बैशाख १२, २०८१ बुधबार

डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता

विर्तामोड । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गर्नु भएको छ ।


२०७७ माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गर्नु भएको हो । नेपाल सरकारको सहसचिव समेत रहनु भएका विमलीले आमा टीकादेवी विमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गर्नु भएको महान्यायाधिवक्ता खरेलले जानकारी दिनुभयो ।

माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा केशवप्रसाद विमलीले दिनु भएको निवेदनमा भनिएको छ, ‘बादी टीकादेवी विमली र विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं भएको मुद्धामा सम्मानित सर्वोच्च अदालतले २०६६ फागुन ९ मा भएको फैसला अनुसार जिल्ला झापा अनारमनी गाविस वडा नम्वर ५ कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५ कित्ता जग्गाहरु जग्गाधनी अनारमनी दुर्गा स्थान राजगुठीका नाउँमा रहेको जग्गामा मोही टीकादेवी विमली कायम गर्ने भनी भएको फैसला बंमोजिम दाखिल दर्ता भै मोही कायम हुन आउने माथि उल्लेखित जग्गाहरुको हकमा म निवेदक केशवप्रसाद विमलीले दर्ता नम्वर २५३९३ मिति २०६७ जेठ २ मा माग निवेदनमा म निवेदकको आमा टीकादेवी विमलीको मिति २०६२ बैशाख २५ मा मृत्यु भएको हुँदा मेरो नाम कायम गरी पाउन निवेदन पेश गरेको भए तापनि उक्त जग्गामा कायम हुन आउने मोही भएकाले माथि उल्लेखित कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५ को जग्गा क्रमशः १ विगाहा २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गाहरुबाट प्राप्त हुने जग्गाहरुको हकमा म निवेदकले उक्त जग्गाहरु अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला दर्ता गरी दिने गरी म मोहीको हक लाग्ने जग्गा गुठी संस्थानलाई हक प्रदान गर्न समहत भएको छु ।’

निवेदक विमलीले आमाको आफु एक मात्र हकदार भएकाले मोही लगत कट्टा समेत गरी दिनु हुन उल्लेख गर्नु भएको छ । विमलीको निवेदनपछि विर्तामोड ३ मा रहेको डोमालाल राजवंशी रंगशाला भएको जग्गा गुठीकै नाममा फिर्ता भएको छ । अब कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा रहेको छ ।

विर्तामोड ३ को गुठीका नाममा रहेको जग्गा फिर्ता ल्याएको प्रसंगमा रेडियो भिजनसँग कुराकानी गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भन्नुभयो, ‘राज्यको सम्पत्ति व्यक्तिको नाममा भएको थियो । त्यसलाई राज्यकै मातहत ल्याउन आवश्यक थियो । स्थानीय बासिन्दाको सहयोगमा यो काम सम्पन्न भएको हो ।’ उहाँले बाँकी १५ कठ्ठा जग्गा पनि फिर्ता ल्याउन पहल गर्ने बताउनु भएको छ ।

गुठीको जग्गा व्यक्तिको नाममा कसरी पुग्यो ?

पूर्वी नेपालको व्यस्त वजार विर्तामोडबाट २ किलोमिटर दक्षिणमा करिव १३ विगाहा गुठीको जग्गा छ । त्यसलाई भु–माफियाले आफ्नो बनाउने अभियानमा रहेका थिए । त्यसलाई पुनः सरकारको स्वामित्वमा फिर्ता गराइएको छ ।

सो जग्गा फिर्ता गराउनका लागि सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फरक–फरक मितिमा छुट्टा छुट्टै निवेदन परेको थियो । डोमालाल राजवंशी रंगशाला बनाउन प्रस्तावित हाल हरेक वर्ष झापा गोल्डकप भइरहेको जग्गा फिर्ता गराउनु पर्ने स्थानीयको माग थियो ।

देवी गुठीका लागि डोमालाल राजवंशीले दिएको लगभग १३ विगाहा जग्गा देशभरका भुमाफियाको चंगुलमा पुगेको थियो । अहिले डोमालाल राजवंशी रंगशाला बनाउने भनेर केही स्थानीयले निरन्तर फुटबल सञ्चालन गर्दै आएका छन् । तर, त्यहाँको करिव चार विगाहा जग्गा भुमाफियाले आफ्नो नाममा पास गरिसकेका थिए ।

