बैशाख ८, २०८१ शनिबार

अनेरास्ववियुको आन्दोलन र मुल प्रवाह

संजिव गिरी

अनेरास्ववियु अर्थात अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन एक श्रमजीवि विद्यार्थी वर्गको सङ्गठन हो । हुने खाने र हुँदा खाने दुई वर्गका बीच मुलत हुँदा खाने विद्यार्थी अर्थात आर्थिक, सामाजिक रुपमा पिछडिएका विद्यार्थीको प्रतिनिधित्व गर्ने आस्थाको मन्दिर अनेरास्ववियु हो । वैज्ञानिक तथ्यमा आधारित प्रगतिशिल आचरण सिमित झुण्ड समुदायलाई प्रतिनिधी नगरी आम जनताको पक्षीय पहरेदार, जनवादी तथा राष्ट्र, राष्ट्रियता, स्वधिन्ताको प्रतिमूर्ती संगठन अनेरास्ववियुको मूख्य नारा ‘देशभरिका सम्पूर्ण प्रगतिशिल, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔं’ रहेको छ ।

अनेरास्ववियुको स्थापना वि.सं. २०२२ जेष्ठ १ गते शान्ति निकुञ्ज स्कुलमा कक्षा ९ मा अध्ययनरत सुजन खरेलको संयोजकमा भएको थियो । अहिले २०७७ सालसम्म आउदा अनेरास्ववियुले ५५ बसन्त पार गरेको छ । ५५ वर्षको यस बुढो संगठनका उर्जाशिल, बौद्धिक तथा युवाहरुले संगठनको उद्देश्य कति प्राप्त गरे, विद्यार्थी आन्दोलनको समस्या, औचित्य र अबको बाटो विषयमा केन्द्रित भई ‘जस्तो दृष्टि, उस्तै सृष्टि’ भनेझैं आफ्नै दृष्टि यो लेखमा प्रकाश पार्दछु ।

सबै विद्यार्थी संङ्गठनको आफ्नो आफ्नै उद्देश्य र कार्यक्रम हुन्छ । त्यस्तै अनेरास्ववियुको सैद्धान्तिक चरित्र अनुसारको उद्देश्य र कार्यक्रमहरु छन् । मुलत ज्ञानमालामा अनेरास्ववियुको ३२ वटा बुँदामा उद्देश्य र कार्यक्रम समावेश गरिएको छ । ती समावेश गरिएको उद्देश्य र कार्यक्रम लागु हुने हो भने शिक्षा प्रणालीमा मात्र नभएर अन्य क्षेत्रमा पनि आमूल परिवर्तन हुने थियो । तर, विडम्बना कुनै पनि विद्यार्थी सङ्गठनले उद्देश्य पुरा गर्न नसकि अहिलेको परिस्थितिमा एजेण्डा बिहीन, दिशा बिहीन अल्मलिएको र केबल ठूलो स्वर र गुटको नाराबाजीमा मात्र विद्यार्थी प्रयोग भएको महशुस हुन्छ । अनेरास्ववियु नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विद्यार्थी सङ्गठन हो । जुन पार्टीको लक्ष्य नेपालमा लोकतान्त्रिक पद्धतिबाट समाजवाद हुदैँ साम्यवादी व्यवस्था स्थापना गर्नु हो । अनेरास्ववियुले समाजवाद स्थापना वा समाजवादको सपना पुरा गर्न मूलत ‘५’ नं. बुँदामा उल्लेखित उद्देश्यमा सङघर्ष गर्नुपथ्र्यो । अनेरास्ववियुमा धेरै विद्यार्थीको लगाव यहि ‘५’ नं. बुँदाले गर्दा भएको हो । जुन बुँदामा समाजवादको जगको कल्पना गरिएको छ । त्यो जग भनेको सबै नेपाली विद्यार्थीलाई समान शिक्षाको पहुँच हो ।

जस्को कल्पना धनीका छोराछोरी र गरिबको छोराछोरी एउटै छानामुनी पढ्ने वातावरण निर्माण गर्नु हो । शिक्षा मुनाफा कमाउने व्यापार होइन, राज्यले नागरिकका लागि गर्नुपर्ने अनिवार्य दायित्व हो । शिक्षा निःशुल्क हुनुपर्छ भन्ने जोड ‘५’ नं. बुँदाको छ । अहिलेको परिस्थितिमा शिक्षा पनि गाँस, बाँस, कपास जस्तै आधारभुत वस्तु भएको वेला सबै विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्नुको साटो, सरकारी विद्यालयलाई गुणस्तरीय बनाउदै लानु पर्नेमा सरकारको सामाजिक दायित्व शिक्षामा व्यापारिकरण मौलाउदै फस्टाउदै गएको छ ।

