बैशाख १४, २०८१ शुक्रबार

४० वर्षमा आम व्यापारीलाई निराश बनाइएको छ, अब नयाँ अनुहार व्यवसायीको चहाना पनि हो : अर्जुन मैनाली

विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आइतवार हुँदैछ । चुनावी प्रचार प्रसारको समय सकिए पनि उम्मेद्वारहरु शनिवार साँझसम्म भोट माग्न व्यस्त भए । चुनावी मैदानमा लोकतान्त्रिक व्यवसायिक र संयुक्त व्यवसायिक दुई वटा प्यानल उत्रिएका छन् । दुवै प्यानलबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेद्वार दोहोरिएका छन् भने संयुक्त प्यानलका तर्फबाट नयाँ अनुहारहरुको उम्मेद्वारी परेको छ ।

संयुक्त व्यवसायिक प्यानलका तर्फबाट महासचिव पदमा उम्मेद्वारी दिएका अर्जुनकुमार मैनाली पनि बिर्तामोड उद्योग वाणिजय संघका लागि नयाँ अनुहार हुन् । तर, नयाँ उद्योगी व्यवसायी भने होइनन् । उनी नयाँ जोश जाँगर र हौसलासहित चुनावी सहभागी भएका छन् ।
विगत १२ वर्षदेखि उत्पादनमूलक उद्योग संचालन गर्दै आएका बिर्तामोड– १ निवासी व्यवसायी मैनाली एक दर्जन जति उद्योग व्यवसायमा संलग्न छन् । उनी पाथीभरा स्टील इन्डष्ट्रिज,कावेली सिमेन्ट उद्योग, ओमकार रेडिमिक्स कंक्रिट प्रालि,ओम कास्टिङ उद्योग,ओम जलेश्वर उद्योग,बीएण्डबी ट्रेड प्रालि , गरिमा पल्टिपर्पोज,सौर्य हार्डवेयरलगायतका उद्योग व्यवसायमा आवद्व छन् ।

त्यस्तै उनी विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध छन् । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका उनी संस्थापक अध्यक्ष हुन् भने डाइनामिक क्लब झापाको नेतृत्व गर्दै आएका छन् । त्यस्तै उद्योग परिसंघ र झापा वन पैदावर संघको सदस्य रहेका छन् । मतदाता सदस्यको हैसियतले उनी २०६९ सालदेखि बिर्तामोड उद्योग वाणिज्य संघमा आवद्ध छन् । उद्योग वाणिज्य संघको निर्वाचनमा केन्द्रित भएर उनीसँग गरिएको कुराकानीको सारसंक्षेप यस्तो छ ।

१, तपाईले संयुक्त व्यवसायिक प्यानलबाट महासचिव पदमा उम्मेद्वारी दिनु भयो । महासचिव पद नै रोज्नुको कारण के हो ?

–शुरुमा मैले अध्यक्ष पद खोजेको थिएँ । तर, निर्वाचन तयारी गर्दैगर्दा मेरो आवश्यकता महासचिवमा भयो । त्यसैले महासचिव पद््मा उम्मेद्वारी दिए । कुनै पनि संघसंस्थामा आवद्ध हुन खोज्दा आफूसँग निहीत कार्यक्षमतालाई महसुस गर्नु पर्छ । म सँग बिर्तामोड उद्योग वाणिज्य संघलाई नेतृत्व गर्ने क्षमता छ जस्तो लाग्छ । मसँग इच्छा शक्ति छ । कुशलतापूर्वक कार्यसम्पादन गर्न सक्छु भन्ने आत्मविश्वास छ । विगत ४० वर्षदेखि एउटै समूहले एकपक्षीय ढंगले विरासत कायम गरेर मनोमानी गरेका छन् । वाणिज्य संघलाई राजनीतिको अखडा बनाएका छन् । त्यसलाई तोड्न जरुरी छ ।४० वर्षसम्म हुन नसकेका बाँकी कामहरुलाई पुरा गर्नु पनि छ ।

२, वर्तमान नेतृत्वले के–के काम गर्न बाँकी छोडेको जस्तो लाग्छ ?