अनारमनीको डोमालाल रङ्गशालालाई आफ्नो निजी सम्पत्ती बनाउने भू–माफिया को–को हुन् र कसरी हडप्ने प्रपाच मिलाए भन्ने अहिलेको पुस्ता कमै जानकार छ । अनारमनी दुर्गा मन्दिरको नाममा रहेको हालको डोमालाल रंगशालाको जग्गामा २०५२–२०५३ सालदेखि नै भू–माफियाको गिद्देदृष्टि पर्यो । सर्वप्रथम त उनीहरुले मन्दिरको जग्गा राजगुठीमा लाने निर्णय गरे । यो कामका मुख्य मतियार थिए तत्कालीन देवी गुठीका अध्यक्ष खेम मैनाली र गणेश ओली । उनीहरुले गुठीलाई राजगुठीमा लाने निर्णय गरे । जग्गा राजगुठीमा लाने र मोही हक किन्ने उनीहरुको योजना थियो । राजगुठीको सतप्रतिसत जग्गा मोहीले प्राप्त गर्ने कानुनी व्यवस्था थियो ।
त्यो योजनालाई गुठी संस्थानका तत्कालिन कर्मचारी हाल पनि नेपाल सरकारका सह–सचिव केशवप्रसाद विमलीसहितको सहयोग थियो । विमलीलाई तत्कालीन प्रभावशाली नेता सीपी मैनालीको साथ रहेको तथ्य जग्गा बचाउन आन्दोलन गरेका तत्कालिन अनारमनी गाउँ विकास समितिका उपाध्यक्ष लोकबन्धु कन्दङवाले बताउनु भएको छ । मैनाली र विमली लगायतको समूहले सूर्यकुमार विमली, टीकादेवी विमली र रमेश महर्जनको नाममा मोही खरिद गराए ।
रंगशालाको कित्ता नम्वर १२० को एक विगाहा दुई कठ्ठा १० धुर, ८२२ को ६ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५ को ७ कठ्ठा टीकादेवी विमलीको नाममा दर्ता गराएका थिए । कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा खरिद गरिसकेपछि मात्र स्थानीयबासीले थाहा पाए, देवी मन्दिरको जग्गा भू–माफियाको कब्जामा जाँदैछ भनेर । उनीहरुले २०५४ सालमा सूर्य मगर र शान्तिदेवी खड्काका नामबाट मोही खरिद गरी जग्गा लिएको मालपोत कार्यालयको स्रेस्तामा उल्लेख छ । सूर्य मगर र शान्तिदेवी खड्का पनि नक्कली मोही रहेको विभिन्न तथ्यले पुष्टि गरेको छ ।

तत्कालीन देवी गुठीका खेम मैनाली र गणेश ओलीले गुठीलाई राजगुठीमा लाने निर्णय गरी श्रेष्ठ र विमलीहरुसंग मिलेर जालझेल गरेका थिए । स्थानीयबासीले सो थाहा पाएपछि लोकबन्धु कन्दङ्वाको संयोजकत्वमा आन्दोलन समिति र खगेन्द्र प्रसाईंको नेतृत्वमा संरक्षण समिति बनाएका थिए । आन्दोलनपछि श्रेष्ठ र विमलीहरु मोही नभएको र अख्तियारको दुरुपयोग गरेको भन्दै पहिले डोमालाल राजवंशीले मन्दिरलाई दान दिएको जग्गामा भू–माफियाले चलखेल गरेको ठहर गरी मालपोतले मोही रद्द गरेको थियो ।

