बैशाख ११, २०८१ मंगलबार

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

काठमाडौँ । अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृति दिनुभएको हो । स्वास्थ्य केन्द्र नरहेका हरेक स्थानीय तहका वडामा स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारी योजनाअनुसार अहिले दुई हजार ६२६ वडामा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको छ ।

अर्थ मन्त्रालयले यस्ता स्वास्थ्य केन्द्र निर्माणका लागि करिब ५८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरिसकेको छ । अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य केन्द्र निर्माणका लागि चार अर्ब २० करोड रुपियाँ विनियोजन गरिएकोमा यसअघि दुई अर्ब ६९ करोड रुपियाँ निकासा भइसकेको जानकारी दिनुभयो ।

स्थानीय तहमा स्वास्थ्य केन्द्र निर्माण गर्न सरकारले २०७५ सालमै कार्यविधि जारी गरी सोहीअनुसार निर्माणको काम अघि बढाइसकेको छ । नेपालको संविधान, २०७२ मा प्रत्येक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था उल्लेख भएअनुसार त्यसको कार्यान्वयनका लागि सरकारले कार्यविधि जारी गरेर स्वास्थ्य केन्द्र निर्माणको काम सुरु गरेको हो । गत मङ्सिर १५ गते सरकारले एकैपटक ३०८ वटा स्वास्थ्य केन्द्र निर्माणको शिलान्यास गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]