जेष्ठ ५, २०८१ शनिबार

अब मोबाइलबाटै तरकारी

काठमाडौँ । कोरोना सङ्क्रमणयता बढ्दो क्रममा रहेको डिजिटल कारोबार तरकारी बजारमा पनि प्रवेश गरेको छ । शुक्रबारदेखि काठमाडौँको नक्सालको तरकारी बजारमा शुक्रबारदेखि डिजिटल कारोबार क्यूआर पेमेन्टबाट तरकारी खरिद गर्न सकिने गरी यसको सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार तरकारी बजारमै पुगेर क्यूआर पेमेन्टमार्फत एक किलो अदुवा खरिद गर्दै डिजिटल कारोबारको सुरुवात गर्नुभयो । सानिमा बैङ्कको सक्रियतामा नक्साल तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुवात भएको हो । तरकारी बजारमा इन्टरनेट सेवा प्रदायक भायानेटले निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ ।
सो अवसरमा गभर्नर अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने भन्दै पछिल्लो समय क्यूआर कोडमार्फतको भुक्तानी मासिक रूपमा ३० प्रतिशतले बढेको बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछि नगदरहित अर्थतन्त्रको आवश्यकता रहेकाले उहाँले कालीमाटी फलफूल तथा तरकारी बजार, बल्खुजस्ता ठूला तरकारी बजारमा पनि छिट्टै नगदरहित कारोबार क्यूआर कोडको सुरुवात गरिने बताउनुभयो । सामाजिक र आर्थिक रूपान्तरणमा क्यासलेस कारोबार र प्रविधिमैत्री विद्युतीय कारोबार विकास र विस्तारमा सरकार र राष्ट्र बैङ्कले विभिन्न योजना तथा कार्यक्रम बनाएर अगाडि बढिरहेको उहाँको भनाइ थियो ।

बैङ्कर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैङ्कका अध्यक्ष भुवन दाहालले क्यासलेस कारोबारले बैङ्कहरूको खर्चसमेत घटाउने हुँदा बैङ्कहरू यसको प्रोत्साहनमा सदैव सकारात्मक हुने बताउनुभयो । साथै सुरक्षित र भरपर्दो भएका कारण पनि ग्राहकले डिजिटल कारोबार नै रोज्न उहाँको जोड थियो । राष्ट्र बैङ्कको अभियान सफल बनाउन सहयोग गर्ने सबै बैङ्क हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो ।

नक्साल फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष विष्णु सापकोटाले पैसा हातले छुन नपर्ने प्रविधिमा हामी कसरी जोडिने भनेर यो सेवा सञ्चालनमा ल्याइएको भन्दै यस्तो प्रविधिलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : पुष ११, २०७७ शनिबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]