माघ ५, २०७७ सोमबार

प्रचण्डलाई ओलीको गम्भीर ८२ प्रश्न

नवराज शंकर

मुख्यतः सरकारको कामसँग लक्षित गरेर पार्टीका कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहालले कार्तिक २८ गते बसेको पार्टी सचिवालय बैठकमा १९ पृष्ठको आरोप र गुनासा समेटिएको लिखित धारणा पेस गर्नुभएको थियो । पार्टी अध्यक्ष एवं नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले मङ्सिर १३ गते बअसेको सचिवालय बैठकमा अर्का अध्यक्ष क. प्रचण्डले माग्नुभएको १९ वटा प्रश्नको सविस्तार जवाफ दिनुभएको छ भने त्यससँगै अर्का अध्यक्ष कमरेड प्रचण्डलाई ८२ वटा प्रश्न सोध्नुभएको छ ।

यति गम्भीर प्रश्नहरु आइसकेपछि निश्चित रुपमा पार्टी अध्यक्ष क. प्रचण्डका जवाफहरु आउने छन् । त्यसपछि पार्टीमा दुई विकल्प मात्रै रहनेछ : सकिने या त सप्रीने अर्थात् विभाजन या त नयाँ शिराबाट सुदृढ एकता । केही देशी विदेशी प्रतिक्रियावादीहरु, प्रतिगामी मानसिकता भएकाहरुलाई छोडेर पार्टीका लाखौं लाख नेता, कार्यकर्ता र सदस्यहरु एवं करोडौं नेपाली जनता सुदृढ एकताको पक्षमा छन् ।

नवराज शंकर

मुलुकको विकास र समृद्धिको पक्षमा छन् । किनभने यो पार्टी सिमित नेताहरुको स्वार्थ, लेनदेन र भगवण्डाले किमार्थ बनेको होइन; हजारौं सहिदहरुको रगत, घाइते, अपांग, वेपत्ता भएका कमरेडहरु र लाखौं लाख नेता, कार्यकर्ता र सदस्यहरु एवं करोडौं नेपाली जनता रगत, पसिना एवं शुभेच्छाले गर्दा आजको अवस्थामा आइपुगेको छ । त्यसैले समयमा नै सबै प्रश्नहरुको उचित हल खोजियोस । युगले सुम्पोएको राष्ट्र निर्माणको अभिभाराबाट दायाँ-बायाँ गर्ने छुट कसैलाई पनि छैन । प्रधानमन्त्री ओलीले प्रचण्डलाई सोधेका गम्भीर ८२ प्रश्नहरु :

१. जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो किसिमको सहयोग भयो होला ? २. पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ रुपमा गरिएको नीतिगत वहस हो कि या त ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? ३. तपाईंले रोजेको बाटो वाद-प्रतिवाद-संवादको हो कि वाद-प्रतिवाद र विग्रहको ? एकता-छलफल र अझ उन्नत स्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता-विग्रह र विघटनको बाटोमा ? ४. पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ?

५. निर्वाचन सफलताको उन्मादमा तपाईंले पहिले गिरिजा प्रसाद कोइरालालाई र पछि माधव कुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिनुभयो । उम्मेदवारी दाखिला गर्नुभन्दा केहीबेर अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला । कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच ? ६. राजनीतिक दलहरुले सुझबुझका साथसंविधानसभाको दोस्रो निर्वाचन गराए । निर्वाचन परिणाम स्वीकार्न तपाईंलाई कति गाह्रो भएको थियो ? ७. कसरी ‘छानबीन समिति’ बनाएर तपाईंको ‘फेस सेभिङ’ गर्नुपरेको थियो ? सबै सम्झना छ नि, होइन र ? ८. मैले कहिल्यै पनि तपाईंलाई सोधेको छैन- कमरेड, आफै सम्मिलित गठबन्धनको मुख्य पार्टीलाई थाहै नदिई, एक किसिमले छापामार शैलीमा, विपक्षी पार्टीसँग चुनावी तालमेल गर्दा भोलि उठ्न सक्ने नैतिकताका प्रश्नले तपाईंलाई अलिकति पनि छोएन ?

