जेष्ठ ५, २०८१ शनिबार

३८ सय झापालीलाई स्वरोजगार कोषको सहुलियत कर्जा

झापा । झापाका छ वटा सहकारीले बुधबार स्वरोजगार बन्न चहानेहरुलाई २ लाखसम्म कर्जा वितरण गरेका छन् । एक कार्यक्रमको आयोजना गरि स्वरोजगार कोषले सहकारी मार्फत कर्जा वितरण गरेको हो ।

वर्गीय हिसावले कमजोर रहेका परिवारलाई सहुलियत कर्जा दिने स्वरोजगार कोषको कार्यक्रम अन्तर्गत सहकारीले चेक हस्तान्तरण गरेको हो । जुनतारा कृषि सहकारी मेचीनगर, सेतो गुँरास कृषि सहकारी, जनशक्ति बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था कनकाई, श्रद्धा कृषि सहकारी अर्जुनधारा र बज्रयोगी बचत तथा ऋण सहकारी कचनकवलले चेक हस्तान्तरण गरेको छ । बिर्तामोड नगरपालिकामा आयोजित कार्यक्रममा कोषले उपलब्ध गराएको कर्जाको सहि सदुपयोग गर्न आग्रह गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सहकारी मार्फत ८ प्रतिशत व्याजदरमा कर्जा दिएको छ । उद्यमशिलताका लागि उपलब्ध गराइएको कर्जा समयमै फिर्ता गरेमा ६० प्रतिशत व्याज फिर्ता हुने कोषका झापा प्रतिनिधि सन्तोष सापकोटाले जानकारी दिए । उनले सहकारीलाई कोषले ४ प्रतिशतमा लगानी गर्न बजेट दिएको बताए ।

१८ देखि ५० वर्ष उमेर समूहका स्वरोजगार बन्न चहाने व्यक्तिलाई कोषले लगानी पछि कडा अनुगमन गर्दै आएको बताइएको छ । सहकारी मार्फत कर्जा लिन सहज भए पनि यसको अनुगमनलाई कडाई गरिने सापकोटाको भनाई छ ।
झापामा ०६९ देखि सरकारले स्वरोजगार कोषको लगानी गर्न थालेको छ । हालसम्म ३८ सय २९ जनालाई कोषले लगानी गरेको कोषमा झापा प्रतिनिधि सापकोटाले बताए । उनका अनुसार जिल्लामा ९८ सहकारी मार्फत ५९ करोड ७९ लाख लगानी गरिएको छ । झापाका १५ वटै पालिकामा सञ्चालित सहकारीमा उक्त कार्यक्रम सञ्चालनमा रहेको छ ।

ठुलो बजेट नचाहिने

कोषका कार्यकारी उपाध्यक्ष डा.देवराज रोक्का (कल्याण) ले उद्यमी बन्नलाई ठुलो बजेट नचाहिने बताएका छन् । उनले उद्यमी बन्न इच्छाशक्ति पहिलो र महत्वपूर्ण भएको बताए । कोषले दिने १/२ लाख सानो बजेट भन्ने गरिएको छ, रोक्काले भने – बजेट सानो भएर केहि फरक पर्दैन । काम चाँही गर्नुपर्छ । उनका अनुसार कामलाई सम्मान गर्नेहरु सहजै उद्यमी बन्न सक्छन् । एक फरक प्रसंगमा उनले भने, डाक्टर पाइलट बन्न भन्दा उद्यमी बन्न गाह्रो छ ।

चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद् एकराज कार्कीले सरकारले केहि नगरेको भन्ने आरोप गलत भएको जिकिर गरेका छन् । उनले सहभागीलाई सहुलियत व्याजमा कर्जा दिने पनि केपी ओली सरकार भएको बताए । सांसद् कार्कीले तीन वर्षअघिको आफ्नै गाउँ र अहिलेको गाउँ दाँजेर हेर्न आग्रह गरेको छन् । कार्कीले त्यसपछि मात्रै सरकारको टिप्पणी गर्न मिल्ने बताए । उनले कम्तिमा पाँच लाखसम्म कर्जा दिए उद्यम गर्न सहज हुने सम्बोधनका क्रममा भनेका छन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कर्जा रकम बढाउन आग्रह गरेका छन् । उनले स्वरोजगार कोषको सहयोगले उद्यमशिलता विकास गर्न सहज भएको बताए ।

प्रकाशित मिति : पुष १६, २०७७ बिहीबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]