सरकारी विद्यालयको हालत जीर्ण अवस्थाको र निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न नसकेको अवस्थामा निजी विद्यालयले गुणस्तरीय शिक्षाको नाममा मनलाग्दी शुल्क लिने व्यवस्था कायम नै छ । आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दिन र वर्ग कायम गर्न अविभावक चर्को शुल्क खेप्न विवस छन् । समग्र यो सरकारी र निजी विद्यालयले दुई धारका जनशक्ति उत्पादन गरेको आभाश हुन्छ । जस्तै उदाहरणका लागि सरकारी स्कुल कलेजबाट उतिर्ण गरेका विद्यार्थीलाई भाग (कोटा) छुट्टाएको हुन्छ तर निजी विद्यालय र कलेजबाट आएको विद्यार्थीलाई यो सुविधा छैन । यो व्यवस्थाले ति निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले हिनता बोध, दुखमनाउ गरेको प्रशस्त भेटिन्छ । आखिर सरकार त अभिभावक हो । समान व्यवहार होस भन्ने चहाना स्वभाविक नै हो । विद्यार्थीको आस्था र विश्वासको धरहोर अनेरास्ववियुले यो मुद्धा मजबुद रुपमा उठाओस् र देशव्यापी लहर ल्याओस । निःशुल्क शिक्षाको व्यवस्था लागु गर्न दवाव सृजना गरोस भन्ने आम विद्यार्थीको चहाना हो । तर यस्तो परिस्थितिको कल्पना स्वरकल्पना हो जस्तो लाग्छ । यसको जड समस्या नोकरशाही पुँजीपति वर्ग नै हो । जस्ले शिक्षालाई व्यापारीकरण गरेका छन् । ती व्यक्तिहरु हसिया हतौडा झण्डाको मुनि शिक्षालाई निजीकरणको नाममा व्यवसायिकरण गरि पार्टीलाई जकडेर राखेका छन् । जबसम्म पार्टीले वर्ग पहिचान गर्दैन ती व्यक्तिबाट चन्दा र सहयोग लिने काम बन्द गर्दैन तबसम्म अनेरास्ववियु यस मुद्धामा निश्तेज रहिरहने छ ।

अनेरास्ववियुले अहिलेसम्म विद्यार्थी हक–हितको पक्षमा केही गरेको छैन त ? यो प्रश्न उठ्न सक्छ तर यसो पनि होइन धेरै कामहरु भएका छन् । जस्तै राष्ट्र राष्ट्रिय स्वभिमानको कुरामा जहिले पनि अनेरास्ववियु अग्रपङतिमा उभिकएको छ । त्यस्तै शुल्क वृद्धिमा दबाब दिने , गुणस्तरीय शिक्षाको पहुँच आम विधार्थीलाई , क्याम्पसमा सहजीकरणको विषय होस या शैक्षिक प्रमाण पत्र राखेर सस्तो व्याज दरमा ऋण पाउने सम्बन्धमा पहल गर्ने अनेरास्ववियु नै हो । ४५ प्रतिशत सार्वजनिक यात्रामा विद्यार्थीलाई छुट पनि अनेरास्ववियुको आन्दोलनबाट प्राप्त उपलब्धी हो । समय सापेक्ष विकृति विसङ्गगतिमा सरकारको ध्यानाकर्षण गर्ने लगायत अन्य महत्वपूर्ण कार्यमा अनेरास्ववियुले योगदान गर्दै आएको छ । तथापि, अनेरास्ववियुको लक्ष्य पुरा भएको छैन । धेरै गर्न बाँकी छ अब अनेरास्ववियुको रणनीति, कार्यनीति र कार्यदिशा रचनात्मक, समय सुहाउँदो र प्रभावकारी हुनुपर्छ ।

पहिलो त नयाँ सोच, अध्ययन र बुझेर राजनीतिमा विद्यार्थी कमै आउछन् । तसर्थ निरन्तरको बैचारिक, बहसद्वारा हामी सक्षम बन्दै जानु पर्छ । अनेरास्ववियुले राष्ट्रिय नेता मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि प्रतिनिधि र प्रतिष्पर्धा गर्न सक्ने नेता उत्पादन गर्ने केन्द्र बन्नु पर्छ । हरेक विद्यालय, क्याम्पसमा अनेरास्ववियुले रचनात्मक कार्यक्रमबाट विद्यार्थीको मनोबल बढाउने र क्षमता वृद्धिमा जोड दिनुपर्छ । राज्यलाई कल–कारखाना वृद्धिमा जोड दिदै स्वरोजगार बनाउने र स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्नुपर्छ । प्राविधिक शिक्षालाई निरन्तरता दिदै, मौलिकतालाई आत्मसाथ गर्दै, व्यवहारिक शिक्षा लागु गर्न अनेरास्ववियुले अबको दिनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्छ ।

लेखक : अनेरास्ववियु मेची क्याम्पसका उपाध्यक्ष एवम् झापा जिल्ला कमिटी सदस्य हुन् ।

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]