माफियाहरुले शुरुमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यहाँ उनीहरुले जितेपछि संरक्षण समितिले मुद्दा पुनरावेदन अदालत पाटन पुर्याएको थियो । पुनरावेदन अदालत पाटनले भू–माफियाको षडयन्त्र थाहा पायो । र, जनताको पक्षमा फैसला गर्यो । त्यसपछि उनीहरु सर्वोच्च पुगेका रहेछन् । तर, संरक्षण समितिका अध्यक्ष नेकपा मालेका तत्कालिन पोलिटब्यूरो सदस्य समेत रहेका खगेन्द्र प्रसाईंले थाहै पाएनन् वा थाहा पाएर पनि कसैलाई जानकारी दिएनन् ।
एकै पटक जिल्ला मालपोत कार्यालयबाट मोही कायम भएको जानकारी पाउँदा अनारमनीबासी जिल्ल परे । पछि बुझ्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय गौरी ढकाल र राजेन्द्रप्रसाद कोइरालाको इजलासले २०६६ फागुन ९ गते नै अनारमनी दुर्गास्थान राजगुठीको नाममा रहेको जग्गा भन्दै सूर्यकुमार विमली, टीकादेवी विमली र रमेश महर्जनको नाममा मोही कायम गराउन फैसला गरेको रहेछ । अदालतको मुद्दा शाखाले मालपोत कार्यालय झापालाई फैसलाको तीन महिनापछि अर्थात् २०६७ वैशाख ३० गते मोही कायम गरिदिन पत्राचार गरेछ । मालपोतले त्यसको तीन महिनापछि मात्र तत्कालिन गाउँ विकास समितिलाई पत्राचार गरेको तथ्यांक छ ।
यो पत्राचारको श्रृंखलालाई नै षडयन्त्र मान्न सकिने आधार छन् । किन यस्तो ढिलो भयो ? पुनरावेदनमा मुद्दा लड्ने खगेन्द्र प्रसाईंले सर्वोच्चमा मुद्दा पुगेको किन थाहा पाएनन् ?
सो फैसला भन्दा दुई वर्षअघि नै सर्वोच्चले मोही खरिद–विक्री नहुने फैसला गरेको थियो । पछि मोही खरिद–विक्री नहुने भए पनि मोही कायम भए फैसला फेरिएको अवस्थामा करोडौं कमिने भएकाले भू–माफिया लागि रहेका हुन् । अहिले रंगशाला आसपासको जग्गा प्रति कठ्ठा ३० लाख रुपैयाँमा खरिदविक्री भइरहेको छ । जम्मा मन्दिरको जग्गा १२ विगाहा १७ कठ्ठा छ । यो धन देखेपछि तीन नेत्र भएको अवस्था थियो ।

मुद्दा फैसला गर्ने न्यायाधीश राजेन्द्रप्रसाद कोइराला भद्रपुर–१५ का मान्छे हुन् । उनलाई यस्तो मुद्दाबारे जान्न के कठिनाई थियो ? मुद्धाको फैसला गरेको केही समयपछि कोइराला रिटायर भए । कतै त्यही कारण पत्राचारका लागि ढिलाइ भएको त होइन ? भन्ने सवाल उठेको थियो ।

पछिल्लो समयमा के हुँदै थियो ?

विर्तामोड नगरका उपमेयर पवित्रा महतारा प्रसाईं त्यो जग्गा फिर्ता गराएर रंगशाला बनाउनु पर्छ भनेर लाग्नु भएको थियो । उहाँले २०७६ भदौ ६ गते एउटा समिति पनि बनाउनुभयो । तर, त्यो समितिले काम अगाडि बढाएन । र, केही पार्टीका गनेचुनेका मान्छै नै यो जग्गा खरिद गरी भू–माफियालाई पैसा दिनु पर्छ भनेर लागेको अवस्था थियो । विर्तामोड नगरपालिकाले गठन गरेको समितिको बैठक एक पटक पनि बसेन । समितिले एक महिना भित्र काम सम्पन्न गर्ने निर्णय भएको थियो ।

नगरपालिकाका तर्फबाट काम नभएपछि झापा ११ फुटबल क्लवले रंगशाला निर्माण गर्ने विषयमा गर्न सकिने कामका बारे २०७६ फागुन ६ गते निवेदन दियो । तर, नगर कार्यपालिको बैठकमा समेत त्यो निवेदनले प्रवेश पाएन ।

