कनकाई घाटमा पानी अभाव
कनकाई । कनकाई नदिमा रहेको शव जलाउने घाटमा पानीको अभाव भएको छ । शवदाह स्थल नजिकै कनकाई नदिको पानी हुँदा सहज हुने गरेको थियो । केहि दिनदेखि घाट तर्फ बगेर आउने पानी सुकेको छ ।
दैनिक ४/५ जनाको शव जलाइने कनकाई नदिमा भुँइ भाग तर्फ पानी नहुँदा सरसफाईमा समस्या भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । शव जलाउने माथिल्लो भागमा मोटरको सहयोग लिए पनि बगेर जाने ठाउँमा पानी नभएको बताइएको छ । अधिकांश शव जलाई सकेपछि नदिमा बगाउने गरिएको छ ।

घाट तर्फ नदिको माथिल्लो भागबाट पानी ल्याउन सानो कुलो नै बनाउने गरिएको थियो । पछिल्लो केहि दिनदेखि पानी सुकेपछि शव व्यवस्थापनमा समस्या भइरहेको कनकाई घाट संस्थाका प्रमुख ख्याम शिवाकोटीले जानकारी दिए ।
त्यसको व्यवस्थापन हेर्दै आएका उनले कनकाई नहरले सिँचाईका लागि पानी लैजाँदा समस्या हुने गरेको बताए । पानी नहुँदा शव लिएर आउने परिवारलाई हदैसम्म समस्या हुने गरेको उनको भनाई छ । शव लिएर शुरुआतमा कनकाई नदिमा आएपछि मृतकका परिवारले केहि वेर किनार क्षेत्रमा राख्ने गरेका छन् । शवमा आगो दिए पछि हात धुन समेत नदिको पानी आवश्यक पर्छ, शिवाकोटीले भने । उनले खोलाको सँधै भर नहुने बताएका छन् ।
हिउँदमा असाध्यै दुःख हुने गरेको सुनाए । उनले पानीको सहज व्यवस्थापनका लागि बोरिङ जरुरी भएको बताए । कुनबेला नहरमा पानी तानिन्छ थाहा हुदैन, त्यै बेला घाट पट्टि आउने पानी सुकिहाल्छ – शिवाकोटीले थपे ।
नदिको बिच भागबाट पानी बगिरहेको छ । पश्चिम तर्फमा रहेको घाटमा पनि पानीको उस्तै समस्या छ । दुवै किनारामा घाट रहेकाले छेउछेउबाट बग्ने पानी नहरले तान्ने गरेको छ । पानी समस्याका कारण केहि परिवारले घाटमा नजलाई खोला तिर नै लैजाने गरेका छन् ।