दमकमा १० बिगाहा सरकारी जग्गा हडप्ने प्रचण्ड निकट नेता काठमाडौंबाट पक्राउ
दमक । नेकपाका नेता रेवतराज पुरी ‘गगन’ काठमाडौबाट पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।
झापा दमक नगरपालिका – ६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ । उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई पक्राउ गरेको हो । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य हुन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेता पुरीले दमक नगरपालिका– ८ (साबिक १३) को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरीमाथि विभागले अनुसन्धान गरिरहेको थियो ।
विभागका ती अधिकारीका अनुसार उनले अवैध आर्जन गरेको सम्पत्ति करिब ६ करोडजति फेला परिसकेको छ । बाँकी रहेको सम्पत्तिबारे पनि अनुसन्धान चलिरहेकाले बिगो बढ्ने ती अधिकारीले बताए । यसअघि पुरी अदालतबाट धरौटीमा छुटेका थिए । तीन महिना फरार भएका उनी २०७७ चैत ७ गते जिल्ला अदालतमा सुटुक्क हाजिर हुन पुगेका थिए ।