बैशाख ११, २०८१ मंगलबार

झापामा ईटा उत्पादन प्रभावित

१५ करोड पिसबाट घटेर ३ करोड मात्रै उत्पादन

बिर्तामोड । मजदुर अभावले झापाका ईटा उधोग सञ्चालनमा आउन सकेका छैनन् । कोरोना महामारीको समयमा घर फर्किएका मजदुरलाई फिर्ता ल्याउन नसक्दा झापाका ८० प्रतिशत ईटा उधोग सञ्चालनमा ल्याउन नसकेको झापा ईटा उधोग संघका अध्यक्ष गुणराज थापाले जानकारी दिए । उनका अनुसार कोभिड–१९ ले ईटा उधोग नराम्रो गरी प्रभावित भएका छन् ।

झापा जिल्लामा २६ वटा ईटा उधोग सञ्चालनमा थिए । महिनौसम्मको लकडाउनले गर्दा मजदुर फिर्ता पठाइएको थियो । जिल्लामा सञ्चालित अधिकांश उधोगमा भारतीय मजदुर कार्यरत थिए । ईटा उधोग संघका अध्यक्ष थापाका अनुसार झापा–मोरङ र सुनसरीका ५ हजार मजदुर कार्यरत थिए ।

कोभिड–१९ का कारण मजदुर फिर्ता ल्याउन नसक्दा उत्पादन पनि ८० प्रतिशत घटेको व्यवसायीहरुले जानकारी दिएका छन् । सोहि कारण झापामा अहिले ईटाको हाहाकार छ । झापामा ईटा नपाए पछि सिराहा , सप्तरीबाट आयात गर्न थालिएको बताइएको छ । जिल्लामा माग अनुसार ईटा दिन सकिएको छैन, थापाले भने – अब त पश्चिममा पनि ईटाको अभाव भइसक्यो । जिल्लामा २६ वटा ईटा उधोगले एक सिजनमा १५ करोड पिस उत्पादन गर्दै आएका थिए । अहिले करिव ३ करोड मात्रै उत्पादन भइरहेको व्यवसायीको भनाई छ ।

कोभिडले बन्द भएका केहि उधोग सञ्चालनको तयारीमा रहेका छन् । केहि उधोगहरुले उत्पादन दर घटाएरै काम गरिहरेको व्यवसायीहरुले जानकारी दिएका छन् । जिल्लामा सञ्चालित उधोगहरुले झापाको माग धान्दै आए पनि अब सबै उधोग सञ्चालन नभएसम्म अभाव उत्तिकै हुने अध्यक्ष थापा बताउँछन् । उनले निजी घरसँगै सरकारले विकास निर्माणलाई तीब्रता दिएकाले माग पनि उत्तिकै बढेको बताए ।

ईटा उधोगहरुले असोजदेखि बैशाखसम्म उत्पादन गर्दै आएका थिए । अहिले मजदुर नहुँदा उधोग नै बन्द भएका छन् । सीमामा सहज आवतजावत नहुँदा मजदुरलाई फिर्ता ल्याउन नसकिएको बताइएको छ । अध्यक्ष थापा भन्छन्, घर फर्किएका भारतीय मजदुर अन्यत्रै काममा लागिसकेकोले फिर्ता बोलाउँदा समेत आएका छैनन् ।

कचनकवल गाउँपालिकामा ४ वटा उधोग सञ्चालनमा छन् । सो पालिकाका अध्यक्ष अन्जर आलम पनि ईटा उधोगी हुन् । उनले नेपाली मजदुर कार्यरत भएकाले अहिले उधोग सञ्चालनमै रहेको जानकारी दिए । कोरोना महामारीका कारण चैतदेखि निरन्तर ४ महिना बन्द भएका उधोगमा उत्पादन दर घटेको जानकारी दिए । आलमका अनुसार सो क्षेत्रमा सञ्चालित उधोगका ४० प्रतिशत उत्पादन घटेको छ ।

हल्दिवारी –१ मा रहेको पुनम ईटा उधोग मजदुर अभावकै कारण बन्द छ । असोजमा भारतीय मजदुर आउने गर्थे, सञ्चालक उमेश डालमिया भन्छन्, ‘ पुस लागिसक्यो अहिलेसम्म मजदुरको अत्तोपत्तो छैन ।’ उनले यो वर्ष उधोग सञ्चालन गर्न नसकिने इजलाससित बताए । कोभिड–१९ का कारण मजदुरको जोखिम व्यहोर्न नसकिने डालमियाको भनाई छ । उनले सञ्चालनमा रहेका उधोगले पनि उत्पादन गर्न नसकेको बताए ।

बिर्तामोडमा निर्माण भइरहेको नगर अस्पतालमा पश्चिमबाट ईटा आयात गरिएको छ । निर्माण कम्पनीका इन्जिनियर अजित ढुङ्गानाले झापाका व्यवसायीले ईटा दिन नसकेकाले पश्चिमबाट आयात गरिएको बताए । उनले पश्चिमबाट आयात गरिएको ईटा प्रयोय गर्न योग्य नभएको प्रतिक्रिया दिएका छन् । सो अस्पतालमा प्रयोग गर्न ल्याइएको ईटा गुणस्तरहीन भएको अनुगमन समितिको ठहर छ ।

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]