९. कामरेड ‘प्रचण्ड’, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ? १०. सुर्य चिन्हमा चुनाव लड्ने सहमति गरेर गरेको २४ घण्टामै सहमति उल्ट्याउनुभयो । यो निर्णय तपाईंले कसको दबाब र प्रभावमा गर्नुभएको थियो ? अनि, यसले पनि तपाईं सधैभरि सहमतिको पक्षधर भएको पुष्टि गर्छ र ?

११. एउटै चुनावी घोषणापत्रसहित, वाम गठबन्धन बनाएर चुनाव लडेको पार्टीका नेताको हैसियतमा तपाईंले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयास गर्नु नैतिकताको कसीमा कहाँनिर उभिन पुग्थ्यो ? १२. चुनावबाट तेस्रो पार्टीका रुपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपाईंभित्र सुषुप्तरूपमा लुकेको सत्तालिप्सा ?

१३. “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाँक्षामा तपाईं सहमत हुनुहुन्छ ? यदी हुनुहुन्छ भने यो राष्ट्रिय आकाँक्षा पुरागर्न दृढता पूर्वक लागेको आफ्नै दलको सरकारलाई गठन हुँदाको प्रारम्भ देखिनै असयोग गर्ने नियोजित सरकारबिरुद्ध षडयन्त्र गर्ने, राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्ने र दबाब दिने चेष्टा किन गर्न खोजिएको छ ? १३. निर्वाचन परिणाम, नयाँ सरकार गठन र एकीकरणले ल्याएको उत्साहमा चिसो पानी खन्याउने गरी तपाईंले आफ्नो भारत भ्रमणको क्रममा आलोपालो प्रधानमन्त्रीको सहमति भएको ‘खुलासा’ गर्नुभयो । यसबाट राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भिर प्रतिकूल असर पर्दैन ? १४. विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिनु पर्ने खण्डखातिर किन पर्यो, मैले आजसम्म पनि तपाईंलाई सोधेको छैन । तर के त्यसको कुनै गंभीर अर्थ थिएन र ?

१५. त्यस यता तपाईंले कतिचोटि मन्त्रिपरिषद् पुनर्गठनको घोषणा गर्नुभएको छ, कतिचोटी सरकार परिवर्तनको खुल्ला अभिव्यक्ति दिनुभएको छ र कतिचोटी छिटै आफू सरकारको नेतृत्वमा आउने भएको हुनाले कतिपय विषय पछि सल्टाउँला भन्दै मित्र राष्ट्रसँगका कतिपय विषयलाई अल्झाउनु भएको छ, सम्झना गर्नुभएको छ नि ? १६. एकलव्य जस्तै खालि सरकारमा मात्रै तपाईँको ध्यानदृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्व विरुद्ध निरन्तर रागका कारण राजनीतिक स्थिरताविरुद्ध कस्तो सन्देश गइरहेको छ, ख्याल गर्नुभएको छ नि ? १७. जमानत नजोगिएको ठाउँहरुमा समेत झण्डै बराबरीको हैसियतमा कमिटीहरु गठन गरिएका छन् । कहाँनिर एकताको भावना प्रतिविम्बित भएन ?

१८. केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंकाविरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ? १९. महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो ? २०. एकीकरणको दुई वर्षपछि आएर, कसैको ‘हामी पनि त महाधिवेशनबाट निर्वाचित थियौँ नि, हाम्रो मूल्य खोइ ?’ भन्ने असन्तुष्टिलाई आफ्नो प्रस्तावमा घुसाउँदा यसको के अर्थ लाग्छ ? यसले तपाईं आफैलाई, आफैले गरेको सहमति र निर्णयलाई उपहास गर्छ भन्ने कुरा कसरी बिर्सनु भयो ?