कसरी प्राप्त भयो सफलता

२०७६ माघ २६ गते सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोगले डोमालाल राजवंशी रंगशाला रहेको जग्गा सहित झापाका सरकारी जग्गाबारे जिल्ला समन्वय समितिको हलमा छलफल कार्यक्रम गरेको थियो । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले डोमालाल राजवंशी रंगशाला रहेको जग्गाका विषयमा गर्न सकिने काम बारे जानकारी दिनुभयो । उहाँले दिनु भएको सुझाव अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिने काम भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारी आफैंले निवेदकसँग समन्वय गरी आवश्यक कार्वाही अगाडि बढाउन सुरु गर्नुभयो । अहिले अख्तियारका सचिवको तदरुकता र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलकदमीमा डोमालाल रंगशालाको व्यक्तिको नाममा गएको २ विगाहा ८ कठ्ठा १८ धुर जग्गाको स्वामित्व गुठीमै कायम भएको छ । अब १५ कठ्ठा जग्गा फिर्ता हुन बाँकी रहेको छ । महान्यायाधिवक्ता खरेलले १५ कठ्ठा पनि फिर्ता ल्याउने पहल भइरहेको बताउनु भएको छ ।

यो जग्गा कुनै हालतमा फिर्ता हुँदैन, मुआब्जा दिएर लिनु पर्छ भन्ने ‘केही कथित अगुवा’ले बुझ्ने विषय भनेको ‘नीतिले केही खराव हुँदैन, नियतले खराव हुने हो ।’

अख्तियारमा पेस गरेको निवेदन (जस्ताको तस्तै)

श्रीमान् सचिवज्यु
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

                                                                                     मिति : २०७७ भदौ ३१ गते
काठमाडौं ।

विषय : आवश्यक कार्वाही गरी पाउँ ।

महोदय,
प्रस्तुत विषयमा झापाको विर्तामोड नगरपालिका वडा नम्वर ३ मा डोमालाल राजवंशी रंगशाला रहेको यहाँलाई अवगत गराउन चाहन्छु । सो ठाउँमा करिव १३ विगाहा स्थानीय मन्दिरका नाममा गुठी जग्गा अर्थात् सार्वजनिक सम्पत्ती भए पनि विभिन्न व्यक्तिले विभिन्न नक्कली कागजात निर्माण गरी मोही कायम गराउने, निजी गुठीलाई राजगुठीमा लाने र खरिदविक्री गर्ने काम गरेकाले सो काममा अख्तियारको दुरुपयोग गर्नेहरुलाई हदैसम्मको कार्वाहीको माग गर्दछु ।

सो जग्गाको फिल्ड बुकमा निम्न विषय रहेको यहाँलाई अवगत गराउन चाहन्छु ।

झापा जिल्ला अनारमनी वडा नं. ५ कि.न. १२० क्षेत्रफल १–२–१ को ज.ध. अनारमनी दुर्गा राधा कृष्ण गुठी र किसानको व्यहोरा यो जग्गा राधाकृष्णको गुठी पदम बहादुरले इट्टा बनाइ आएको ठिक छ भनि सहि गर्ने वडा अध्यक्ष पदमलाल ।
ऐ.ऐ. कि.न.११८ को क्षेत्रफल ३–३–१५ को ज.ध. अनारमनी दुर्गा स्थान गुठी (कि.न. ११८ बदर भै कि.न. ८१८ कायम) किसानको व्यहोरामा यो जग्गा अनारमनी दुर्गा स्थानको नाउको गुठी हो अधियामा जोती आएको छु ।
ऐ.ऐ. कि.न. १२१ को क्षेत्रफल २–१०–० को ज.ध. अनारमनी दुर्गा स्थान गुठी (कि.न. १२१ बदर हुँदै कि.न. ८१२, ८२२, ८२०, ८२५ कायम) किसानको व्यहोरामा यो जग्गा अनारमनी गुठी स्थान नाउको गुठी हो मैले अधीयामा जोती आएको छु ।
फिल्डबुक व्यहोराबाट कि.न. १२० को जग्गा मोही नभएको कि.न. ११८ मा मोही वृखबहादुर र कि.न. १२१ मा मोही झकल बहादुर खडका देखिन्छ ।

