बैशाख ७, २०८१ शुक्रबार

सुनको आपूर्ति बढाउन व्यवसायीको मन्त्रीसमक्ष माग

बिर्तामोड । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले परम्परागत पेसालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छन् ।
आइतबार नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोडमा गरेको स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री विकले आधुनिकीकरण तथा बजारीकरणको अभावमा जातीय तथा समुदायले परम्परादेखि गर्दै आएको पेसा पलायन हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा सुनचाँदी व्यवसायीले सुनको आपूर्ति आवश्यकभन्दा एकदमै न्यून भएकाले व्यवसाय संकटमा पुगेको समस्या राखेका थिए । जवाफमा राज्यमन्त्री विकले आपूर्तिबारे मन्त्रालयमा गहन रुपमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘यसबारे नीतिगत सुधार आवश्यक भएको मैले महसुस गरेकी छु,’ राज्यमन्त्री विकले भनिन्, ‘म आफैँ पनि यो व्यवसायसँग जोडिएको हुँदा समस्य समाधानमा गम्भीर भएर लाग्नेछु ।’

उनले दलित समुदायले गर्दै आएको पेसालाई आधुनिकीकरण गर्न राज्यले बजेट विनियोजन गरेको भए पनि काम अर्कै भइरहेको बताइन् । त्यसका लागि नियमावली सच्याएर काम गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महासंघ १ नम्बर प्रदेश अध्यक्ष रुपदल विश्वकर्माले कोभिडको बाहनामा सुनको आपूर्तिमा कटौती गरिएकोमा दुःख व्यक्त गरे । राज्यले चाँडै नीति बनाएर सुनको आपूर्तिमा बृद्धि गर्नुपर्ने उनको धारण थियो । वैधानिक बाटोबाट सुन कम आउँदा अवैध बाटोबाट सुन आइरहेको विश्वकर्माले जानकारी गराए । प्रत्येक प्रदेशमा तालिम केन्द्रको स्थापना गरेर स्वदेशी कालीगढ उत्पादनमा जोड दिन सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वसांसद विमला विश्वकर्मा, प्रदेश कोषाध्यक्ष राजेश सोनी, व्यवसायीहरु भरत उदास, मुखीलाल बराइलीलगायतले सुन आपूर्तिको समस्याबारे मन्त्री विकलाई अवगत गराएका थिए । विशिष्ट सदस्य रमेश विकले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता संघका कार्यवहाक अध्यक्ष राजकुमार गुप्ताले गरेका थिए ।  

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]