२१. तपाईंले बारम्बार चित्त दुखाउने गर्नुभएको टेलिभिजन कार्यक्रम ‘फायरसाइड’ मा मैले भनेको के मात्रै हो भने- हाम्रो पार्टीमा एकजना संवैधानिक या मानार्थ र अर्को कार्यकारी अधिकारसहितको अध्यक्ष छन् भन्ने व्याख्या सही होइन । हामी दुबैजना कार्यकारी अधिकार सहितकै अध्यक्ष हौँ, तर अहिले मैले आफूलाई कार्यकारी अध्यक्षका हैसियतले सरकारको काममा केन्द्रित गराउँछु, पार्टीको काम कार्यकारी अध्यक्षका हैसियतले अध्यक्षका रुपमा प्रचण्डले गर्नुहुन्छ ।’ यसमा आपत्ति जनाउनु पर्ने कारण के छ ? के त्यस बैठकले मलाई अध्यक्ष पदबाटै निलम्बन या बर्खास्त गरेको थियो र ? के सचिवालयले विधान नै संशोधन गरेर एकजना सेरेमोनियल अध्यक्ष, अर्को एक्जेक्युटिभ अध्यक्ष चाहिँ हुने व्यवस्था गरेको थियो र ?

२२. आज पनि मेरो प्रश्न छ कमिटीमा खुल्ला खुलस्त छलफल गरेर निष्कर्षमा पुगिने ठाउँ हुँदाहुँदै, नेतालाई निश्चित मान्यतामा ‘खः’ गराएर मात्रै बैठकमा आउनुपर्ने यस्तो अविश्वास एवम् दाउपेचको आवश्यकता किन पर्यो ? २३. प्रधानमन्त्री बनाउने, तर उसले विश्वास गरेको टिम छनोट गर्न नपाउने, उपयुक्त ठाउँमा नियुक्ति गर्न समेत पनि नपाउने, मन्त्रीलाई उसले होइन अरु कसैले चलाउने, उसका हातखुट्टा चारैतिर बाँधिने, तर परिणाम भने उसैले दिनु पर्ने, जवाफदेही पनि उही हुनु पर्ने ? हामी यो कस्तो खालको प्रणाली बसाउन खोजिरहेका छौँ ? कस्तो खालको लोकतन्त्र हामी अवलम्बन गर्न खोजिरहेका छौँ ?

२४. मेरो भागमा परेको सरकार सञ्चालन सम्बन्धी सबै कामको जस/अपजसको जिम्मा मै लिन्छु। तर के कमरेडले आफ्नो भागमा परेको कामको लेखा जोखा कहिल्यै गर्नु भएको छ ? २५. कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको लागि जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको काममा प्रगति कति गर्नु भयो ?

२६. पछिल्लो चोटि समेत १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम अहिले कहाँ पुग्यो ? सचिवालय बैठकमा १० दिनभित्रका यस सम्बन्धि लिखित प्रस्ताव ल्याउँछु भन्नु भएको प्रस्ताव तयार भयो ? सोको रोडम्याप के कस्तो बन्यो ? २७. मेरा कारणले हुन नसकेको भए, तपाईंले गर्नु भएको ‘गृहकार्य’मा के के मा र कहाँ मेरो अवरोध रह्यो ?

२८. महाधिवेशनको तयारी गर्नको लागि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न के के गृह कार्य गर्नुभयो ? र, त्यसमा मसँग तपाईंले के सहयोग माग्नु भयो ? या मैले कहीँ बाधा अवरोध पो पुर्याएँ कि ? २९. पार्टी एकता भएको साढे दुई वर्षपछि पनि तपाईंले बोकेर हिँडेको यो कस्तो ‘पूर्व’ मान्यता हो ? नेकपा एक पार्टी हो कि संयुक्त मोर्चा ? अब पनि यही ‘पूर्व’ मान्यता बोकेर हामी कहाँ पुग्छौँ ? ३०. चार महिनापछि हुने पार्टी महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तन गर्ने चलखेल किन ? के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ? ३१. के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? ३२. चार महिनापछि हुने पार्टी महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौँ ? यदि हो भने हामीसँग लाखौँ कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ? ३३. म यही दस्ताबेजलाई मेरो अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?