अनारमनी दुर्गा गुठी स्थान अनारमनी झापाको नाउको जग्गा धनी स्रेस्ताबाट ।

गुठी संस्थान केन्द्रित कार्यालयको च.न. ४११८ मिति २०५४।११।५ को पत्र र यस कार्यालयको मिति २०५४।११।८ को सदर निर्णय आदेश अनुसार कि.न. १३०, ७०१, ८१९ को मोही सूर्यबहादुर मगर कि.न. ८२०, ८२७ को मोही शान्ति देवी खड्का कि.न. ८१२ मोही सूर्यकुमार विमली कि.न. १२२, ८२० मोही रमेश महर्जन कि.न. ८१५, १२०, ८२२, ८२५ मोही टिकादेवी विमली कि.न. ८१८ मोही भिमप्रसाद दाहाल कि.न. ८१७ को मोही रोहित कुमार रिजाल कि.न.८२४ मोही यादव कुमारी तिम्सीना र कि.न. ८२६ मोही श्याम कुमारी विष्टबाट खारेज भई सावकै कि.न. ११८, ११९, १२१, १२३, १३०, १२० र ७०१ कायम गरी मोही र ज.ध. साविकै स्रेस्ता बमोजिम अनारमनी दुर्गा गुठीस्थान कायम भन्ने समेत व्यहोरा उल्लेख भएबाट उक्त जग्गाहरुको साविकमा मोही र ज.ध. दुवै अनारमनी दुर्गा गुठी स्थान रहेको प्रष्ट हुन्छ ।

साविक कि.न. १२० को जग्गामा मोही इट्टा भट्टा उल्लेख भएकोमा शन्ती देवी को नाउमा कसरी कायम हुन गएको हो सो कुराको कानूनी आधार देखिँदैन ।

साविक कि.न. ११८ बदर भै कायम भएको कि.न.ड१छ र साविक कि.न. १२१ वदर भै कायम भएको कि.न. ८२२, ८२० र ८२५ को जग्गाको स्रेस्तामा पूर्व अवस्थामा मोही र ज.ध. अनारमनी दुर्गास्थान गुठीकै भएको जग्गा धनी स्रेस्ताबाट देखिन्छ ।

मोही कायम हुने सम्बन्धमा हाम्रो कानूनी व्यवस्थामा निम्न विषय रहेको अनुरोध गर्दछु ।

भुमी सम्बन्धी ऐन, २०२१ को दफा २५ बमोजिम यस ऐन प्रारम्भ भएको मिति सम्म मोहीको हैसियतले कमाइ आएको व्यक्ति यस प्रयोजनको लागि भूमी सम्बन्धी नियमहरु २०२१ को अनुसुची १, २ र ३ बमोजिमको पुर्वावस्था रहेमा मोही हुन्छ ।
यस देखि बाहेक सोही दफा २८ बमोजिम जग्गा वाला र मोही बिचमा दोहोरो लिखत कवुलियत गर्नु पर्छ । विवादित जग्गाको मोही सम्बन्धमा उक्त दफा २५ को अवस्था छैन ।

अनारमनी दुर्गा मन्दिरको नाममा रहने गरी देवी गुठीका लागि डोमालाल राजवंशीले दिएको १३ विगाहा जग्गा मध्ये करिब ४ विगाहा जग्गामा अनाधिकृत रुपमा मोही कायम गरी जग्गा तह तह बिक्री भएको छ । देवी गुठीका लागि डोमालाल राजवंशीले दिएको जग्गा मध्ये कि.नं. १२० को क्षेत्रफल १–२–१० कि.न. ८२२ को क्षेत्रफल ०–६–० कि.न.८२५ को ०–१३–० र कि.न. ८१५ को ०–७–० टिकादेवी विमली, कि.न. ८२० को क्षेत्रफल ०–८–० रमेश महर्जनको नाममा र कि.न. ८१२ को क्षेत्रफल ०–७–० सुर्यकुमार विमलीको नाउमा खरिद गरिसके पश्चात मात्र स्थानिय वासीले थाहा पाएका हुन् ।

निजी गुठीको हक दायित्व संस्थानले लिन सक्ने कानूनी व्यवस्था र प्रक्रिया विपरित राजगुठीमा लगी राजगुठी जग्गाको मोही कायम गरी उक्त जग्गाको मोही हक खरिद विक्री गर्ने सम्बन्धमा गुठी संस्थानका तत्कालिन कर्मचारी केशव विमली सहितको सहयोग रहेको छ । २०५४।८।११ मा राजगुठीमा दर्ता भए पश्चात २०५४।११।०४ मा विमली समुहको हक भोग बदर हुँदाको अवधिमा मोही हक हस्तान्तरण गर्ने कार्यमा नेपाल सरकारका सहसचिव, हाल धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी काठमाडौं बस्ने केशव प्रसाद विमली (मोवाइल : ९८४९८३३४८७), उहाँको नातेदार टिकादेवी विमली, काठमाडौं बस्ने रमेश महर्जन (मोवाइल : ९८५११७७४८३) र काठमाडौं बस्ने सूर्य कुमार विमली (मोवाइल : ९८५१०९११८३) समेतले गैर कानूनी तवरले आफुलाई फाइदा पुग्ने र देवी गुठीलाई नोक्सानी पुर्याउने कार्य गरेका छन् ।

