बैशाख १४, २०८१ शुक्रबार

दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउँछौँ : अध्यक्ष ज्ञवाली

खोटाङ । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने बताएका छन् । विसं २०७८ को दशैँ अगाडि सबै भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराउन देशका ७७ वटै जिल्लामा आयोगको समिति निर्माण तथा कार्यालयसमेत स्थापना गरेर काम थालनी गरेको उनले बताए ।

देशका ७५३ वटा स्थानीय तहमध्ये ५०४ वटामा कार्यसम्पादन सम्झौतासमेत सम्पन्न गरिएको अध्यक्ष ज्ञवालीले बताए । “भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारले तीनवटै सरकारलाई अधिकार सम्पन्न बनाएको छ”, उनले भने, “भूमिहीन व्यक्तिको पहिचान, सत्यापन र प्रमाणीकरणका लागि आयोग स्थानीय सरकारसँग सम्झौता गरेर अगाडि बढेको छ ।”

यसअघि सङ्कलन गरिएका तथ्याङ्कले काम नदिएकाले यस वर्ष आयोगले तथ्याङ्क सङ्कलनलाई व्यवस्थित गर्ने काम गरेको अध्यक्ष ज्ञवालीले बताए । “भूमिहीनलाई जग्गा उपलब्ध गराउन हालसम्म १३ लाख बढीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न गरिसकिएको छ”, उनले भने, “हामीले १५ लाख भूमिहीन छ भन्ने अनुमान गरेका थियौँ तर, २१-२२ लाख आउने सम्भावना देखिएको छ ।”

जिल्लामा गठित समितिको गतिविधि अनुगमन गर्न खोटाङ आउनुभएका आयोगका अध्यक्ष ज्ञवालीले तराई र भित्री मधेशमा धेरै समस्या रहेको बताए । “पहाडी भूभागमा बसोबास गर्ने आदिवासी जनजातिमा पनि समस्या त देखिन्छ”, उनले भने, “मुख्य समस्या भनेको आफ्नो थातथलो छोड्न नमान्नु देखिएको छ ।”

कुनै व्यक्तिले पहुँचका भरमा फाराम भरेर जग्गा लिएको खण्डमा आयोगले नेपाल सरकारका नाममा फिर्ता गराउने उनले बताए । आयोगले वितरण गर्ने लालपूर्जा श्रीमान्र श्रीमतीको नाममा संयुक्त हुने पनि अध्यक्ष ज्ञवालीले बताए ।

जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष हरिकुमार पोखरेलले जिल्लाको समस्याका बारेमा अध्यक्ष ज्ञवालीलाई जानकारी गराएका थिए । जिल्ला अध्यक्ष पोखरेलले जिल्लामा आयोगको गतिविधि सञ्चालन गर्न यातायातका सवारीसाधनको अभाव रहेको र आयोगले उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

आयोगसमक्ष अध्यक्ष पोखरेलले राख्नुभएको मागलाई उत्तर दिँदै केन्द्रीय अध्यक्ष ज्ञवालीले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । “आयोगको साध्य भनेको भूमिहीनलाई जग्गा उपलब्ध गराउनु हो”, उनले भने, “साधन भनेको प्राविधिक विषय हो । स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नुस् ।”

दश स्थानीय तह रहेको जिल्लामा करीब ६०० भूमिहीन रहेको अनुमान गरिएको जिल्ला समिति खोटाङका विज्ञ सदस्य खेमराज देउसालीले बताए । जिल्लाका समस्या समाधानका लागि सबै स्थानीय तहसँग कार्यसम्पादन सम्झौता गर्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]