३४. यदि यी आरोप सत्य हुन् भने, यति धेरै ‘गंभीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ ? ३५. क्रान्ति सम्पन्न भएको हो भने दलाल पुँजीवादी व्यवस्था स्थापना गर्ने यो कस्तो क्रान्ति हो ? ३६. सबै कुरा बजारको जिम्मा छाडिदिने, ठूला पुँजीपतिको संरक्षण गर्दै जनताप्रतिको सबैखाले जिम्मेवारी र सामाजिक उत्तरदायित्वबाट राज्य पञ्छिने, चरम व्यक्तिवादलाई प्रोत्साहन गर्ने नवउदारवाद र हामीले लिइरहेका यो बाटो कहाँनिर भेट हुन्छ ? के यी सबै काम ‘नवउदारवादी’ र ‘दलाल पुँजीवादी’ राज्यसत्ता अन्तरगत संभव छ ? यी विषयहरु हाम्रो राजनीतिक कार्यक्रम र घोषणापत्रको मार्गदर्शनमा गरिएका र तिनको कार्यान्वयनको दिशामा अगाडि बढेका विषय होइनन् ?

३७. ‘परम्परागत संसदीय गणतन्त्र’ भनेर के भन्न खोज्नु भएको हो ? ३८. अर्थतन्त्रमा अपारदर्शी, स्रोत नखुलेको र अवैध ढङ्गले आर्जन गरेको सम्पत्तिमार्फत् कारोबार गर्ने प्रवृत्ति अन्त्य भइसकेको छैन । सोर्सफोर्सका आधारमा जबर्जस्ती ठेक्का ओगट्ने र समयमा गुणस्तरीय काम नगरेर राज्यलाई हानी पुर्याउने प्रवृत्ति अझै विद्यमान छ । कर छल्ने, जनताबाट असुलिएको भ्याट छलछाम गरेर फिर्ता लिने, भन्सारमा न्यून विजकीकरणमार्फत् ठगी गर्ने विकृति समाप्त भएको छैन । कहीँकहीँ तस्करी र कालोबजारी पनि छ । यस्तै प्रवृत्तिलाई ‘दलाल पुँजीवाद’ भनिएको हो भने वादविवाद गर्नु पर्ने कुनै कारण छैन । तर यस विरुद्ध हाम्रो लडाइँको विधि के हो ? संविधान अन्तर्गत, जनताको अभिमतबाट बनेको सरकारले यस्ता विकृतिलाई कसरी नियन्त्रण गर्छ ? ३९. कोभिड-१९ सँग लड्ने क्रममा सरकारले क्वारेन्टिन, परिक्षण, आइसोलेशन र उपचार लगायतका सबै प्रक्रिया निशुल्क गर्दै आएको छ। विचार गरौँ- हाम्रो जस्तो सीमित साधनस्रोत भएका कुनकुन मुलुकहरुले यति महत्त्वपूर्ण जिम्मेवारी काँधमा बोकेका छन् ? यी सबै विषय जनताप्रति उत्तरदायी शासन व्यवस्थाका परिचायक होइनन् र ?

४०. बालुवाटारस्थित बहुचर्चित ललिता निवासको १३६ रोपनी जग्गाको जालसाजीविरुद्ध मैले छानविन समिति बनाएँ । समितिको प्रतिवेदन अनुसार कारवाहीका लागि अख्तियारमा पठाएँ र आज कारवाही प्रक्रिया अगाडि बढेको छ। पूर्वाग्रहबाट प्रेरित तपाईँको ध्यान यी उपलब्धितिर किन गइरहेको छैन ? ४१. वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियो ? ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदाको सत्तामा थियो ? ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो ? सबै स्पष्ट छैन र ?

४२. विगतमा सस्तो मूल्यमा लिजमा दिइएका सम्पत्तिहरुलाई व्यवस्थित मूल्याङ्कन गराएर पारदर्शी ढङ्गले लिजमा दिने प्रक्रिया अगाडि बढाइएको छ। यस सम्बन्धी श्वेतपत्र नै बनाएर सार्वजनिक गरिएको छ। राज्यकोषमा करोडौं आम्दानी थपिने यस्ता विषयमा तपाईंको असन्तुष्टि कतै तपाईं निकट कुनै व्यापारिक घरानाको स्वार्थ पूरा नहुँदाको चिन्ता त होइन ? ४३. मैले त विगतमा भएका विभिन्न अपचलनहरुको उत्खनन गर्ने, दोषीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउने र विगतमा फोहोर गरिएको स्थितिलाई सुधार्ने काम गरेको हुँ । सम्झौता गर्नेहरुलाई चोख्याउने र त्यसको उत्खनन गरेर कार्बाहीको दायरामा ल्याउनेलाई चााहिँ दोषी बनाउने ? ४४. नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ। म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र ? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?

