बैशाख १४, २०८१ शुक्रबार

सुखानीमा एउटै पार्टीको बेग्लाबेग्लै कार्यक्रम

विर्तामोड । झापा विद्रोहका शहिदको सम्झनामा वर्षेनी सुखानीमा श्रद्धाञ्जलि सभा हुँदै आएको छ । हरेक फागुन २१ गते सुखानी सदाहत स्थलमा तत्कालिन नेकपा एमालेले र अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शहिदको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । आज फागुन २१ मा सदाहत स्थलमा दुई कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले विहान ८ बजे श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष पार्टीले सोहि ठाउँमा श्रद्धाञ्जलि सभा लगायतका कार्यक्रम आयोजना गर्दै आएको थियो । श्रद्धाञ्जलि अर्पण गर्न स्थानीय, जिल्लादेखि केन्द्रस्तरका नेता सुखानी सदाहत स्थल पुग्ने पार्टीका झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै कार्यक्रममा सहभागी हुने गर्थे ।

विहान ८ बजेको श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम सम्पन्न गरे पछि सुखानी शहिद पार्क सालवाडीमा १२ बजेदेखि श्रद्धाञ्जलि सभाको आयोजना गरिएको प्रचार प्रसार समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । सो कार्यक्रममा प्रदेश १ का प्रमुख सोमनाथ प्यासी र बागमती प्रदेशका प्रमुख विष्णु प्रसाई सहित पार्टीका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तयारी भएको पोर्तेलले बताए ।

सोहि श्रद्धाञ्जलिसभा झापा विद्रोहको बारेमा लेखिएको पुस्तक विमोचन गरिने भएको छ । डा. नारद भारद्वज र सोमनाथ दाहालद्वारा लेखिएको ‘झापा विद्रोहका एक कमाण्डर’ पुस्तकको विमोचन गरिने शिवप्रसाद शिवाकोटी युवा फाउडेशनले जनाएको छ । शिवप्रसाद शिवाकोटीको स्मृतिमा लेखिएको पुस्तकमा समकालिन योद्धाहरुको बारेमा लेखिएको छ । ४८ वर्षअघिको आन्दोलनका बारेमा लेखिएको पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण दस्तावेज हुने बताइएको छ ।

यस्तै, अर्को प्रचण्ड–नेपाल समूहले अलग्गै सदाहत स्थलमै अर्को कार्यक्रमको आयोजना गरेको छ । ११ बजेदेखि प्रचण्ड–नेपाल समूहले श्रद्धाञ्जलि सभा आयोजना गरेको बताइएको छ । एउटै पार्टी नेकपाको पहिलो पटक वेग्लावेग्लै कार्यक्रम आयोजना हुदैछन् ।

विहानको श्रद्धाञ्जलिसभा र शहिद पार्कको कार्यक्रममा सहभागी नभई प्रचण्ड–माधव समूहले वेग्लै कार्यक्रमको आयोजना गरेको हो ।
सुखानीमा तत्कालीन पञ्चायती शासकहरूले रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको हत्या गरेका थिए । हरेक वर्ष फागुन २१ मा शहिदको सम्झनामा सुखानीमा वृहत् कार्यक्रम गर्ने गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]