बैशाख २३, २०८१ आईतबार

बेसहारालाई साहारा दिन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । घरबारविहीन भएकाका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण कार्य शुरु भएको छ । घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा आश्रमका लागि भवन निर्माण शुरु गरिएको हो ।  

मानवसेवा आश्रमको शिलान्यास गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेसहारालाई साहारा दिने कार्यमा सरकारको सदैव सहयोग रहने बताए । उनले देशका विभिन्न स्थानमा यस्ता आश्रमको स्थापना गरी देशलाई सडक मानवमुक्त बनाउनुपर्ने बताए ।

सामाजिक सेवाको भावना राखेर गरिने कुनै पनि कार्यमा सरकारको सहयोग रहने उनले प्रतिबद्धता जनाए । 

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेशलाई सडक मानवमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सेवा नै धर्म हो भन्ने भावना राखेर मानव सेवा आश्रमको कामलाई पूर्णता दिनुपर्ने धारणा राखे । 

मोक्षधाम परिसरभित्र निर्माण हुने प्रस्तावित भवनको लागत करिब रु छ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको भवन निर्माण समितिका अध्यक्ष लोकनाथ भुसालले जानकारी गराए । 

घरबारविहीन भई सडक पेटीमा गुजारा गर्दै आएका व्यक्तिलाई गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको मानव सेवा आश्रमले देशका सातवटै प्रदेशमा २१ वटा शाखामार्फत एक हजार १०० बढी सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै आएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

प्रकाशित मिति : पुष १, २०७७ बुधबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]