४५. विश्व आर्थिक मञ्चजस्ता स्थानमा नेपाल आमन्त्रित हुन र सुनिन थालेको छ । जलवायु परिवर्तन, समावेशीकरण र दिगो शान्ति स्थापना जस्ता विषयमा नेपाली अनुभव र नेपालले अगाडि सारेका मुद्दाप्रति विश्व समुदायको ध्यानाकर्षण हुन थालेको छ। यी प्रतिनिधिमूलक उपलब्धिहरुलाई वेवास्ता गर्दै विदेश सम्बन्ध खत्तम पारेको आशयको आक्षेप लगाउन कसरी मिल्छ ?

४६. २०७७ भदौ २६ गते सम्पन्न पार्टी स्थायी कमिटीको पाँचौ बैठकले गरेको निर्णयको बुँदा नम्बर १०.५ मा यस सम्बन्धमा भनिएको छ-‘यो बैठक नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधन सहितको ऐतिहासिक निर्णयका लागि सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’ यस निर्णयमा हस्ताक्षर गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई महिनापछि २०७७ कार्तिक २८ गते यस विषयमा मेरो निष्ठामाथि प्रश्न उठाउने, ‘राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको’, ‘विदेश मामला र कुटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै… देशलाई क्षति पुर्‍याएको’ जस्ता आरोप लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये कुन चाहिँ सक्कली र कुन नक्कली हो, म साँच्चै नै कन्फ्युज्ड भएको छु । यसमा मेरो एउटा सानो जिज्ञासाको जवाफ दिनु हुन्थ्यो कि कामरेड ‘प्रचण्ड’ ?

४७. यस अवधिमा तपाईं दुई-दुई चोटी प्रधानमन्त्री बन्नुभयो । लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो ?

४८. ‘केपी ओलीले मित्र राष्ट्रहरूसँगको सम्बन्ध बिगार्‍यो, हामी सपार्छौँ’ भन्दै मलाई नै हटाएर २०७३ साउनमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका तपाईंलाई आफू स्वयंले पहिलोचोटी प्रधानमन्त्री हुँदा कोशीमा आएको बाढीमा सहजीकरण गर्न भनेर अनुमति दिइसकिएको विराटनगरस्थित भारतीय सम्पर्क कार्यालय जस्तो मामुली विषय समाधान गर्न पनि किन गार्‍हो पर्‍यो ?

४९. हामी कुटनीतिक सम्बन्धलाई कसरी अगाडि बढाउँछौँ ? सम्बन्धमा समस्या आएको बेला विभिन्न कुटनीतिक र अन्य च्यानलहरु प्रयोग गर्छौँ कि गर्दैनौँ ? नाकाबन्दी जस्तो कठिन समयमा नेपालले यसो गर्‍यो कि गरेन ? विशेष अवस्थामा राष्ट्राध्यक्ष/सरकार प्रमुखले गैर कुटनीतिक क्षेत्रका प्रतिनिधि पठाउने प्रचलन विश्व राजनीतिमा छ कि छैन ? त्यसरी पठाइने प्रतिनिधिलाई उनको पदीय हैसियत सोधेर भेट्ने नभेट्ने तय गरिन्छ ?

५०. तपाईंले एमसीसी परियोजना बारेमा पनि मलाई आक्षेप लगाउन भ्याउनु भएछ। तपाईंले उल्लेख नगर्नु भएपनि, यथार्थ यही हो- सम्झौतामा तपाईंले नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी-केन्द्र) र काङ्ग्रेसको संयुक्त सरकार हुँदा हस्ताक्षर गरिएको हो । अनि, हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ र जसले हस्ताक्षर गरेको भए पनि, नेपालको तर्फबाट गरिएको हुनाले यसलाई कार्यान्वयन गर्रौँ भनेर अगाडि बढाउन कोशिस गर्ने म चाहिँ कसरी ‘राष्ट्रिय हित विरोधी’ ?

