बैशाख २३, २०८१ आईतबार

कनकाईमा लालपुर्जा दिन तथ्याङक संकलन तीब्र

बिर्तामोड । कनकाई नगरपालिकाले भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेहरुको तथ्याङक संकलन शुरु गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको सम्झौतापछि नगरपालिकाले तीब्र गतिमा काम अघि बढाएको मेयर राजेन्द्र पोखरेलले जानकारी दिए ।

संविधानले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवास गर्ने नेपाली नागरिकलाई स्थायी बसोबासको ग्यारेन्टी गरेको छ । सोहि बमोजिम सरकारले उनीहरुको व्यवस्थापनका लागि देशभर विभिन्न चरणमा लालपुर्जा वितरणको काम अघि बढाएको छ ।

भूमि सम्बन्धी आयोगले कनकाई सहित झापाका ८ वटा स्थानीय तहसँग लालपुर्जा वितरणको लागि सम्झौता गरेको छ । कनकाईले पहिलो चरणमा सम्झौता गरेको थियो ।

सो नगरमा लालपुर्जा वितरणका लागि तथ्याङक संकलन, नक्साङकन र इन्ट्रीको काम हेर्ने गरी रन्जिता कट्टेललाई फोकल पर्सन तोकिएको छ । कट्टेलले नगरले दिएको जिम्मेवारी अनुरुप काम शुरु भइसकेको जानकारी दिइन् ।

फोकल पर्सन कट्टेलले यसअघि नगरपालिकाले भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेहरुको अनुमानित तथ्याङक निकालिसकेको बताइन् । ति तथ्याङको रुजु गरी तथ्य अनुरुप प्रक्रियाहरु अघि बढाइने उनको भनाई छ ।

नगरपालिकाले भाडामा बसोबास गर्ने व्यक्तिहरुको घरधुरी संख्या ३४६, स्कुलको जग्गामा बसोबास गर्नेहरुको घरधुरी संख्या २७८, संस्थाको जग्गामा बसोबास गर्ने घरधुरी संख्या ८० र जग्गा नभएको व्यक्तिहरुको घरधुरी संख्या ४०० सय रहेको सार्वजनिक गरेको छ । अहिले सबै वडामा काम चालु छ, कट्टेलले भनिन् – वडा मार्फत भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई आवेदन मागिएको छ ।

नगर प्रमुख पोखरेलले सरकारले अत्यन्त्यै महत्वपूर्ण काम शुरु गरेकाले सफल बनाउन आफ्नो पालिकाबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार  १० : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]