पक्राउ मात्रै गर्ने हो ?
सम्पादकीय
झापा जिल्ला प्रहरी कार्यालयले हरेक दिन लागु औषधसहित युवाहरुलाई पक्राउ गरेको सूचना प्रवाह गरिरहेको हुन्छ । व्यक्ति संख्या र लागुऔषधको परिमाण प्रहरी कार्यालयले सार्वजनिक गर्छ । संख्यात्मक हेर्ने हो भने सबैभन्दा धेरै प्रहरीको काम नै अहिले लागुऔषध कारोवारीलाई पक्राउ गर्नु हो । प्रहरीले लागु औषध बरामद र कारोवारीलाई पक्राउ गर्नु अहिलेको मुख्य काम जस्तो देखिएको छ । खासमा प्रहरीको काम यति मात्र होइन । तर, झापाको हकमा प्रतिनिद मौलाएको यो कारोवारले प्रहरी हैरान छ ।
काठमाडौंपछि सबैभन्दा धेरै प्रयोग र कारोवार गरिने जिल्ला झापा भएकाले प्रहरी यहि मुद्दा दौडिरहेको छ । लागुऔषध नियन्त्रणका लागि अब मान्छे पक्राउ गरेर मात्र हुदैन । भारतसँग जोडिएको झापामा सहजै लागुऔषध भित्राएको पाइन्छ । प्रहरीले नाकामै रोक्न सकेको छैन । प्रवेश भइसके पछि मात्रै नियन्त्रणमा लिएको पाइन्छ । अब, प्रहरीले पक्राउ मात्र गर्ने हो त ? होइन, स्थानीय तहसहित सामाजिक अगुवा संघ संस्थाको सहकार्यमा विशेष अभियान सञ्चालन गर्न जरुरी छ । अभियानले आम नागरिकलाई सचेत गराउन सकोस् ।
भारतीय बजारबाट पर्याप्त लागुऔषध भित्र्याउन सकिने अवस्था छ । खुल्ला सीमाको फाइदा हरेक कारोवारीले उठाइरहेका छन् । अब, समाजमा जरा गाडिरहेको लागु औषधको प्रयोग र यसको कारोवार निमिट्यान्न पार्न भारतीय सुरक्षाकर्मी र त्यहाँका सामाजिक संघ संस्थाको सहयोग लिन जरुरी छ । दुवै देशका सामाजिक संघ संस्थाले सामुहिक पहल गर्न सकेमा यो धन्दा लगभग बन्द गर्न सकिने थियो । कसैले पनि अगुवाई नगर्ने हो भने आफ्ना छोराछोरी नशामा डुविसकेका हुनेछन् । बेलैमा सचेत बनौं ।