५१. तपाईंले मलाई शान्ति प्रक्रियाका कामहरु नै अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गर्नुभएको रहेछ । म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ । तर यस्ता आरोप सुन्दासुन्दा मलाई कहिलेकाँही दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ?

५२. यस्तो सुनेर द्वन्द्वमा ज्यान गुमाएका, वेपत्ता र घाइते पारिएकाहरुको ‘आत्मा’ ले के भन्दो हो ? छातिमा हात राखेर भन्नुस् त, यो विषय यतिका वर्षसम्म कसले अल्झाइरहेको छ ? अस्ति भर्खर मैले भनेको होइन- कि त यस विषयमा मलाई विश्वास गर्नुस्, म सकारात्मक टुङ्गो लगाउँछु । होइन भने मुख्य सरोकार राख्ने तपाईँ दुई पक्ष (तत्कालीन माओवादी र काङ्ग्रेस) मिलेर जे विकल्प दिनुहुन्छ, म अगाडि बढाउँछु । तपाईंले नै होइन, आयोगमा नाम सिफारिसको प्रबन्ध गरेको ?

५२. तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ?

५३. तपाईँले कुन दस्ताबेजलाई उद्धृत गरेर ‘गणतन्त्र ल्याउन माओवादी जनयुद्धको ‘मुख्य योगदान’ भनेर राजनीतिक प्रतिवेदनमा लेखिएको, तर मैले माओवादी आन्दोलनको योगदान अवमूल्यन गरेको आरोप लगाउनु भयो ?

५४. सधैभरि निराशा र कुण्ठामात्रै बोकी हिँड्ने तर कुनै नेता विशेषको नजिक भएकै कारण उसले नियुक्ति पाउनु पर्छ भन्ने कुरा उचित हुन्छ र ?

५५. मलाई नातावादको निराधार आरोप लगाउनु पूर्व तपाईंले एकचोटी आफैलाई नियालेर हेर्नु भएको भए हुन्थ्यो । तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ?

५६. तपाईंले एकछिन एकान्तमा बसेर, आफैतिर नियालेर हेर्नुस् त, हिँजो कष्टपूर्ण यात्रामा साथ दिएका साथीहरुमाथि साँच्चै न्याय भइरहेको छ ?

५७. सरकार र पार्टी नेतृत्व दुबैबाट मलाई हटाउने म्याराथुनमा कुँदिरहँदा कहिल्यै तपाईंको दिमागमा युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दुखान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनर्स्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ?

५८. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक सङघीय पार्टी होइन, एकीकृत पार्टी हो । कुनै पनि महत्वपूर्ण निर्णय गर्नु पूर्व त्यस कमिटी र त्यसका नेताले केन्द्रसँग परामर्श लिनु पर्दैन ? अनुमति लिनु पर्दैन ? प्रदेशका नेताहरुलाई आफूखुशी चल्ने स्वायत्तता प्राप्त छ ?

५९. मलाई गर्व छ यस अवधिका बारेमा, जतिबेला पार्टीले संविधान निर्माणमा बेलामा अगुवाइ गर्‍यो, सरकार गठन र नाकाबन्दीको विरोध गर्‍यो, सबै जातीय-क्षेत्रीय अतिवादको प्रतिवाद र राष्ट्रिय एकताको सुदृढीकरण गर्‍यो, नेपालको राष्ट्रिय स्वाभिमानको रक्षामा नेतृत्वगर्‍यो, निर्वाचनमा सबैभन्दा ठूलो पार्टीका रुपमा विकास भयो, पार्टी एकीकरण र दुई तिहाइ बहुमतको सरकार निर्माण सम्पन्नगर्‍यो। मैले जीवनभरि समाजमा पनि र पार्टीभित्र पनि लोकतान्त्रिकरणको पैरवी गर्दै आएको छु । मैमाथि ‘व्यक्तिवादी’ आरोप लगाउँदा म खिस्स हाँस्न बाहेक के गर्न सक्छु र ?

६०. कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार गर्नका लागि राजनीतिक दल र राष्ट्रिय जीवनका महत्वपूर्ण महानुभावलाई पटक पटक आमन्त्रण गरी सुझाव लिइएको छ । यस्ता कार्यक्रमहरुमा आफ्नै दलका अध्यक्ष अनुपस्थित हुने तर यस सम्बन्धमा कुनै पनि किसिमको छलफल नै नगराएको भन्ने आरोप लगाउन मिल्छ र ?