–पूर्वकै व्यापारिक हब बन्दै गएको बिर्तामोडमा व्यापार व्यवसायको क्षेत्रमा धेरै काम गर्न बाँकी छन् । यत्रो जनघनत्व भएको शहरमा एउटै सार्वजनिक शौचालय छैन । पार्किङको व्यवस्था छैन । सडक वत्ती छैन । नाइट भिजन सीसीटिभीको व्यवस्था छैन । माग बढ्दै गए पनि रात्रिकालीन बजार लगाउन सकेको छैन । वस्तुगत व्यापारीका समस्या धेरै छन् । त्यसतर्फ वाणिज्य संघले ध्यान दिन सकेको छैन ।

३, यी चुनावी प्रतिवद्धता त यहाँको प्यानलले नै उठाएको हो , तपाईको आफ्नो निजी भिजन पनि त होला नि ?
–मैले भारतमा गएर इन्भेस्ट एण्ड रिस्क एनलाइसिस्मा दुई वर्षे कोर्स गरेको छु । १० हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गरेर १५० प्रकृतिका व्यवसायमा १०–१० जनाका दरले उत्प्रेरित गर्न सक्दा १५०० जनालाई रोजगारी दिन सक्छौं । जसबाट आर्थिक वृद्धिसँगै बेरोजगारको समस्या पनि समाधान हुनेछ । दोस्रो र तेस्रो मुलुकबाट आयातलाई न्यूनीकरण गर्न सक्छौं । यस्ता अनेकौ योजना हामीसँग छ ।

४, पुराना टीममा बसेकाहरुसँग अनुभव र दक्षता छ । विल्कुलै नयाँ अनुहारसँग के अपेक्षा गर्न सकिन्छ ?

–हामीले २७ बुँदे चुनावी घोषणापत्र जारी गरेका छौं । त्यसमा विभिन्न मुद्धालाई उठाएका छौ । वर्षौदेखिको एकलौटी विरासतका कारण व्यवसायीमा जुन वितृष्णा र नैराश्यता छ, त्यो हुन नदिनेमा हामी बिश्वास दिलाउन चाहन्छौं । हाम्रो साझा प्रतिवद्धता जुन छ, त्यो पूरा गर्न हामी कटिवद्ध छौं ।

५, वाणिज्य संघको निर्वाचनलाई राजनीतिक रुपमा निरपेक्ष बनाउन सकिदैनथ्यो ?

–राजनीति र व्यवसायमा अन्तर छ । तर ,व्यवसायीहरु राजनीतिभन्दा टाढा रहन सक्दैनन् । हरेक क्षेत्र राजनीतिबाट निर्देशित छ । तर, म हरेक कुरालाई राजनीतिक प्लेटफर्म बनाउनु पर्छ भन्ने मान्दिन ।

६, तपाई त ठूलो उद्योगी हुनुहुन्छ । चुनावमा निकै नै खर्च गर्नु हुन्छ होला ?

–पैसा खर्च गरेरै चुनाव जित्न सकिन्छ भन्ने मान्यता म राख्दिन । धेरै उद्योग व्यवसाय भएकाले टर्नओभर ११ सय करोड जति होला । त्यसमा ४०० करोड ऋण छ । म धेरै खर्च गर्दिन । भोट किन्ने कुरा आउँदैन । यसो २–४ लाख प्रक्रियाहरुमा खर्च हुन्छ जुन स्वाभाविक पनि हो ।

७, अन्त्यमा ,तपाईको जित्ने आधार के हो ? मतदाताले तपाईलाई किन भोट दिनु पर्ने ?

–मसँग व्यवसायीको हकहितका लागि कुशलता पूर्वक काम गर्ने क्षमता छ । अर्को कुरा निर्वाचन अर्थात व्यालेटलाई म युद्धसरह लिन्छु । युद्धमा होमिसकेकाले जितेरै छोड्ने दृढ आत्मबिश्वास छ । अघिल्ला कार्यसमितिले गरेका विभेदपूर्ण कार्यलाई हामी अन्त्य गर्छौं । साना व्यवसायीहरुले भोग्दै आएको समस्या समाधान गर्छौं । सार्वजनिक शौचालयलगायतका भौतिक समस्यालाई निराकरण गर्छौं । ४० वर्षसम्म त्यही एउटै समूहले गरेको काम मतदाताहरुले हेरिसकेका छन् । कुर्सीको राजनीतिबाहेक अरु केही गरेनन् । त्यसैले अब परिवर्तनको खाँचो छ । वाणिज्य संघमा रुपान्तरण चाहने हो भने आममतदाताहरुलाई महासचिव पदको उम्मेद्वार म अर्जुनकुमार मैनालीसहित हाम्रो सिंगो संयुक्त प्यानललाई अत्याधिक मतले विजय गराउन हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]