बैशाख ३०, २०८२ मंगलबार

देश, जनता, सुशासन र विकास नै सरकारको मूलमन्त्रः प्रधानमन्त्री ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देश, जनता, सुशासन र विकासलाई मूलमन्त्र मानेर आफू नेतृत्वको सरकारले काम गरिरहेको बताउनुभएको छ ।
नेकपाद्वारा शनिबार विराटनगरमा आयोजित बृहद् कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले सो कुरा बताउनुभयो । हाम्रो लक्ष्य र मूल उद्देश्य देश, जनता, लोकतन्त्र, सुशासन र विकास हो उहाँले भन्नुभयो । देश बनाउने अभियानमा आफू नेतृत्वको सरकार र पार्टी रहेकाले सोही अभियानमा लामबद्ध हुन प्रधानमन्त्री ओलीले सबैमा आव्हान गर्नुभयो ।

विकासको अभियान कसैले रोक्न सक्दैन
“हाम्रो उद्देश्य वाद प्रतिवादमा अल्झिने होइन, काम गर्ने हो । सुशासन र विकासको काम गर्ने हो” प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । देश विकासको अभियानलाई कसैले रोक्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

“प्रचण्डले पहिले वैद्यलाई साथ लिनुभयो, फेरि डाक्टरलाई छान्नुभयो, अहिले झाँक्री लिनुभएको छ, त्यसले उहाँलाई बचाउन सक्दैन” अध्यक्ष अ‍ोलीले थप्नुभयो, “सिद्धिइसकेको प्रचण्डलाई ल्याएर जुरो हालिदिएको थिएँ, सिङ लामा भएपछि उहाँमा अहङ्कार चढ्यो, हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । उहाँको नियति असफलता बाहेक केही होइन ।” अझै पनि तपाई फर्किन चाहनुहुन्छ भने फर्केर आउनुस्, जनताको भीडमा मिसिनुस् उहाँले आग्रह गर्नुभयो । “प्रचण्ड खिइने बाटो, सिद्धिने बाटोमा मिसिनुभयो, भीरबाट लड्नेलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिदैन” उहाँले भन्नुभयो ।

“कसका लागि नेपाल बन्द ? मधेसी, थारु, महिला, मुस्लिम, दलित, सुकुम्बासी, उपेक्षित पीडितका विरुद्धमा ?” जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल बन्दले सरकारको विकासको काम नरोकिने बताउनुभयो । प्रचण्ड–माधव पक्षले माघ २२ गते एक दिने नेपाल बन्दको आयोजना गरेको थियो ।
“नेपाल सिर्जनाको, खोज अनुसन्धानको मुहान हो, त्यसैले यो देशको समृद्धि सम्भव छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिजो झुक्याएर हस्ताक्षर गराएकाहरु हस्ताक्षर फिर्ता गरेर मूल घरमा फर्किदै हुनुहुन्छ, फर्केर पार्टीमा आउनुस् स्वागत छ ।” हामी सबै मिलेर देश समृद्ध बनाउने अभियानमा लागौं, देश बनाउने नेतृत्व गर्नुस् उहाँले आव्हान गर्नुभयो । अरुको ईसारामा नचलिदिनुस्, भ्रममा न पर्नुस् अध्यक्ष ओलीले थप्नुभयो, “नेता शेरबहादुर तामाङ र नेतृ उषाकला राई फर्केर आइसक्नुभयो, तपाईहरु पनि आउनुस् ।”

आफूहरु झगडिया नभएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी झगडिया होइनौं, मुद्दा हाल्न जाँदैनौं, लोकतन्त्रका लागि, देश र जनताको लागि काम गर्नमा व्यस्त छौं ।” सभामुखले त बाटो बिराउनुभयो, अब उपराष्ट्रपतिले पनि पदमा बसेर संविधानविरोधी काम गर्दै हुनुहुन्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “अविश्वासको प्रस्ताव राखिसकेपछि त्यसबाट जोगिन प्रतिनिधिसभा विघटन गर्नुप¥यो ।” संसदमा फोहोरी खेल हुन नदिन, लोकतन्त्र कमजोर हुन नदिन ताजा जनादेशमा जाने विकल्प रोजिएको उहाँले बताउनुभयो ।

अदालतले अन्यथा फैसला गर्दैन
सर्वोच्च अदालतले कुनै कसैको दवावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिदैन प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी चुनावको बाटोतर्फ उन्मुख छौं, मुलुकलाई अस्थिरतामा जान दिइने छैन ।” कुनै भ्रम र अन्योलमा नपरेर चुनावको तयारीमा लाग्न उहाँ सबैमा आव्हान गर्नुभयो । “चुनावको माध्यमबाट होइन, अनुचित बाटोबाट प्रधानमन्त्री हुन खोज्नेहरु चुनावको विरोध गरिरहेका छन्, त्यो सफल हुँदैन” प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।
२०७८ वैशाख १७ गते पहिलो चरणको र २७ गते दोस्रो चरणको निर्वाचन हुने दोहो-याउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “४० वटा जिल्लामा वैशाख १७ गते र ३७ जिल्लामा वैशाख २७ गते चुनाव हुन्छ ।” अबको निर्वाचनमा ‘सूर्य’ चिन्ह आफू नेतृत्वको पार्टीले प्राप्त गर्ने र तोकिएकै मितिमा निर्वाचन हुने प्रष्ट पार्नुभयो । देश, जनता, लोकतन्त्र र सुशासन र विकासलाई मूलमन्त्र मानेर अघि बढ्नुस् उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]