बैशाख १२, २०८१ बुधबार

कोरोना महामारी असर : सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं । कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ ।

सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार ३ सय २३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०२० को ११ महिनामा २ लाख २० हजार १ सय २० पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् ।

सन् २०१९ को नोभेम्बरमा १ लाख ३० हजार ३ सय २ पर्यटक नेपाल भ्रमणमा आएकोमा सन् २०१० मा १ हजार ९ सय ४७ मात्रै आएका छन् । यो संख्या गत वर्षको तुलनामा ९८.५० प्रतिशतले कमी हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गर्दै भव्य उद्घाटन समेत गरेको थियो । तर, महामारी सुरु भएसँगै भ्रमण कार्यक्रम रद्द गरिएको थियो ।

सन् २०२० विश्वभर नै हरेक क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि असर पारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । अव पहिलो चरणमा आन्तरिक पर्यटकबाटै पर्यटनको उत्थान गर्ने सरकारले नीतिगत रूपमै व्यवस्थामा लागेको मन्त्री भट्टराईले जानकारी दिए । ‘भ्याक्सिन आएको खण्डमा सन् २०२१ को मध्यसम्ममा पहिलेकै अवस्थामा फर्कने अनुमान छ,’ मन्त्री भट्टराईले भने

सरकारले १ मंसिरदेखि सबै गतिविधि खुलाएसँगै विदेशी पर्यटक आउने सम्भावना बढेको सिइओ रेग्मीले बताए । गत १ कात्तिकदेखि आंशिक रूपमा विदेशी पर्यटकलाई नेपाल आउन दिइएको थियो । ‘अहिले आइरहेको बुकिङ नै उत्साहप्रद रहेकाले सन् २०२१ मा पर्यटन क्षेत्रमा केही सहजता सुरु हुनेछ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने ।

बढ्दै छन विदेशी पर्यटक, नोभेम्बरमा दैनिक ६४ जना विदेशी पर्यटक
अहिलेको संकेतले सन् २०२१ को सुरुवातदेखि नै केही संख्यामा पर्यटक बढ्ने अनुमान रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी (सिइओ) धनञ्जय रेग्मी बताउँछन् । अक्टोबरमा दैनिक ६२ जना विदेशी पर्यटन नेपाल भ्रमणमा आएकोमा नोभेम्बरमा दैनिक ६४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीकै बीचमा पर्यटकीय सहर ठमेलमा चहलपह बढ्न थालेको छ ।

गत चैत ११ देखि बन्द भएको ठमेलमा आन्तरिक पर्यटकले नै रौनक भर्न थालेका छन् । विदेशी पर्यटकले भरिने ठमेल कोभिड १९ पछि भने आन्तरिक पर्यटकले केही रौनक भर्न थालेको छ । ठमेलका सबैजसो रेस्टुरेन्ट र पसल खुल्न थालेका छन् ।

होटलहरू पनि केही क्षमतामा खुलाउन थालिएको छ । साना होटलहरू अधिकांशले पूरै क्षमतामा चलाउन थालेका छन् । यता रेस्टुरेन्ट, डान्स तथा बारहरू पनि खुल्न थालेका छन् । ठमेलकै सबैभन्दा ठूलो एलओडी समेत बुधबारदेखि खुलेको छ ।

जुन डान्स बारमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारले डान्स गरेपछि चर्चामा आएको थियो । ‘ठमेलमा आन्तरिक पर्यटकले नै चहलपहल बढाएका छन्, बिस्तारै लयमा फर्कदैै छ,’ ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीले भने । ठमेलमा ७ हजार पसल रहेका छन् । त्यस्तै, ६ सय रेस्टुरेन्ट र डान्स तथा बार रहेका छन् । त्यस्तै, सयौँको संख्यामा होटल रहेका छन् । सबैले खुलाएको र व्यापार विस्तारमा लागेको महासचिव अधिकारीले बताए । 

प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]