जेष्ठ ५, २०८१ शनिबार

सम्पन्न सहकारीबाट आफ्नै बचत फिर्ता नपाएको गुनासो

बिर्तामोड । सहकारीमा आफ्नै बचत रकम फिर्ता पाउन पनि भौतारिनु परेको छ । बचतकर्ताले दुःखले गरेको बचत आवश्यक परेको समयमा फिर्ता नहुँदा गुनासो पोखेका छन् ।

झापाको बिर्तामोड – १ मा रहेको सम्पन्न बचत तथा ऋण सहकारी संस्थामा बचत गर्ने बचतकर्ता अहिले हरेक दिन कार्यालयसम्म पुगेर खाली हात फर्कनु परेको छ । विभिन्न कारण देखाउँदै सहकारीले बचतकर्तालाई रित्तो फर्काइरहेको धेरैको गुनासो छ ।

केहि समयअघि आफ्नै रकम फिर्ता नपाएकोमा सदस्यहरुले संस्थामा तोडफोड नै गरेका थिए । मंगलवार बचत फिर्ताका लागि पुगेका भुवन कुमारी घिमिरेको परिवार पैसा नलिई फर्केका छन् । उनीहरु आफ्नो बचत रकम ३८ हजार फिर्ता लिन दर्जनौं पटक सहकारी पुग्दै फर्किदै गरेका छन् । पैसा नलिई नफर्किने भनेपछि उनीहरुलाई फागुन महिनाको पहिलो हप्ताको चेक दिएर पठाइएको छ । चेक पाए पनि पैसा पाउने कुरा अझै ढुक्क नभएको उनीहरुको भनाई छ । घिमिरे जस्तै, सहकारीमा दैनिक एक दर्जन बचतकर्ता पैसा फिर्ता लिन जाने गरेका छन् । उनीहरुलाई संस्थाकै समस्या देखाएर फर्काउने गरिएको छ ।

संस्थाका सचिव एवम् व्यवस्थापक विवेक दंगालले संस्थाबाट १ करोड ४६ लाख लगानी भएको बताएका छन् । उनले लगानी गरिएको रकम समयमा उठाउन नसक्दा संस्थालाई समस्या भइरहेको बताए । उनले ८० लाख रुपैयाँ सर्वसाधारणले बचत गरेको स्वीकार गरेका छन् । कोरोना महामारी र कर्जा असुलीमा भइरहेको कठिनाईले संस्थामा समस्यामा परेको दंगालको भनाई छ । उनले विस्तारै समस्या समाधान गर्दै जाने बताए ।

यसअघि बचतकर्ताले समयमा रकम फिर्ता नपाएको भन्दै स्थानीय वडा कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि भएको छलफलले चरणबद्ध रुपमा रकम फिर्ता गर्दै जाने निर्णय भएको थियो । तर, संस्थाले अझै फिर्ताको लागि तदारुपता नदेखाएको बचतकर्ताहरुको गुनासो छ ।
संस्थाका अध्यक्ष सन्तोष सुब्बाले अब संस्थामा ठुलो समस्या नरहेको दावी गरेका छन् । उनले असहज परिस्थितिका कारण समस्या आएकाले समाधानतिर अघि बढेको बताए । चेक आइरहेकै छ, सुब्बाले भने – अधिकतम रकम फिर्ता गर्ने काम भइरहेको छ । अब साह्रै अप्ठ्यारो छैन, उनले थपे ।

प्रकाशित मिति : माघ २८, २०७७ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]