६१. विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका अर्थात बाढी पहिरो आदि प्राकृतिक विपत्ती सम्बन्धमा गरिएको कुनैपनि बैठकमा उपस्थित हुन तपाईँको रुची समेत रहेन । अबलम्बन गरिनुपर्ने नीति तथा कार्यान्वयनहरु सम्बन्धमा सल्लाह र परामर्शको लागि यस्तो विषयमा पनि ‘राजनीति गर्ने’ धृष्टता गर्नुभएको कमरेड ?

६२. आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता नै हो । छलकपट र दाउपेच मेरो स्वभाव होइन । म पार्टीभित्रका समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनु पर्ने कमजोर धरातलमा उभिएको छैन । मैले लडाएर लड्ने त्यति कमजोर हुुनुहुन्छ र हाम्रो पार्टीका नेताहरु ?

६३. विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भर्त्सना गर्नुहुन्न ?

६४. समाजमा हिंसा, जुनसुकै आवरणमा किन नहोस्, किमार्थ स्वीकार्य छैन । त्यसलाई सफल हुन दिइने छैन । सरकारको यस्तो स्पष्ट नीतिप्रति तपाईंको द्विविधा किन ?

६५. राष्ट्रिय विखण्डनको प्रयाश छाडेर सिके राउत राजनीतिक मूलधारमा आउने कुरा देशको लागि सकारात्मक होइन ? यो विखण्डनको राजनीतिको पराजय र राष्ट्रिय अखण्डताको जीत होइन ? तर यस्ता प्रश्नलाई विवादित बनाउने काम गर्नुभएको छ, किन ?

६६. मुलुकमा आज पनि जातीय र क्षेत्रीय अतिवादी सोचहरु छन् । सामाजिक सद्भाव बिगार्न खोज्ने प्रवृत्तिहरु छन् । त्यस विरुद्ध तपाईंको स्पष्ट अडान किन देखिँदैन ? किन त्यस्ता प्रवृत्तिलाई बारम्बार प्रोत्साहन गर्ने काम हुन्छ ?

६७. हामी संविधानले देखाएको बाटोमा हिंड्ने छौँ । शान्तिपूर्ण प्रतिष्पर्धाबाट नै श्रेष्ठता स्थापित गर्ने छौँ । तर म तपाईंमा यी विषयमा काफी द्विविधा देख्छु । यो राज्यव्यवस्था, तपाईँको दृष्टिमा सुदृढ गर्नु पर्ने व्यवस्था हो कि बदल्नु पर्ने व्यवस्था ? लोकतन्त्रका निम्ति गरिने आन्दोलनमा भिन्नता हुन्छ कि हुँदैन ?

६८. नेपालको वाह्य सम्बन्धलाई सञ्चालनको आधार के हो- राष्ट्रिय हित, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असङ्लग्नता, पञ्चशीलताका सिद्धान्त कि अन्य केही ?

६९. हामी संसारका कुनै पनि देश हाम्रा शत्रु होइनन्, सबै मित्र हुन्, तर इस्युमा हाम्रा समर्थन र विरोध हुन सक्छ भनेर चल्छौँ कि खास देश या देशहरु निश्चित कित्ताका, निश्चित प्रणालीका हुनाले तिनको स्थायी रुपमा विरोध गर्छौँ ?

७०. हामी देशभित्रका उद्यमी व्यवसायीहरुलाई लगानी गर्नुस्, पारदर्शी ढङ्गले कमाइ गर्नोस् र सबैले तोकिएका कर तिर्नुस्, सरकारले सुरक्षा दिन्छ भनेर आश्वस्त पार्छौ कि मन परेकालाई राष्ट्रिय पुँजीपति भन्दै संरक्षण र मन नपरेकालाई मात्र दलाल पुँजीवादी भन्दै खेदो गर्छौँ ?

७१. हामी साथीहरुलाई उद्यमशीलतातिर प्रोत्साहित गर्छौ कि राज्यकोषमाथि आश्रित बनाउँछौ ?