विर्तामोड नगरपालिका वडा नम्वर ३ मा रहेको करिव १३ विगाहा जग्गामा नक्कली मोही खडा गर्नका लागि तत्कालिन गुठी संस्थानका कर्मचारी केशव प्रसाद विमलीले गुठीमा श्रेस्ता मिलाउने, रमेश महर्जनले करिव १० लाख रुपैयाँ स्थानीय सिफारिसकर्ता र अनामनी गाउँ विकास समितिले बनाएको देवी गुठी भन्ने समितिका पदाधिकारीलाई उपलब्ध गराउने र कानुनी श्रेस्ता सुर्यकुमार विमली बनाउने काम गरी सरकारी जग्गा हडप्ने काम गरेको विभिन्न तथ्यांकले पुष्टि गरेको छ ।
अहिले सरकारी मुल्यांकनमा नै सो जग्गाको प्रतिकठ्ठा करिव १० लाख रुपैयाँ पर्ने उल्लेख छ । सो जग्गा हाल विर्तामोड क्षेत्रमा २६ करोड रुपैयाँ भन्दा बढीमा विक्ने अवस्था छ । थोरै लगानीबाट करोडौं आर्जन गर्नका लागि तत्कालिन गुठी संस्थानका कर्मचारी हाल धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमली लगायतले अख्तियारको दुरुपयोग गरेका छन् । उनीहरुले जग्गा आफ्नो नाममा बनाउन हाल पनि आर्थिक चलखेल गरिरहेका छन् । र, रमेश महर्जन नाका व्यक्तिले झापामा रहेर राजनीतिक पदमा रहेका विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्ने गरिरहेको अवस्था छ ।

देवी गुठीको जग्गालाई राज गुठीमा लैजान भूमीका खेल्नेमा तत्कालीन गुठीका अध्यक्ष खेम मैनाली र सचिव गणेश ओली रहेका छन् । भु–माफियाको प्रयासबाट नै हाल मोही टिकादेवी विमली, रमेश महर्जन र सुर्य कुमार विमलीको नाउँमा कायम हुन गएको हो । निजी गुठीको जग्गाको दर्ताको हस्तान्तरण हुन सक्ने कानून नरहेको तर गुठी संस्थान ऐन बमोजिम राजगुठीको जग्गाको मोहीयानी हक खरिद विक्री हुन सक्ने हुँदा भु–माफियाहरुले यस्तो कार्य गरेका हुन् ।

२०५१ सालअघि तत्कालिन अनामनी गाउँ विकास समितिले सञ्चालन गरेको अनारमनी दुर्गा गुठी स्थानमा गुठी सञ्चालक समिति बनाउने, गाउँ विकासले चलाएको गुठीलाई समितिले राजगुठीमा लाने काम गुठीको जग्गा हत्याउने योजनाका साथ भएका हुन् । गुठी समितिमा रहेका व्यक्तिहरुले मन्दिर सञ्चालनको जिम्मा पाएकोमा मोही कायम गराउन फर्जी कागजात बनाउने राजगुठीमा लाने लगायतका काम गरेर अख्तियारको दुरुपयोग गरेका छन् । गुठीका तत्कालिन अध्यक्ष्ँ मैनाली र सचिव ओल ीभने विर्तामोड नगरपालिका वडा नम्वर ३ का बासिन्दा हुन् । विमलीहरु र महर्जनको ठेगाना प्राप्त गर्न कठिन भएकाले हाल उहाँहरुले प्रयोग गर्ने गरेका मोवाइल नम्वरहरु उल्लेख गरेको छु ।
अतः सरोकारवालको तर्फबाट हदैसम्मको कार्वाहीका लागि यो निवेदन पेश गरेको छु । श्रीमानको जो आज्ञा ।

निवेदक
गणेशप्रसाद पोखरेल
विर्तामोड–४ झापा

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]