चैत्र १६, २०८० शुक्रबार

सरकारले खुवालङ फुटाउने निर्णय गरेको छैन‚ गलत प्रचार गरियो : मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’  किरात समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन्। उदयपुर, धनकुटा र भोजपुरको संगमस्थल सहिदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मंगलबार भ्रमण गर्दै उनले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने प्रतिवद्धता व्यक्त गरे।

जलयात्राका सम्बन्धमा विज्ञहरुद्वारा विस्तृत अध्ययन गरी खुवालुङ दायाबाया पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै उनले यस क्षेत्रका बृहत् विकास योजनाका लागि संघीय सरकारले सहयोग गर्ने बताए। मुख्यमन्त्री राईले संघीय र प्रदेश सरकारले खुवालङ (ढुंगा) फुटाउने सम्बन्धमा कुनै निर्णय नगरेको प्रष्ट पार्दै यस सम्बन्धमा भएका गलत प्रचार र भ्रममा नपर्न नागरिकसँग आग्रह गरे।

उनले समृद्धिको आधार कोशी नदी भएको चर्चा गर्दै धार्मिक, संस्कृतिक र यस क्षेत्रका सम्पदाको उत्थान गरी जलयात्रालाई किमाथाङ्का पुर्‍याउने सम्बन्धमा आवश्यक अध्ययनलाई प्राथमिकता दिइएको जानकारी दिए।

किरात यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवस राईले किरातका पुर्खाले  खुवालुङको पूजा गरेर नै सुनसरी, उदयपर, भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए।

डोर वे इन्टरनेसलका नेपाल अध्यक्ष एवं जलयातायातविज्ञ विपुलराज पाण्डेले खुवालुङ दायाबाया पाँच मिटर छाडेर जलयात्रा सञ्चालन गर्ने जानकारी दिँदै यसलाई फुटाउने सम्बन्धमा कहीँकतै कुरा नआएको बताए। उनले २६४ किलोमिटर दोलालघाटसम्मको जलयातायात सञ्चालनका लागि थप अध्ययन गरिने बताए।

जलयातायात सञ्चालक राजेन्द्र कार्की खुवालुङबाट कुनै समस्या नआएको बताए। सप्तकोशीमा जलयातायात सञ्चालन भइरहेको अवस्थामा अरुण, तमोर र दूधकोशीको सङ्गमस्थलमा खुवालुङ (किरात भाषामा खुवा भनेको पानी र लुङ भनेको ढुंगा) अर्थात् पानीमाथिको ढुंगाको छेउ भएर मोटरबोट सञ्चालन भइरहेको अवस्थामा  केही दिन अगाडि संघीय र प्रदेश सरकारले उक्त ढुंगा फुटाउँदै छ भन्ने गरी समुदायमा भ्रम सिर्जना गरिएको थियो।

प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]