७२. सरकार हाम्रो हो, तर सत्ता हासिल भएको छैन, तसर्थ ‘राज्यका सम्पूर्ण संरचनालाई गणतान्त्रिक संरचनामा बदल्ने’ भन्दै राज्यका अङ्गहरुमा शङ्काको चिसो पसाउँछौँ कि कानुन सम्मत राज्यको नेतृत्व गर्छौँ ?

७३. पार्टीलाई अब हामीहरु विकास र समृद्धिको संवाहक र अगुवा बनाउँछौँ कि गुटहरुको संयुक्त मोर्चा ?

७४. जनताको जनवाद पदावली प्रयोग गर्ने निर्णय गरेको तथ्यलाई मैले बिर्सेको छैन, नेपालको कम्युनिष्ट आन्दोलनलाई यस उचाइसम्ममा ल्याइपुर्‍याउन यसले खेलेको भूमिकाको सकारात्मक चर्चा गर्दा तपाईंलाई हुने छटपटी र व्यग्रता देखेर म अचम्भित हुन्छु । अब हामी हिंड्ने बाटो कुन हो भन्ने कुरा स्पष्ट हुनु पर्दैन ? नेकपाको पहिचान र बाटोका बारेमा उठेका प्रश्नहरुको सैद्धान्तिक जवाफ दिनु पर्दैन ?

७५. आज हामी एउटै पार्टीका रुपमा छौँ, तर पनि खालि नकारात्मक कुरा मात्रै गर्छौँ । परिणाम ? आज कानुनी हिसाबले पार्टी एक भए पनि भावनात्मक रुपमा विभाजित भएका छौँ। यसलाई अन्त्य गर्ने बेला भएन ?

७६. भनिन्छ, इतिहास दुई चोटी दोहोरिन्छ- पहिलो चोटी दुखान्तका रुपमा, अर्को पल्ट प्रहसनका रुपमा । दुखान्तका रुपमा त इतिहास दोहोरिइनै सकेको छ, के तपाईं अब अर्को प्रहसनको पर्खाइमा हो ?

७८. हाम्रा बैठक र भेटघाटहरुको अधिकांश समय व्यक्तिगत गुनासो, मान-अपमान र कुर्ची व्यवस्थापनमा जान्छ । कुन दिन हामीले एजेण्डा बनाएर अबको दस, बीस या तीस वर्षपछि नेपाललाई कहाँ पुर्याउने भन्ने बारेमा छलफल गरेका छौँ ?

७९. कुन दिन हामीले ‘ल, वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि राम्रो हो, यसलाई दिगो बनाउन यो यो काम गर्नुपर्छ’ भनेर छलफल गरेका छौँ ?

८०. ल, बितेका दुई वर्षमा सरकारले गरेका यी यी काम या उपलव्धि सकारात्मक छन्, अब यसरी अगाडि बढ्नुपर्छ भनेर हौसला, सकारात्मक प्रचार या जनतामा आशा जगाउने काम गरेका छौँ ? या, कोरोना महामारीबाट सिर्जित बहुआयामिक सङ्कटको समाधानका लागि समग्र विषयमा संवेदनशील भएर बहस गरेका छौँ ?

८१. भूकम्पका बेला ५० हजार स्वयंसेवक परिचालन गरेर तीन महिनामा २७ हजार भन्दा बढी घरटहरा बनाउने गरी अभियान चलाउन सक्ने हाम्रो आन्दोलन आज बाढीपहिरो पीडितलाई सहयोग गर्न परिचालित होऊ भनेर कार्यकर्तालाई आह्वान पनि गर्न नसक्ने गरी जड कसरी बन्न पुग्यो ?

८२. छुवाछुत र जातीय विभेदका, महिलामाथि यौनहिंसा र श्रमिकमाथि उत्पीडिन हुँदा हाम्रा कार्यकर्तालाई अग्रपङ्क्तिमा उभिएर जनताको बीचमा पुग्ने गरी परिचालित गर्न के विषयले छेकेको छ ? जनताका यी समस्याहरु हाम्रो बैठकमा किन एजेण्डा बन्दैनन् ? किन यस्ता विषयले हामीलाई पोल्दैन ?

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट