मेनपावरले डुवाउलान् है
सम्पादकीय
वैदेशिक रोजगारीमा पठाउने मेनपावरले डुवाउलान् है भन्दा आश्चर्य त पक्कै हुँदैन । धेरैको परिवार मेनपावरकै कारण विल्लिवाठ भएको छ । धेरैका परिवारमा खुशी पनि ल्याएको छ । फेरि डुब्न सकिन्छ बेलैमा सचेत बन्नुपर्छ भन्ने मानसिकता सबैले जिवित राख्नुपर्छ । आइतवार झापाको विर्तामोडमा वैदेशिक रोजगार विभागले एउटा मेनपावरमा शिल गरेको छ । जहाँ विभाग पुग्दा अवैध रुपमा अन्तरवार्ता लिने काम भइरहेको थियो । मेनपावरले ठगि गर्न नपाउँदै विभागले छापा हान्यो ।
विर्तामोडको विनायक होटल पछाडि मेनपावर बस्ती छ । जहाँका मेनपावरबाट विदेश गएकाहरु कि बनिन्छन्, कि त नमज्जाले ठगिन्छन् । त्यसैरी नै वैदेशिक रोजगारमा जानका लागि तयार भएर मेमोसा ओभरसिजमा युवाहरुले अन्तरवार्ता दिइरहेका थिए । तर, मेमोसाले अन्तरवार्ता लिएको डिमाण्ड मेमोसाको थिएन । मेमोसाले अर्कैको डिमाण्डमा अन्तरवार्ता लिइरहेको थियो । जसलाई वैदेशिक रोजगार विभागले अवैध कार्य भनेको छ । विभागले आइतवार नै दिउँसो मेमोसाको कार्यालयमा शिल गरिसकेको छ ।
वैदेशिक रोगजारमा जान इच्छुकले अब प्रस्थान हुनुपूर्व सबै जानकारी लिन सक्नेछन् । वैदेशिक रोजगार विभागले नै आवश्यक जानकारीहरु आफ्नै वेभ साइटमा राखिदिएको छ । कम्तिमा रोजगारमा जान चहानेहरुले डिमाण्डको पूर्व स्वीकृति लिएको छ छैन जान्न आवश्यक छ । सार्वजनिक रुपमा विज्ञापन गरेको हो वा हैन ? बुझ्न जरुरी छ । मेनपावरसम्म आधिकारिक व्यक्तिले पुराए कि एजेण्टले पुराए जानकारी लिन जरुरी छ । आधारभूत जानकारी लिएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ । नत्र, मेमोसाले जस्तै, अर्काको डिमाण्डमा परिएला । अर्कैको डिमाण्डमा अन्तरवार्ता लिनु आफैमा अवैध छ । त्यसपछि उत्पन्न समस्याहरुको जिम्मेवार पनि सो मेनपावर हुनेछैन । यसैले वैदेशिक रोजगारीमा जानेहरुले सचेतना अपनाउनुपर्छ ।