बिर्तामोडको कृषि बजारमा अब क्यूआरबाट कारोवार
बिर्तामोड । झापामा पहिलो पटक एनएमबि बैंकले बिर्तामोडस्थित कृषि बजारमा नगदरहित कारोवार शुरु गरेको छ । बैंकले जिल्लामै पहिलो पटक कृषि बजारमा क्युआर मार्फत कारोवार थालेको जनाएको छ ।
क्यूआरको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङ्गको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए । एनएमबीले कृषि बजारमा सामुहिक रुपमा व्यवसायीलाई क्यूआर वितरण गरेको छ । अभियानको पहिलो दिन २ सय भन्दा धेरै व्यवसायीलाई क्यूआर स्टीकर प्रदान गरिएको बैंकका सहायक सम्पर्क अधिकृत आशिष तिम्सिनाले जानकारी दिए । उनका अनुसार नगद कारोवारलाई प्रविधिसँग जोडिएको हो । हामी सबै व्यवसायीलाई सो अभियानमा जोडदै जानेछौं ।
विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व आयोजित कार्यक्रममा प्रमुख अतिथि विर्तामोड –५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल, विशिष्ट अतिथि एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ ।
क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास रहेको बैंकका प्रदेश १ प्रमुख घिमिरेले बताए । कार्यक्रमको सञ्चालन एरिया म्यानेजर मेघराज तिम्सिनाले गरेका थिए ।