिएको सेवा केन्द्र प्रमुख गोपाल विष्टले जानकारी दिएका छन् ।
यता बिर्तामोड सेवा केन्द्रका प्रतिमा देवनाथलाई २२ हजार ५०० रुपैयाँ, शारदा ढुंगानालाई १९ हजार र अगमलाल राजवंशीलाई १७ हजार रुपैयाँ उपचार खर्चवापत प्रदान गरिएको छ । यसरी नै, बिर्तामोड सेवा केन्द्रका सदस्य शारदा ढुंगानाको उपचार खर्चवापत १९ हजार र वीरबहादुर सिलवालको श्रीमतीको उपचार खर्च वापत ९ हाजर ५०० रुपैयाँ प्रदान गरिएको छ ।

बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालले दिएको जानकारी अनुसार आफ्ना सदस्यहरु र तिनका परिवारको उपचारका लागि अस्पताल बस्नुपर्दाको बेडचार्ज वापत प्रतिदिन ५०० रुपैयाँका दरले सहयोग प्रदान गर्ने नीति छ । उनका अनुसार पछिल्लो हप्ता माथि उल्लेखित बिर्तामोड सेवा केन्द्र अन्तरगतका विभिन्न व्यक्तिहरुको उपचाराार्थ ७८ हजार भन्दा बढी सहयोग प्रदान गरिएको हो ।
सिम्रिक साकोसले टाघनडुब्बा सेवा केन्द्र अन्तरगत लघुवित्ततर्फका सदस्य मीनादेवी गणेशलाई २२ हजार ५००, दुवागढी सेवा केन्द्र अन्तरगतका सदस्य जानुका भुजेल खबासलाई २० हजार, गरामनी सेवा केन्द्रका सदस्य सुरेखा राईलाई १२ हजार ५०० रुपैयाँ उपचार खर्च सुविधा प्रदान गरिएको तालिम विभाग प्रमुख विजय बस्नेतले बताएका छन् । बस्नेतका अनुसार सिम्रिक साकोसले कात्तिक महिनामा मात्र तीन लाख तीन हजार २७३ रुपैयाँ उपचार सुविधा प्रदान गरेको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]