बैशाख ८, २०८१ शनिबार

‘बिजुलीको कमी छैन, झिलिमिली बत्ती बालेर ढुक्कले दिपावली गर्नुहोस्’

झापा । पछिल्लो समय झ्याप्पझ्याप्प बत्ती जाने क्रम बढेको छ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको पदावधि सकिएपछि कुलमान घिसिङ बिदा भएकाले लोडसेडिङ हुन लागेको धेरैले शंका गरेका छन् । तिहारको समयमा त झिलिमिली गर्नै नपाइने हो कि भन्ने हल्ला पनि सुनिन थालेका छन् । 

नेपाल विद्युत प्राधिकरणले भने जति बिजुलीको आपूर्ति भइरहेकाले ढुक्क भएर झिलिमिलीका साथ दिपावली गर्न र तिहार मनाउन आग्रह गरेको छ ।

माग जति बिजुली आपूर्ति

नेपाल विद्युत प्राधिकरणले तिहारको समयमा माग जति बिजुली आपूर्ति हुने जनाएको छ । तिहारको समयमा धेरै उद्योग कलकारखाना बन्द हुने भएकाले झिलिमिली बत्तीले मात्रै धेरै लोड नबढ्ने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा उद्योग, कलकारखाना कम रहेको र अलि धेरै झिलिमिली हुने भएकाले अरु बेलाभन्दा केही धेरै माग हुन सक्ने, तर देशका अन्य ठाउँमा भने अन्य बेलाकै जस्तो माग हुने प्रवक्ता तिम्सिनाको भनाइ छ । 

‘बुधबार सबैभन्दा धेरै १२ सय ९० मेगावाट माग भएको थियो, लक्ष्मीपूजाको दिन पनि यही हाराहारीमा या अझै यो भन्दा कम माग हुने अनुमान गरेका छौँ’ प्रवक्ता मदन तिम्सिनाले भन्नुभयो । गएको वर्ष लक्ष्मीपूजाको दिन ११ सय १० मेगावाट बिजुलीको माग भएको थियो । 

अहिले देशभित्रै नेपाल विद्युत प्राधिकरणले बनाएका र निजी क्षेत्रले बनाएका आयोजनाबाट १ हजार मेगावाटको हाराहारीको बिजुली उत्पादन भइरहेको छ । अपुग बिजुली भारतबाट आयात भइरहेको छ । ‘बुधबार अधिकतम २ सय ९० मेगावाट बिजुली भारतबाट आयात भएको थियो, तिहारको बेला सबैभन्दा धेरै बिजुली माग हुने दिन लक्ष्मी पूजाको दिन पनि बढी यही परिमाणमा बिजुली भारतबाट आयात हुन सक्छ’ तिम्सिनाले भन्नुभयो । 

पहिले लोडसेडिङको बेलामा तिहारमा बत्तीको माग र आपूर्तिको चक्र मिलाउन समस्या भए पनि अहिले त्यस्तो समस्या नभएको  प्राधिकरणले जनाएको छ । ‘बरु अरु बेला उद्योग कलकारखाना पूर्ण क्षमतामा चल्ने भएकाले माग धेरै हुन्छ, तर तिहारको बेला उद्योग बन्द हुन्छन्, झिलिमिलीले मात्रै धेरै लोड पार्दैन’ उहाँले भन्नुभयो ।

लक्ष्मीपूजाको दिनलाई तयारी पूरा

विद्युत प्राधिकरणमा कुलमान घिसिङको पदावधि सकिएपछि फेरि लोडसेडिङ हुने हो कि भनेर नागरिकमा चिन्ता बढेको देखिन्छ । प्राविधिक कारणले बत्ती जाँदा पनि नागरिकले लोडसेडिङ सुरु भयो भन्दै गुनासो गर्न थालेका छन् । कतिपयले त यसलाई कुलमान घिसिङ बाहिरिएपछिको लापरबाही पनि भनेका छन् ।

आम नागरिकको चाहना अनुसार कुलमान घिसिङलाई फेरि प्राधिकरणमा नल्याएको सरकारलाई एक मिनेट पनि बिजुली नकाट्न थप दबाब परेको छ । त्यसैले ऊर्जामन्त्री वर्षमान पुनले प्राविधिक समस्या पनि समाधान गरेर बत्ती जाँदै नजाने मेसो मिलाउन निर्देशन दिनुभएको छ । 

‘एक मिनेट पनि बत्ती गएको गुनासो नआउने गरी काम  गर्नुहोस्, कहाँ-कहाँ के उपकरण बदल्नुपर्छ बदल्नुहोस्, चौबीसै घन्टा स्टान्डबाइ बस्नुहोस्’ मन्त्री पुनले प्राधिकरणको नेतृत्वलाई निर्देशन दिनुभएको छ । प्राधिकरणले पनि तिहारमा भरपर्दो बिजुली उपलब्ध गराउन तयारी अवस्थामा रहेको जनाएको छ । यसको  लागि असुरक्षित  पुराना उपकरण परिवर्तन गर्ने, बढी माग हुन सक्ने ठाउँमा अतिरिक्त उपकरणको व्यवस्था गर्ने, कर्मचारी तयारी अवस्थामा राख्ने लगायतका तयारी भएका छन् । 

‘आयोजना स्थल, सब स्टेशन, प्रशारणलाइन, वितरण केन्द्रलगायतका प्राविधिक र केही कर्मचारीलाई बिदा दिइएको छैन, सबैजनालाई तयारी अवस्थामा राखिएको छ, समस्या आउनेबित्तिकै समाधानको काम सुरु हुने गरी सेड्युल मिलाइएको छ’ प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भन्नुभयो ।

वितरण लाइनको मर्मत सम्भारमा अलि धेरै जोड दिइएको र धेरै ठाउँमा मर्मत सम्भार सम्पन्न भइसकेकाले धेरै समस्या नआउनेमा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । 

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]